गायक सौगात सायरको प्रश्नः विचार बोकेका नेताहरु देश बेच्छन, जनताले कसरी विश्वास गर्ने ?(भिडियाेसहित)

राजनीतिज्ञहरुले कलाकारहरुलाई प्रयोगको साधन बनाउँन खोजें

बुटवल । चर्चित युवा गायक सौगात सायरले कलाकारहरुले देश र जनताको आवाज गीतबाट बोल्ने गरेको भएपनि त्यसलाई राजनीतिज्ञहरुले मञ्चबाट मानिस जम्मा गरेर आफुले भाषण गर्ने साधनको रुपमा बुझेको भन्दै दुखेसो व्यक्त गरेका छन ।

ब्रिटिस भूतपूर्व गोर्खा सैनिक संगठन (विगेसो) द्धारा बुटवलमा हिजो आयोजित वैचारिक साँस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुतिका लागि मञ्चमा पुगेका गायक सौगातले त्यस्तो बताएका हुन ।

उनले नेताहरु भन्दा गीत गाउने कलाकारहरु जनताको प्रिय र देशप्रति इमानदार रहेको दावी गरे । उनले राजनीतिज्ञहरुले पटक पटक जनतालाई धोका दिएको भन्दै प्रश्न गरे–‘विचार बोकेका नेताहरु देश बेच्छन अनि जनताले कसरी विश्वास गन ?’

उनले भने–‘सायद विश्वास नै जीन्दगी हो । जीन्दगी आशावादी रहेछ, आजको कुरा राम्र्रै हुन्छ, तर भोलि के हुन्छ हामीलाई थाहा छैन । आज विश्वास गरेको मानिसले भोलि विश्वास घात गर्दैन कसरी भन्ने ?’

नेताहरुले घण्टौं लगाएर बोल्ने कुराहरु कलाका माध्यमबाट कलाकारले पाँच मिनेटमा बोल्न सक्ने उनको तर्क थियो ।

उनले भने-‘नेताहरु बिना ताल, बिना बाँजा बोल्छन तर कलाकार ताल र बाजामा संगित भर्दै बोल्छन । त्यसैले त्यसलाई दर्शकले मिठो मानेर ग्रहण गर्छन ।’

नेताहरु सत्ताँमा पुगेपछि जनतासँगको प्रतिबद्धता बिर्सेने गरेको भन्दै उनले भने–‘हामीले जिताएर पठाएका र सुद्ध राता भनिएका मानिसहरुले हिजोका देशमा महाकाली बेचे, देशका कुपुत्रहरुले गण्डक बेचें ।’

राजनीतिमा कलाकारहरुलाई उपयोगको साधन गराउने गरेको भन्दै उनले भने–‘हामीलाई प्रगतिशिल गीत गाउँन, मनोरञ्जनका लागि मञ्चमा बोलाउने गरिन्छ । न कुनै हैसियत न सम्मान तर त्यहि कलाकारहरुले मानिस जम्मा गरेपछि भोट मागेर जितेका नेताहरु आज रंग बदल्न पुगेका देखिए ।’

उनले कलाकारहरुसँग विचार हुँदैन भन्दै उपयोगको साधनका रुपमा बुझ्ने गरेको गुनासो गर्दै भने–‘विचार बोकेका नेताहरुले त देशै बेचिदिए, हामी त आज पनि देश विदेशमा मादलका धुनहरु बजाउँछौं, देश र जनताका कुरा गछौं, हामीले के नराम्रो गरेका छौं र ?’

उनले मञ्चबाट राष्ट्रभक्ति गति गाउँदा दर्शकहरुले सिटी र गडगडाहट तालीले भव्य स्वागत गरेका थिए । उनले गायको गीतले अधिकांशलाई भावुक बनाएको देखिन्थ्यो ।