कानुनविपरीत टेन्डरबिनै २ अर्बको बल्ब किन्दै प्राधिकरण

काठमाडौं । विद्युत् प्राधिकरणले कानुनविपरीत बिनाप्रतिस्पर्धा भारतीय कम्पनीबाट २ करोड थान एलईडी बल्ब खरिद गर्ने भएको छ ।

ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्राधिकरणलाई सार्वजनिक खरिद ऐनको प्रक्रिया नअपनाई भारतीय सरकारी कम्पनीसित सोझै २ अर्ब ८ करोड मूल्यमा बल्ब खरिद गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

कुनै पनि सरकारी वा अर्धसरकारी निकायले सार्वजनिक खरिद ऐनअनुसार टेन्डर आहवान गरी खुला प्रतिस्पर्धाबाट सामान खरिद गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

मन्त्रिपरिषद् बैठकमा मुख्यसचिव सोमलाल सुवेदीले बिनाप्रतिस्पर्धा ठूलो परिमाणमा बल्ब खरिद गर्ने प्रस्ताव कानुनविपरीत हुने भन्दै निर्णय नगर्न प्रधानमन्त्री र मन्त्रीहरूलाई सुझाव दिएका थिए ।

मुख्यसचिवले सुझाव दिँदै भने–‘मन्त्रिपरिषद्बाट निर्णय गराएर बिनाप्रतिस्पर्धा यति ठूलो खरिद गर्ने प्रवृत्तिले गलत नजिर बस्छ, कानुनी प्रक्रियाअनुसार खरिद गर्न प्राधिकरणलाई निर्देशन दिनु उपयुक्त हुन्छ ।’

स्रोतका अनुसार ऊर्जामन्त्री जनार्दन शर्माले भारतको ऊर्जा मन्त्रालयसित उसको मातहतको कम्पनीबाट प्राधिकरणले चिम खरिद गर्ने विषयमा वार्ता भई सहमति भइसकेकाले निर्णय गर्नुपर्ने अडान लिएपछि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको हो ।

विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले गभर्नमेन्ट टु गभर्नमेन्ट (जीटुजी) प्रणालीमार्फत भारतीय कम्पनीसित चिम खरिद गर्न लागिएको बताए । अधिकारीले २ अर्ब ८ करोड रुपैयाँमा २ करोड थान बल्ब खरिद गर्ने जानकारी दिए ।

मुख्यसचिवको संयोजकत्वमा रहेको समिति या सम्बन्धित सार्वजनिक निकायको कार्यकारिणीको सिफारिसमा मन्त्रिपरिषद्ले बिना प्रतिस्पर्धा खरिद गर्न सहमति दिन सक्ने व्यवस्था ऐनमा छ ।

प्राधिकरणले भारतीय ऊर्जा मन्त्रालय मातहतको ‘इनर्जी इफिसियन्सी सर्भिसेज लिमिटेड’ सित २ करोड वटा चिम खरिद गर्नेछ ।

प्राधिकरणका प्रवक्ता अधिकारीले भारतीय कम्पनीबाट ७ वाट क्षमताका २ करोड चिम खरिद गरिने जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषदको निर्णय प्राधिकरणमा आएपछि भारतीय कम्पनीलाई २ करोड बल्बका लागि अर्डर दिइनेछ ।

त्यसको तीन महिनामा भारतीय कम्पनीबाट विद्युत् प्राधिकरणको हेटौंडा अफिसमा चिम आइपुग्न थाल्नेछ । प्राधिकरणले भारतीय कम्पनीबाट भा.रु. ६५ (नेपाली १ सय ४ रुपैयाँ) मा बल्ब खरिद गर्नेछ ।

त्यसमा सरकारले लिने कर र प्राधिकरणले लिने सेवा शुल्क जोडेर एउटा चिमको मूल्य १ सय २५ देखि १ सय ३० रुपैयाँसम्म पर्ने जानकारी अधिकारीले दिए ।

७ वाट क्षमताका मात्र बल्ब घरायसी प्रयोजनका लागि व्यावहारिक नहुने जानकारहरू बताउँछन् ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।