आयल निगमबाट पेट्रोलियम पदार्थ यसरी हुन्छ ठगी

काठमाडौं । राजधानीको कालिमाटीस्थित माली आयल स्टोर्स पेट्रोलपम्पमा खन्याइएको ४ हजार पेट्रोलमध्ये ९९ लिटर गायब भएको छ ।

राजधानीमा वितरित पेट्रोलियममध्ये प्रति ४ हजार लिटरमा ९९ लिटर हराउने गरेको भेटिएको छ । आयल निगमले कम तेल दिएको पेट्रोलपम्पहरूले गुनासो गरेपछि अध्ययनका क्रममा यस्तो पत्ता लागेको नेपाल आयल निगमले जनाएको छ ।

मंगलबार सो पम्पको अन्डरग्राउन्ड ट्यांकी खाली गराएर ४ हजार लिटर पेट्रोल खन्याइएकोमा नोजलले ३ हजार ९ सय १ लिटर मात्रै वितरण गरेको थियो । पम्पमै इन्धन गायब भएपछि आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारी चकित भएका छन् र अहिले छानबिन भइरहेको छ ।

आयल निगमले ४ हजार लिटर दाबी गरे पनि १२ लिटर कम दिने गरेको माली आयलबाट पुष्टि भएको छ । निगम निर्देशक बरालले भारतीय क्यालिब्रेसन र नेपाली क्यालिब्रेसन फरक परेका कारण ४ हजार लिटरमा १२ लिटर कम देखिएको बताए । 

हामीले भारतीय क्यालिब्रेसनलाई मान्यता दिएर इन्धन बुझ्दै आएका छौँ,’ उनले भने, ‘तर, नेपाली क्यालिब्रेसनले ४ हजार लिटरमा १२ लिटर कम आएको देखिन्छ । यो विषयमा हामी भारतीय आयल कर्पोरेसनसँग कुरा गर्छौँ ।’

गायब हुनुका ४ सम्भावित कारण चालक, मेसिनको खराबी, चोरीको ट्यांकी जडान, ट्यांकीबाट चुहावट इत्यादी अनुमान गरिएको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।