पत्याउनुहुन्छ ! हङ्गेरीमा चार सन्तान जन्माए, ३६ हजार अमेरिकी डलर ऋण मिनाहा: गाडी खरिदमा सहयोग

जन्म दर बढाउँन हङ्गेरी सरकारले ल्यायो यस्ता आकर्षक योजनाहरु

हङ्गेरी । नेपाल लगायतका कतिपय मुलुकको लागि उच्च जनसंख्या बृद्धि समस्या बन्दै गएको अवस्थामा विश्वका कतिपय मुलुकमा भने न्युन जनसख्या समस्याको विषय बनेको सुन्दा हामीलाई अचम्म लाग्न सक्छ ।

तर वास्तविकता हो, विश्वका कतिपय मुलुकमा जनसंख्या कम भएका कारण बढाउनका लागि सरकारले नै विभिन्न खालका कार्यक्रमहरु बनाउने गरेको छ ।

हाम्रो देशमा छोरा वा छोरी एक मात्र सन्तान, भन्ने नारालाई प्रचार गरिएको छ तर कतिपय देशमा धेरै सन्तान जन्माउने आमालाई सम्मान गरिने गरिएको पनि देखिन्छ । यो सबै त्यहाँको आर्थिक तथा मानविय विकासको प्रकृयासँग जोडिने विषय हुन ।

त्यस्तै हङ्गेरीका प्रधानमन्त्रीले चार वा सोभन्दा बढी बच्चा पाउने आमाहरूलाई आजीवन आयकर मिनाहा गरिने घोषणा गरेका छन्। बच्चा जन्माउने दर बढाउने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री भिक्टोर ओर्बानले त्यस्तो बताएका हुन्।

आप्रवासनमाथि निर्भर नभइ हङ्गेरीको भविष्य रक्षाका निम्ति त्यो एउटा उपाय भएको प्रधानमन्त्रीले उल्लेख गरे। उनको दक्षिणपन्थी राष्ट्रवादी सरकार खासगरी मुस्लिम आप्रवासीहरूको विरोध गर्दै आएको छ।

हङ्गेरीको जनसङ्ख्या प्रतिवर्ष ३२ हजारले घटिरहेको छ र युरोपेली मुलुकहरूमा बच्चा जन्मिने औसत सङ्ख्याभन्दा त्यहाँ कम छ। सरकारी योजना अनुसार युवा दम्पतीहरूलाई ३६ हजार अमेरिकी डलर निर्ब्याजी ऋण उपलब्ध गराइनेछ र उनीहरूले तीनवटा बच्चा पाएपछि उक्त रकम मिनाहा गरिनेछ।

ओर्बानले भने,पश्चिमका लागि युरोपमा बच्चा जन्मिने दर कम भएपछि त्यसको जवाफ आप्रवास रहिआएको छ। एउटा बच्चा घट्दा त्यसको बदलामा एकजना आप्रवासी आउँदा हुनेरहेछ।

तर हङ्गेरीका जनता फरक ढङ्गले सोच्छन्। हामीलाई अरूको सङ्ख्या चाहिएको होइन। हामीलाई हङ्गेरीकै बच्चा चाहिएको हो।

प्रधानमन्त्री ओर्बानले आफ्ना योजनाहरू सार्वजनिक गरिरहँदा बुडापेस्टमा उनको सरकारका योजनाहरूको विरोधमा प्रदर्शनहरू भइरहेका थिए।

करिब दुई हजार मानिसहरू प्रधानमन्त्री कार्यालय अगाडि जम्मा भएका थिए र अरू मानिसहरूले डान्यूब नदीमाथिको पुलमा अवरोध खडा गरेका थिए।

ओर्बानको भाषणका क्रममा सबैभन्दा बढी ताली त्यतिबेला बजेको थियो जब उनले जन्मदर बढाउने सातवटा योजनाको घोषणा गरे। त्यहाँ जन्मदर बढाउन सरकारले अघि सारेको चार बुँदें योजनाहरू यसप्रकार छन् ।

  • आगामी तीन वर्षमा २१ हजार शिशु केन्द्र खोलिने 
  • स्वास्थ्य सेवामा थप साढे २ अर्ब डलर खर्च गरिने 
  • आवासमा सहुलियत 
  • सातवटा सीट भएका गाडी किन्दा राज्यले सघाउने

हङ्गेरी अमर रहोस् र हङ्गेरीका मानिसहरू अमर रहून् भन्दै ओर्बानले आफ्नो भाषण टुङ्ग्याएका थिए। तर जन्मदर बढाउन हङ्गेरीकै जस्तो योजना भने अन्य देशहरुको छैन ।

तुलनात्मक रूपमा कम जन्मदर भएका अरू देशमा आमाहरूलाई अतिरिक्त रकमका साथै विभिन्न सुविधाहरू दिने गरिएको पाइन्छ ।

दशकौँयता रुसमा जन्मदर घट्दो क्रममा छ। सन् १९९१ मा १४ करोड ९० लाख जनसङ्ख्या रहेकोमा सन् २०१८ मा १४ करोडमा झरेको छ।

त्यसपछि अति गरीब परिवारलाई सघाउन भन्दै सन् २०१८ को मार्चमा सरकारले बच्चा १८ महिनाको नहुञ्जेल प्रतिमहिना १५२ देखि १६७ अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको थियो। बीबीसीबाट