‘अर्काको लागि धेरै लड्यौ, एक पटक देशको लागि लडौं’- क्रान्तिकारी माओवादी (भिडियोसहित)

असमान सन्धि सम्झौता खारेजिको मागः संघर्षमा जोड

रुपन्देही । बुटवलमा ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले सयौं दर्शकहरुको सहभागितामा वैचारिक साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम हिजो सम्पन्न भएको हो ।

कार्यक्रममा विगोसोका सल्लाहकार समेत रहेका क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापाले विगेसोले ब्रिटिस, सिङगापुर, बु्रनाई लगायत विदेशका विभिन्न क्षेत्रको सैनिकको रुपमा कार्यरत नेपालीहरुले त्यहाँको राज्यबाट भोग्नुपरेको समस्या, पीडा, अपमान र विभेदका विरुद्ध आन्दोलनको अगुवाई गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

नेता थापाले नेपालका होनहार युवाहरुलाई साम्राज्यवादी दलालहरुले आफ्नो देशको विकासका लागि यही रोजगार दिनुको साटो विदेशी मुलुकमा भाँडाको सिपाही बनाएको भन्दै कडा आलोचना गरे ।

उनले देशका शासकहरुले युवाको परिश्रममा कमिसन खाएर विदेशी भूमिमा बेचेको आरोप लगाए । उनले भने –‘हाम्रो देश स्वतन्त्र, अभिभाज्य र सार्वभौमिक राष्ट्र हो, हामीले कुनै विदेशी प्रभुको अगाडी झुक्नुपर्ने र दासत्व स्विकार गर्नुपर्ने आवश्यकता छैन । हाम्रो हाम्रो ढंगले चल्नु पर्छ ।’

कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्दै उनले गोर्खा सैनिकले विदेशमा धेरै लडाईहरुमा बिरताको इतिहास बनाएको भन्दै भने–‘हामीले रोजगारीको कारण अर्काको देशको लागि धेरै लडाई लड्यौ, रगत बगायौं, तर आफ्नो मुलुकमाथि भैरहेको अतिक्रमण हेरेर बस्न बाध्य छौ । अब एक पटक देश र जनताको लागि लडौं, राष्ट्रिय स्वाधिनताका लागि लडौं ।’

उनले सन् १९४७ को त्रिपक्षीय सन्धि र अन्य सन्धि, सम्झौताहरुको कारण विदेशमा रोजगारीको लागि ब्रिटिस सेनामा जान बाध्य भएका नेपालीहरुले दुख पाउँनुपरेको औल्याउँदै अब मुलुकको विकास र समुन्नतीका लागि सबैले स्वदेशको चिन्ता गर्नुपर्नेमा जोड दिए ।

ब्रिटिस सैनिकहरुले सन्धि अनुसारको व्यवहार समेत नपाएको र अपमानित हुनुपरेको भन्दै त्यसका विरुद्ध विगेसोले अन्तराष्ट्रिय स्तरको राष्ट्रिय कार्यक्रमको आयोजना गरेर आम नेपालीलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सजग गराउने काम गरेको भन्दै प्रशंसा गरे ।

उनले मुलुकमा सामाजिक व्यवस्था परिवर्तनको लागि लामो समयदेखि चलेको संघर्ष र आन्दोलनपछि पनि साम्राजयवादी, विस्तारवदी राष्ट्रिय दलालहरुका कारण पुराना असमान, राष्ट्रघाती, जनघाती सन्धि, सम्झौताहरुको खारेज हुन नसकेको बताए ।

उनले मुलुकमा नक्कली कम्युनिस्टधारीहरुले सत्ताँ चलाएको भन्दै उनीहरुबाट देश र जनताको विरुद्धमा भएका सन्धि, सम्झौताहरु खारेजी हुन नसक्ने ठोकुवा गरे । उनले मुलुकको विकास र समृद्धीको लागि अर्को चरणको आन्दोलन वा क्रान्तिको आवश्यकतामा जोड दिए ।

उनले महिला, किसान, सम्पूर्ण उत्पीडित वर्ग र समुदायहरुलाई सघर्षबाट मात्र अधिकार प्राप्त गर्न सकिने भन्दै त्यो प्रकृयामा जोडिन आह्वान समेत गरे ।

उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले विगेसोले ब्रिटिस गोर्खा सैनिकहरुको हक,हित र अधिकारको लागि उठायको मुद्धा र कार्यक्रमप्रति आफ्नो पार्टीको एक्यवद्धता जनाउँदै संघर्षबाट मात्र अधिकार प्राप्त हुने बताए ।

राज्यले नागरिकहरुले उठाएका तमाम विषयलाई गम्भीरतापूर्वक नलिएको भन्दै उनले त्यसले गम्भीर आशंका पैदा गरेको बताए । उनले अधिकारका लागि आन्दोलित हुनु जनताको वाध्यता बनेको टिप्पणी गरे ।

उनले नेपाललाई विदेशी शक्ति केन्द्रहरुले प्रयोग गर्ने प्रयास इतिहासदेखि गर्दै आएको औल्याउँदै हामीले असंलग्न राष्ट हुनुको हिसाबले आफ्नो ओज जोगाउँदै नागरिक र देशको हितमा काम गर्नुपर्ने धारणा राखें ।

उनले मुलुकको राष्ट्रिय स्वाधिनतामा गम्भीर संकट देखिएको र जनजीविकाको सवालमा समेत समस्याहरु देखिएको भन्दै त्यसमा राज्यको ध्यानाकर्ष गराएका थिए ।

उक्त कार्यक्रममा विगेसोका सल्लाहकार समेत रहेका डा. ओम गुरुङले नेपालीहरलाई बेलायतले व्यापारीक वस्तु जस्तो गरी जहाँ आवश्यकता पर्छ, त्यहाँ बेच्ने काम गरेको र त्यमा सत्ताँधारीहरुले सघाएको बताए ।

दोश्रो मुलुकमा कामका लागि गएका नेपालीहरुलाई तेश्रो मुलुकसँग लडाउँने, भिडाउँने काम भएको र त्यसले अर्काको दुश्मनीमा हामीलाई जोडेको तर्क गरें । उनले मुलुकको सीमा अतिक्रमण भएको बेला, राष्ट्रियता संकटमा परेको बेला नेपाली युवाहरुलाई विदेशमा पठाउने नीति राष्ट्रघाती रहेको बताए ।

उक्त कार्यक्रममा देजमो प्रदेश नम्बर पाँचका अध्यक्ष केबी गुरुङ, क्रान्तिकारी माओवादीका प्रदेश सेक्रेटरी प्रेम सुवेदी, अखिल नेपाल किसान महासंघका महासचिव धनेश्वर पोख्रेल, जनसाँस्कृतिक महासंघका महासचिव हिरामणी दुखी, केन्द्रीय सदस्य ठूल्दाई, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसी, लगायत विभिन्न संघ, संस्थाका नेताहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रम साँझ ६ बजे समापन भएको थियो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । विभिन्न संघ संस्था र समूदायबाट सयौको कार्यक्रममा उपस्थिति रहेको थियो ।