नेताहरुमाथिको धरपकड नरोके क्रान्तिको छिट्टै शुरु हुन्छ: क्रान्तिकारी किसान महासंघको चेतावनी (भिडियोसहित)

प्रहरीलाई शासकको होइन, देश र जनताको आदेश मान्न आह्वान

बाँके । नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा क्रान्तिकारी किसान महासंघका नेता धनेश्वर पोख्रेल शिशिरले राज्यलाई जनताको हक, हित र अधिकारको लागि संघर्षरत नेताहरुमाथि अनाहकमा धरपकड गर्ने कार्य बन्द गर्न आग्रह गरेका छन ।

बाँकेको नेपालगञ्जमा हालै हालै सम्पन्न देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको पाँच नम्बर प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन । उनले राज्यलाई जनघात र राष्ट्रघातको बाटोमा नबढ्न समेत सुझाव दिए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय महासचिव समेत रहेका नेता शिशिरले उक्त सम्मेलनको तयारीका क्रममा नेपालगञ्जमा मोर्चाका नेताहरुलाई प्रहरीले अनाहकमा पक्राउ गरेर राति छाडेको भन्दै आक्रोश व्यक्त गर्दै त्यस्ता धरपकडका कामहरु नरोकेमा अर्को चरणको क्रान्तिको प्रकृया छिट्टै अघि बढ्ने उद्घोष गरे ।

उनले पक्राउको घटनाप्रति आक्रोश पोख्दै भने–‘खबदार शासकहरु, होसियार दलालहरु, यदि तिमिहरु सक्छौ भने राष्ट्रघाती र जनघाती र दलालहरुलाई कारबाही गर । केपी ओली र देशद्रोहीहरुलाई गर । भूमाफिया र हत्याराहरुलाई कारबाही गर, हैन भने तिमी लाचार बनेर इमान्दार नागरिकहरुमाथि निहुँ नखोज ।’

‘जस्ले देश र जनताको हक, हित र अधिकारको पक्षमा बोलेको छ, जस्ले माटोको सुरक्षाको कुरा गरेको र जो मुलुकको हितमा लागि रहेको छ, त्यस्तो जनताको नेताहरुमाथि’ कारबाही नगर्न उनले कडा चेतावनी चेतावनी दिए ।

उनले निर्देशन मान्ने नाममा शासकको अगाडि नतमस्तक भएर होइन विवेक प्रयोग गर्न सुरक्षा निकायका अधिकारीहरुलाई सुझाव दिए । उनले सरकार नालायक र जनभावना विरुद्ध चलेको भन्दै त्यसको विरोध गर्न पाउँने जनताको अधिकारको सम्मान गर्न समेत सुरक्षा निकाय समक्ष आग्रह गरे ।

इमान्दार मानिसहरुलाई शासकको आदेशका भरमा धुन छेक नरोकेमा त्यस्ता अन्धा र जनविरोधि काममा लागेकाहरुको हिसाब समेत क्रान्तिको प्रकृयामा राम्रैसँग राखिने भन्दै उनले कडा आक्रोश व्यक्त गरे ।

उनले जनघाती शासक, प्रशासक र सुरक्षा निकयलाई चेतावनी दिदैं जनताका नेताहरुमाथिको कारबाही नरोकेमा जनताको कारबाहीको प्रकृया पनि बढाउन बाध्य हुने भन्दै त्यसलाई कसैले छेक्न नसक्ने दावी गरे ।

उनले भने–‘एसपी साहेवहरु ख्याल गर्नुहोला, आइन्दा इमान्दार मानिसहरुलाई दुख नदिनुहोला । हामी देशमा हामीले जनतालाई जगाउँदै हिडेका छौ। राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्याहरु विकराल बनेका छन, जनताहरु विरोधमा उत्रिन बाँध्य छन, यो रहर होइन ।’

उनले जनतामाथि दमन नरोके क्रान्तिकारी आन्दोलन अझै उचाइमा पुग्ने भन्दै भने–‘हामी मृत्यु जितेर आएका मानिस हौं । हामीलाई मृत्युसँग डर छैन, वर्गिय मुक्तिको चाहना छ । हामी तिम्रा जेल, नेल र आतंकको प्रतिरोध गर्न पनि सक्छौं ।’

आफुहरुको चाहना युद्ध नभएपनि राज्यको गलत हर्कतका कारण अर्को चरणको क्रान्ति हुने संकेत गरिरहेको उनले बताए । उनले राष्ट्रिय स्वाधिनताको पक्षमा उभिन सचेत, देशभक्त र परिवर्तनगामि नागरिक, प्रशासक, सुरक्षा निकाय र सबैलाई आह्वान समेत गरे ।

उनले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) मुलुकका शोसित पीडित आम किसान, मजदूरहरुको हक, हित स्थापनार्थ संघर्षको लागि तयार रहेको भन्दै सबैलाई राज्यको गलत हर्कत विरुद्ध संगठित हुन अपिल समेत गरे ।