भेरी अस्पतालमा बिरामी खानाको गुणस्तरीयतामाथी प्रश्न

खाद्य प्रविधी तथा गुणनियन्त्रण कार्यालय किन मौन ?

बाँके । नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीलाई गुणस्तरहीन खाना खुवाउने गरेको खुलासा भएको छ ।

सरकारी अस्पतालले भर्ना भएका बिरामीलाई निःशुल्क रूपमा खुवाउँदै आएको खाना ‘खाए खा नखाए घिच’ भने झै गुणस्तरहीन खाना खुवाउने गरेको खुलेको बिशेष सुत्रबाट जानकारी हुन आएको हो ।

यसले अस्पतालबाट उपलब्ध गराइने खानाको विश्वसनीयता माथि नै प्रश्न उठेको छ ।

सरकारी निकायमा जताततै विकृति र विसंगति मौलाइरहेको बेला सरकारी अस्पताल जस्तो विश्वसनीय र संवेदनशील संस्था मै बिरामीलाई दिइने खाना गुणस्तरहीन हुँदा समेत अस्पताल व्यवस्थापन र खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालयले अनुगमनमा चासो नदेखाउनु आश्चर्यजनक छ ।

बिरामी भएर निजी अस्पतालमा उपचारकालागि जान नसक्ने निम्न मध्यम वर्गीय परिवार सरकारी खाना बहिस्कार गर्ने मनस्थितिमा समेत पुगेको भेरी अस्पतालमा उपचार गराइ रहेका बिरामीका एक आफन्तले हरपल नेपालसँगको कुराकानीमा बताए ।

पैसा खर्च गरेर अन्यत्र उपचारका लागि जान नसक्ने बिरामी दूषित खाद्यान्नको कारण थप बिरामीपर्ने स्थिति छ ।

अस्पतालमा वितरण हुने पानीसमेत दूषित भएको बिरामीका कुरूवाको आरोप थियो ।

बिरामीलाई निःशुल्क खुवाइने खानाको गुणस्तरबारे सरोकारवाला निकायको अनुगमन नहुँदा गुणस्तरहीन खाना खान बिरामी बाध्य हुने भएको बिरामीका कुरुवाहरु बताउँछन् ।