माओवादी एकता घोषणा कार्यक्रम सम्पन्नः अध्यक्ष प्रचण्डद्धारा एकतामा जोडिएका दर्जनौ नेताहरुलाई बधाई तथा भव्य स्वागत

माओवादी कमजोर भयो भन्नेहरुलाई कडा जवाफ

काठमाण्डौं । लामो समयदेखि ‘माओवादी एकता अनिवार्यताः कम्युनिष्ट एकता आजको आवश्यकता’ मा जोड दिदै विभाजित माओवादी आन्दोलनलाई सैद्धान्तिक वैचारिक एकरुपतासहित एकताबद्ध हुन आह्वान गदैं गर्दै विभिन्न घटकहरुलाई सुझाव दिदै राजनीतिक ढंगले अघि बढेको पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) आज एक औपचारिक कार्यक्रमबिच माओवादी एकता तथा समायोजन प्रकृयामा जुटेको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) बिच विभिन्न तहमा पटक पटक भएका वार्ता, छलफल र माओवादी आन्दोलनको निरन्तरतामा विकास गर्ने मुख्य मुद्दालाई केन्द्रमा राख्दै गरिएका महत्वपूर्ण निर्णयहरुको आधारमा आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार ललितपुरमा उक्त माओवादी एकता घोषणा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले विभाजन रुपान्तरण र पुर्न एकताबारे द्धन्द्धवादी नियमको आधारमा पछिल्लो चरण माओवादी एकता, समायोजन तथा ध्रुविकरणको प्रकृया देशव्यापी रुपमा बढिरहेको विषयमा जोड दिदै सबै विभाजित माओवादी घटकहरुलाई राजनीतिक मुलधारमा जुट्दै समाजवादी क्रान्तिको यात्रामा अघिबढ्न हार्दिक आह्वान गरेका थिए ।

माओवादी एकता अनिवार्य आवश्यकताको विषय भएको भन्दै उहाँहरुले महान जनयुद्ध, जनआन्दोलन, जनसंघर्षहरु तथा जनताका सबैखाले न्यायोचित आन्दोलनहरुबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पुरागर्ने दिशामा एकताबद्ध भै अघिबढ्नुपर्नेमा जोड दिएका थिए ।

दुई पार्टीबिच भएको छलफल र निर्णयसँग एकता घोषणापछि नेकपा (माओवादी केन्द्र) लाई जनताको आशा र भरोसाको बलियो केन्द्र तथा परिवर्तनकारी आन्दोलनको निर्णायक शक्ति बनाउन एकतावद्ध भै आ–आफ्नो तर्फबाट जुट्न निर्देशन गरेका थिए ।

नेपाली क्रान्तिको कार्यभार पुरागर्न नेकपा (माओवादी केन्द्र) नै सबैभन्दा जिम्मेवार जनताको पार्टी भएको भन्दै दुई पार्टीबिच भएको छलफल, सुझाव र सहमतिका आधारमा अबका दिनबाट नेकपा (माओवादी केन्द्र) ले लिएको सैद्धान्तिक वैचारिक लाईन, मुलभुत कार्यदिशा र कार्यक्रमलाई सफल पार्नका लागि माओवादी एकताको प्रकृयामा आएका सबै जिम्मेवार नेता, कार्यकर्ताहरुलाई आ आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न उहाँहरुले निर्देशित गरेका थिए ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी एकताको अनिवार्यताबारे लामो समयदेखि सैद्धान्तिक वैचारिक वहस चलाउँदै, त्यसलाई सार्थक पार्ने काममा भुमिका खेलेको भन्दै एकतामा सहभागि भएको माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकेश र त्यसमा रहेका सबै अगुवा नेताहरुलाई विशेष धन्यवाद व्यक्त गरेका थिए । अध्यक्ष प्रचण्डले भने–‘माओवादी आन्दोलनका बिरुद्ध देशी विदेशी शक्ति केन्द्रहरु र प्रतिक्रिवादी तत्व लागिरहेको अवस्थामा आन्दोलनको निरन्तरताका विकास गर्नुपर्छ भन्दै माओवादी एकतामा कमरेडहरु जुट्नुले माओवादी विरोधीहरुलाई गतिलो जवाफ दिएको छ । यसले हामीलाई आत्तरिक रुपमा बलियो र अझ सशक्त बनाउन बल पुर्याएको छ, हामीले एकतामा आउने सबै कमरेडहरुलाई जिम्मेवारीका साथ स्वागत गर्नैपर्छ, यो हाम्रा लागि खुशीको कुरा हो ।’

