बम काण्डमा पूर्वराज्यमन्त्री शाहकाे संलग्नता रहेको अदालतको ठहर

मन्त्रीसहित सात जनालाई जन्मकैदको सजाय

धनुषा । जिल्ला अदालत धनुषाले ६ बर्ष पहिले जनकपुरधाममा भएको बम काण्डमा संलग्न रहेको ठहर गर्दै पूर्वमन्त्री संजय कुमार शाह (टक्ला) सहित सात जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

विस २०६९ साल वैशाख १८ गते जनकपुरधामको रामानन्दचोकमा भएको उक्त घटनामा संलग्न रहेको भन्दै आज धनुषा जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालको संयुक्त इजलासले त्यस्तो सजाय सुनाएको हो ।

अदालतले उक्त घटनामा संलग्न भएको ठहर गर्दै तत्कालीन सांसदसमेत रहेका साहसहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेश कुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा लगायतलाई जन्मकैदको सजाय सुनायो ।

मिथिला राज्यको माग गर्दै रामानन्दचोकमा धर्ना दिइरहेका बेलामा भएको उक्त बम आक्रमणमा परी विभिन्न पाँच जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।

बम आक्रमणमा परी रंगकर्मी कालाकार झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दास र रञ्जु झा लगायतको मृत्यु भएको थियो । उक्त घटनाको विषयमा अनुसन्धान चलिरहेको अवस्थामा अदालतले उनीहरुमाथि दोषी ठहर गर्दै त्यस्तो सजाय सुनाएको हो ।

पूर्वराज्यमन्त्री साह २०६४ सालको चुनावमा धनुषाको क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए। यसैगरी, दोश्रो संविधानसभा चुनावमा राजेन्द्र महतो नेतृत्व सद्भावना पार्टीको तर्फबाट धनुषा क्षेत्र नं। ३ बाट विजयी भएका थिए।