पत्रकारलाई राष्ट्रिय स्वाधिनता र जनतन्त्रको पक्षमा कलम चलाउन क्रान्तिकारी माओवादीको आग्रह

ओली सरकार फासिवादतर्फ उन्मुख रहेको दावी

सुर्खेत । वर्तमान सरकारको पालामा राष्ट्रिय स्वाधिनता र जनतन्त्रको अवस्था संकटपूर्ण बनेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) ले मुलुकलाई गम्भीर समस्याबाट जोगाउन आम नागरिक, वौद्धिक वर्ग, सामाजिक अगुवा, पत्रकार सबैले आ आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्नेमा जोड दिएको छ ।

क्रान्तिकारी माओवादीका नेताहरुले विभिन्न ठाउँमा मुलुकको सीमा अतिक्रमण भैरहेको भएपनि राज्य मौन बसेको र नागरिकहरुमाथि करको भारी जबर्जस्त रुपमा बोकाएको भन्दै राष्ट्रिय स्वाधिनता र जनतन्त्रको अवस्थाका विषयमा पत्रकारहरुलाई कलम चलाउँन आग्रह गरेका छन ।

आज प्रदेश नम्बर ६ को राजधानी विरेन्द्रनगर सुर्खेतमा क्रान्तिकारी पत्रकार महासंघ, सुर्खेतको आयोजनामा सम्पन्न ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा पत्रकारहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका नेताहरुले त्यस्तो बताएका हुन ।

कार्यक्रममा पत्रकारहरुको प्रश्नहरुको उत्तरसहित आफ्नो धारणा राख्ने क्रममा क्रान्तिकारी माओवादीका प्रदेश सेक्रेटरी चक्रपाणी शर्माले वर्तमान ओली नेतृत्वको सरकारको पालामा मुलुकमा भ्रष्टाचार, तस्कर, दलालीकरण बढेको बताए ।

उनले राज्यले भ्रष्ट र सामाजिक अपराधिहरुलाई संरक्षण गरेको हुनाले त्यस्तो अवस्था आएको औल्याए । उनले भने–‘मुलकमा भ्रष्टचारी र अपराधीहरु खुलेयाम हिडेका छन तर जनताको अधिकारको लागि राजनैतिक मुद्धा लिएर हिडेका नेताहरुमाथि राज्यले प्रतिबन्ध लगाउने, पक्राउ गर्ने काम गरिरहेको छ, यो कस्तो राज्य हो ?’

राजनैतिक दलमाथिको प्रतिबन्ध हटाएर जनताको परिवर्तनप्रतिको चाहना पुरा गर्न राज्यलाई आग्रह समेत गरे । उनले मुलकमा जनताको जनजीविका अस्तब्यस्त भएको भन्दै बाँच्नै गाह्रो अवस्था नल्याउन सरकारको ध्यानाकर्षण समेत गराए । उनले ओली सरकार समाजवादको भ्रम दिएर फासिवादतर्फ उन्मुख रहेको आरोप समेत लगाए ।

उनले मुलुकको सीमा क्षेत्रको अतिक्रमण, नेपाली भूमिको खोजी, असमान सनिध सम्झौताहरुको खारेजी, जनअधिकारको रक्षा गर्न राज्य बाधक भएमा त्यसको आफ्नो पार्टीले त्यसको नेतृत्व गर्ने प्रष्ट पारे ।

उनले आफ्नो पार्टीले जनताको हक, अधिकार र मुलुकको राष्ट्रिय स्वाधिनताको प्रश्नमा राज्यलाई दवावमूलक सडक आन्दोलनका कार्यक्रमहरु गर्ने भन्दै त्यस्मा राज्यले रोक्न खोजेमा ठिक ढंगले प्रतिकार गरिने भन्दै चेतावनी समेत दिए ।

उनले देश र जनताको पक्षमा, मुलुकको राष्ट्रियतामाथिको संकटका पक्षमा पत्रकारहरुलाई कलम चलाउन र मुलुकलाई गम्भीर संकटबाट जोगाउ भूमिका खेल्नका लागि आग्रह समेत गरे ।

