प्रदेश चारमा देजमोको सम्मेलन भव्य रुपमा सम्पन्नः परियारको नेतृत्वमा ४५ सदस्यीय कमिटी निर्वाचित

आन्दोलनका लागि चैत्र २४ गते सडकमा उत्रिन नेताहरुको आह्वान

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको पोखरामा जारी चार नम्बर प्रदेशको सम्मेलन ४५ सदस्यीय कमिटी निर्वाचित गर्दै सकिएको छ ।

पोखराको कान्तिपुर पार्टी प्यालेशमा आज सम्पन्न सम्मेलनबाट केशबहादुर परियारको नेतृत्वमा उक्त कमिटी निर्वाचित भएको हो ।

निर्वाचित कमिटीको उपाध्यक्षमा सुशिला थापा, सचिवमा बावुराम सुवेदी, सहसचिवमा प्रशुराम कोईराला, कोषाध्यक्षमा गुञ्जबहादुर भण्डारी लगायत पाँच जनाको पदाधिकारी सहित ४५ सदस्यीय कमिर्टी निर्वाचित भयो ।

आज बिहानबाट शुरु भएको उक्त सम्मेलनको बन्दशत्र दिउँस शुरु भएको थियो । बन्दशत्रमा मोर्चाका संयोजक परियारले संगठनात्मक तथा आर्थिक प्रतिवेदन समेत पेश गरेका थिए । संयोजकले पेश गरेको प्रतिवेदनमाथि विभिन्न समूहमा छलफल गरी सुझावहरु पेश भएका थिए।

नयाँ कमिटी निर्वाचित भएसँगै सम्मेलन सकिएको छ । ४२ सदस्य पूर्ण र ३ सदस्य पछि थप्ने गरी ४५ सदस्यीय कमिटी निर्वाचित भएको हो । निर्वाचित कमिटीको पहिलो बैठक भोली बिहान बस्ने र उक्त बैठकले प्रदेश कमिटीको सचिवालय गठनदेखि अन्य कामहरुको बाडफाड तथा कार्यक्रमबारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

निर्वाचित कमिटीका अध्यक्ष परियारलाई कार्यकाल सफलताको शुभकामना दिदैँ हरपल नेपालले गरेको फोन संवादका क्रममा उनले मोर्चाको राष्ट्रिय सम्मेलनका सन्दर्भमा चैत्र २४ गते काठमाडौंमा आयोजना हुने विशाल जनप्रदर्शनको कार्यक्रममा सबैलाई सहभागि हुन आह्वान समेत गरे ।