मलेसियाको जोहोरमा नेपाली श्रमिकहरुको संयुक्त बैठकः सामाजिक सुरक्षा कोष निर्माण गर्ने निर्णय

नव नियुक्त राजदूत पाण्डेलाई स्वागत गर्ने तयारी

मलेसिया । मलेसियाको जोहोरबारु अवस्थित सिटी स्क्वाएरको हलमा हिजो त्यहाँ कार्यरत श्रमिकहरुका विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधिको सयुक्त बैठक सम्पन्न भएको छ ।

उक्त बैठक मलेसियामा कार्यरत नेपाली कामदारको समस्या र त्यसको समाधानका विविध विषयहरुमा छलफल गर्ने उद्देश्यले बसेको हो । बैठकमा विभिन्न संघ, संगठनका प्रतिनिधिहरुले व्यापक छलफल गरेका थिए ।

उक्त बैठकले मलेसियामा नेपाली श्रमिकको आपतकालीन समस्यामा राहत र सहयोग पुग्ने गरि सामाजिक सुरक्षा कोष निर्माण गर्ने र त्यसलाई तत्काल संचालनमा ल्याउने लगायतको महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले त्यहाँ सामाजिक सुरक्षा कोष गठन गर्ने र त्यसबाट समस्यामा परेका नेपाली श्रमिकको उद्धार, सहयोग र कानुनी परामर्शका लागि सहायता पुर्याउने निष्कर्ष निकालेको छ ।

उक्त बैठकमा गैर आवासीय नेपाली संघ (एनआरएन) जोहोरका सचिव अर्जुन सिहँ ठकुरीले आपतमा परेका नेपाली कामदारको सहयोगका लागि कोष निर्माण गर्नुपर्ने बताए ।

सुरक्षाको हिसाबले अत्यन्त समवेदनशील मानिने मलेसियामा रोजगारी गर्न आएका नेपालीहरु लुटिने, ठगिने जस्ता घटनाहरु समेत दिनहुँ हुने गरेका छन । उक्त बैठकले नेपाली श्रमिकको सामाजिक सुरक्षाको ग्यारेन्टीको माग समेत गरेको छ ।

बैठकले रोजगारदाता कम्पनिलाई कामदारको सुरक्षाको ग्यारेन्टी नगर्दासम्म कामदारको माग नगर्न सुझाव समेत दिएको छ । त्यस्का लागि सम्बन्धित निकाएमा पहल गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै मलेसियाका लागि नव नियुक्त राजदूत उदयराज पाण्डेलाई एनआरएन जोहोर समितिको आयोजनामा सम्पुर्ण नेपाली श्रमिकहरुको उपस्थितिमा स्वागत तथा सम्मान कार्यक्रम गर्ने विषयमा समेत निर्णय भएको बताइएको छ ।