फागुनमा मेयर रनिङ शिल्ड प्रतियोगिता खजुरामा गर्ने तयारी

२ सय ५१ सदस्यीय मूल समिति गठन

फाईल तस्बिरः नेपाली दर्शकहरु

बाँके । बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता हुने भएको छ ।

आउँदो फागुन ३ गतेदेखि ६ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले सोमवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

खजुरा गाउँपालिका शिक्षा समितिको आयोजना र जनसेवा माविको व्यवस्थापनमा हुने प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक, संस्थागत र मदरसा गरी ६७ विद्यालयका १ हजार ५ सय विद्यार्थीको सहभागिता रहने बताइएको छ ।

कक्षा ९–१२ मावि तह, कक्षा ६–८ निमावि र १–५ आधारभूत तीनै तहलाई प्रतियोगितामा सहभागिता गराइए पनि आधारभूत तहका विद्यार्थीलाई बालमैत्री खेलहरु खेलाइने आयोजकले बताएको छ ।

प्रावि, निमावि र मावि तहका विद्यार्थीबीच भने २ वटा रनिङ शिल्डकालागि छुट्टा छुट्टै प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मावितर्फ प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २० हजार, दोश्रो हुनेलाई १० हजार र तृतीयलाई ७ हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ ।

त्यस्तै कक्षा १ देखि ८ सम्मको विद्यालयका लागि क्रमश १० हजार, ७ हजार र ५ हजार पुरस्कार राशी राखिएको बताइएको छ ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले तयारी र प्रतियोगिताबारेमा जानकारी दिँदै खजुरा गाउँपालिकाको शैक्षिक गुणस्तर उकास्न खेलकूद प्रतियोगिता महत्वपूर्ण सावित हुने बताए ।

उनले प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्नका लागि ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिए अनुरुप खजुरा गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको जानकारी दिए ।

प्रतियोगिता संचालनका लागि खजुरा गाउँपालिकाले मेयर रनिङ शिल्ड खेलकूद निर्देशिका २०७५ पारित गरी यो प्रतियोगितालाई हरेक वर्ष खजुरा गाउँपालिका मातहत संचालन गर्ने र तत्कालै शैक्षिक महोत्सवको पनि आयोजना गर्ने गरी निर्देशिका पारित भइ सकेको समेत बताए ।

प्रतियोगितालाई भब्य, सभ्य र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिको अध्यक्षतामा २ सय ५१ सदस्यीय मूल समिति र विभिन्न उपसमिति गठन गरेर तयारी अगाडि बढाइएको यम नारायण महतोले जानकारी दिए ।

कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, ऋषिराम सापकोटा, फिल्ड मार्शल राजेन्द्रप्रसाद सापकोटा, आयोजक विद्यालयकी प्रअ शोभा रेग्मी लगायतको सहभागिता रहेको थियो ।