वास्तवमा किन पुग्छन् त मानिसहरु आत्महत्याको निर्णयमा ? हेर्नुहोस्, यस्तो देखिन्छ सामाजिक अवस्था

समस्याको कारण र समाधान खोज्नु जरुरी

भरत पोखरेल

मानिसहरूले आत्महत्या किन गर्छन् ? यसको सही जवाफ आजसम्म पाउन सकिएको छैन । समृद्ध संसारमा अस्थायी समस्याको स्थायी समाधानका लागि आत्महत्या हुन्छ भनिन्छ । विपन्न संसारमा यो भनाइको कुनै तुक देखिदैन ।  संसारमा सबैभन्दा बढी आत्महत्याको दर ब्राजिलको दक्षिण भेगमा बस्ने आदिवासीहरूमा देखिएको छ । ब्राजिलको राष्ट्रिय औसत भन्दा त्यहाँ ३४ गुणाले आत्महत्याको दर बढी छ । त्यसपछि अष्ट्रेलियाका आदिवासी र अमेरिका विशेषगरी अलास्का क्षेत्रका आदिवासीहरूमा आत्महत्याको दर बढी रहेको छ । भारतमा प्रतिवर्ष १२ हजार किसानहरूले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ ।

विकसित देशहरूमा आत्महत्याका कारण मद्यपान, मोटोपन, वितृष्णा, लघुताभास आदि मानिन्छन् भने विकासशील देशहरूमा सामाजिक र आर्थिक संकट, खेतीकिसानीले खान नपुग्नु र अरु वैकल्पिक काम नपाउनु, ऋणको भार बढ्दै जानु आदि देखिन्छ । गत पुस १२ गते सप्तरीको सदरमुकाम राजविराजमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी प्रमुख उपरीक्षक राजेन्द्र विष्टले सार्वजनिक रुपमा एउटा तथ्याङ्क उद्घाटित गरे, जुन हामी नेपालीहरूका लागि स्तब्ध पार्ने थियो ।

सप्तरीमा साउनदेखि मङसिरसम्म पाँच महिनामा २६ जनाले आत्महत्या गरेछन् । आत्महत्या गर्नेहरूमा विष सेवन गरी ९ जना, झुण्डिएर १४ जना, आगो लगाइ २ जना र हाम फालेर १ जनाले आत्महत्या गरेछन् । मधेसमा यो मनोदसाको जिम्मेवार को ? सदियौंदेखि प्रताडनामा परेको जीवन, ऋणको बोझ, शिक्षाको अभाव, गरिबीको मार, सामाजिक विभेद आदि मात्रै हो त ? समाजशास्त्रीहरूले यो रोगको कारण खोज्नु जरुरी छ ।

मधेसी राजनीतिक दलका नेताहरूले देशी–विदेशी नेताहरूको तावेदारी गर्नुभन्दा त्यहाँका जनतालाई चेतनशील बनाइ गरिबी, बेरोजगारी, भ्रष्ठाचार, घुसखोरी, विभेद आदिको विरुद्ध खबरदारीका लागि सचेत गराउनु र मानवीय जीवन बाँच्नका लागि आशा जगाउनु आवश्यक देखिन्छ ।

(लेखक पोखरेल, त्रिविमा कार्यरत छन । उनी समसामयिक विषयमा खोजमूलक लेखहरु लेख्ने गर्दछन ।)