उक्त कार्यक्रममा क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका प्रदेश संयोजक दिपक शाहीले मोर्चाले मेची महाकाली राष्ट्रिय जनजागरण अभियानको क्रममा विभिन्न ठाउँमा सीमा क्षेत्रमा समस्याहरु भेटेको र जनताहरु राज्यकै कारण मारमा परेको भन्दै त्यसको विकल्प खोज्नुपर्ने अवस्था आएको बताए ।

संयोजक शाहीले मोर्चाले मुलुकमा ब्याप्त तमाम समस्याहरुको समाधानको लागि सडक आन्दोलन विकल्प रहेको भन्दै राज्यवयवस्था परिवर्तनको लागि मोर्चा आन्दोलनको तयारीमा रहेको खुलासा गरे ।

उनले चैत्र २४ गते काठमाडौंमा हुने विशाल जनप्रदर्शनको कार्यक्रममा सहभागि हुनका लागि आम नागरिकमा अपिल समेत गरे । उनले मोर्चाको राष्ट्रिय सम्मेलनको उद्घाटन शत्रबाटै वर्तमान व्यवस्थाको विरुद्धमा सडक आन्दोलनको उद्घोष गरिने जनाए ।

क्रान्तिकारी पत्रकार महासंघ सुर्खेतका संयोजक मनराज कठायतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजिकरण गर्दे उक्त संगठनका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसीले पत्रकारहरु परिवर्तनका पक्षमा रहने भन्दै देश मुलुकको समस्या तथा त्यस्को विकल्पका विषयमा समाचारहरु सम्प्रेषमा ध्यान दिनुपर्ने बताए ।

उनले क्रान्तिकारी पत्रकार महासंघ सदैव देश र जनताको हक, अधिकार, संघर्षलाई केन्द्रमा राखेर तमाम विषयहरुलार्य समेट्दै पत्रकारीता गर्नुपर्नेमा जोड दिदैँ आएको भन्दै पत्रकारलाई पनि देशको चिन्ता भएको तर्क गरेका थिए ।

उक्त कार्यक्रममा थाहाखबर डटकमका पत्रकार धर्मराज जिसिले पत्रकारको हक, अधिकारको अवस्थाबारे जनाउँदै मिडिया संञ्चालक र सम्बद्ध निकायहरुसँग समेत त्यस्तो अन्तरक्रिया गर्नुपर्ने औल्याए । त्यस्तै प्राइम टाइम्स टेलिभिजनका पत्रकार अप्सरा बिष्टले मिडियाकर्मिहरु बीच एकजुट हुनुपर्नेमा जोड दियन ।

उक्त कार्यक्रममा टिभि टुडेका पत्रकार युवराज पंगालीले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा देशव्यापी रुपमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव राखे । उनले राष्ट्रियताको विषय गम्भीर भएको भन्दै त्यसमा सबै क्षेत्रका मानिसहरु सजग हुनुपर्ने धारणा राखें ।

त्यस्तै उक्त कार्यक्रममा शुक्ष्मदृष्टि साप्ताहीकका पत्रकार खगेन्द्र अधिकारीले पत्रकारहरुको समस्याबारे औल्याउँदै समाधानका लागि एकताबद्ध हुनपर्ने धारण राखें । उनले पत्रकारको भूमिका निष्पक्ष समाचार सम्प्रेषण गर्ने र नागरिकलाई घटनाक्रमको विषयमा जानकारी गराउँने भन्दै त्यसका लागि दलिय प्रभावभन्दा माथि उठ्नुपर्ने बताए ।

सुखेृतका विभिन्न सञ्चारमाध्यमा कार्यरत एक दर्जन बढि पत्रकारहरुको उक्त कार्यक्रममा सहभागिता रहेको थियो । पत्रकारहरुले पार्टीको नीति, कार्यक्रम र जनताको समस्याका विषयमा नेताहरुसँग जिज्ञासा समेत राखेका थिए ।

उक्त कार्यक्रममा क्रान्तिकारी माओवादी सुर्खेतका सेक्रेटरी श्याम, दैलेख सेक्रेटरी विरेन्द्र, अखिल क्रान्तिकारीका नेता हिमाल शाही, लगायत विभिन्न संघ संगठनका नेता, कार्यकर्ताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।