म्यादी प्रहरीले पोशाक पाउन कठिन

काठमाडौं । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा परिचालन हुने म्यादी प्रहरीका लागि पोशाकको समस्या भएको छ ।

उक्त निर्वाचनका लागि देशभर ७५ हजार म्यादी प्रहरी परिचालन हुनेछन् । म्यादी प्रहरीको छनोट प्रक्रिया अन्तिम चरणमा पुग्नुका साथै शनिवारबाट आगामी वैशाख ८ गतेसम्म तालिम सञ्चालन हुने भएको छ ।

म्यादी प्रहरीले तालिमका क्रममा मात्र होइन निर्वाचन क्षेत्रमा खटिँदासमेत पोसाक पाउने सम्भावना न्यून देखिएको छ ।

प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने–‘छोटो समय भएकाले सबैलाई पोसाक उपलब्ध गराउन गाह्रो छ । पोसाकका लागि भनेर बजेट छुट्याइएको छ भन्ने सुनेको छु तर कति छुट्याइएको छ र टेन्डर प्रक्रियाका बारेमा जानकारी पाएका छैनौँ ।’

प्रवक्ता खनालले पोसाकमात्र नभई म्यादी प्रहरीलाई आत्मसुरक्षाका लागि प्रदान गरिने लाठी, जुत्ता–मोजा, झोला र कम्मल पनि अपुग हुन सक्ने जानकारी दिए ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी समयावधिका कारण म्यादी प्रहरीको पोसाक खरिद गर्न सक्ने अवस्था नभएकाले अन्य विकल्प बारे छलफल भइरहेको बताए । यो समाचार आजको गोरखा पत्रिकामा प्रकाशित छ ।