दुबै पार्टीको शिर्ष नेतृत्वबिच वैचारिक सैद्धान्तिक र संगठनात्मक व्यवस्थापनको विषयमा महत्वपूर्ण सहमति भएर आज एकता घोषणा कार्यक्रम भैसकेपछि माओवादी केन्द्र नै क्रान्ति र आन्दोलनको आशाको केन्द्र रहेकोमा अध्यक्ष प्रचण्डले जोड दिदै अब माओवादी केन्द्रको योजना र कार्यक्रममा जुट्नुपर्ने धारणा राखेका थिए । उनले स्थानीय निर्वाचनको विषयमा केन्द्रीत हुँदै हाम्रो पार्टी र गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउने काममा जुट्न समेत सुझाव दिए ।

उक्त कार्यक्रममा बोल्दै एकतामा जुटेको माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकेशले कैयन विषयमा सुझाव, सल्लाह सहित आफुहरु जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने दिशामा प्रतिवद्धता सहित, नेपाली जनताको न्याय र मुक्तिको मुद्दालाई बलियोसँग अंगालेको जनताको पार्टी, नेकपा (माओवादी केन्द्र) मा एकतावद्ध भएको बताएका थिए । उनले बाहिरबाट हेर्दा जस्तो देखेपनि वास्तवमा माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको नेतृत्व बिना नेपाली क्रान्तिकारी आन्दोलन अघि बढ्न नसक्ने ठोकुवा समेत गरे ।

उनले एकताको सन्दर्भमा भएका सहमतिलाई पार्टी अध्यक्ष प्रचण्डलाई कार्यान्वयनमा लिनका लागि सुझाव दिदै, इमान्दारीता बिना क्रान्ति र नेतृत्वमा गम्भिर संकट आउने विषयमा महत्पपूर्ण कुरा राखेका थिए । त्यसको जवाफसहित पार्टीको तर्फबाट प्रतिवद्धता जनाउँदै अध्यक्ष प्रचण्डले भने–‘स्थानीय तहको निर्वाचन पछि बस्ने पहिलो केन्द्रीय कमिटिको बैठकबाट त्यो कमिटिमा आउने कमरेडको जिम्मेवारी ठोस गरिन्छ, हामी त्यो सहमति लागु गछौ । अन्य कमरेडहरुको पनि सम्बन्धीत प्रदेश, जिल्ला र जवसको बैठकबाट सहमतिका आधारमा जिम्मेवारी ठोस गरिन्छ, तपाईहरु त्यसमा निश्चिन्त हुनुहवस् र अहिले निर्वाचनको काममा खटिहाल्नुहवस् ।’

कार्यक्रममा एकतामा जुटेको माओवादी केन्द्र (क्रान्तिकारी) ले पटक पटक विभिन्न तहका नेताहरु र पछिल्लो चरण अध्यक्ष प्रचण्डसँग गरेको अन्तिम छलफलका आधारमा आफुहरु एकताको प्रकृयामा त्यसको कार्यान्वयन हुने विश्वास सहित अघि बढेको जनाउँदै माओवादी केन्द्र (क्रान्तिकारी) का स्थायी समिति सदस्य तथा युवा संगठनका अध्यक्ष सुर्यबहादुर खत्री (सुमन) ले एकताको आधारहरुबारे आफुहरुले पटक पटक गरेको छलफलका सैद्धान्तिक वैचारिक तथा संगठनात्मक एकताको पक्षहरुबारे एक पत्र सार्वजनिक रुपमा वाचन गरेका थिए ।

एकताको आधारबारे माओवादी केन्द्र (क्रान्तिकारी) ले सैद्धान्तिक वैचारिक पक्षमा एकताको प्रस्ताव र संगठनात्मक पक्षमा एकताको प्रस्ताव गरि दुई महत्पूर्ण विषयमा अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गराउँदै नेता सुमनले त्यसबारे आन्तरिक रुपमा भएका सल्लाह सहमतिहरु कार्यान्वयनमा जाने विषयमा आफुहरु विस्वस्त रहेको धारणा रामेत राखेका थिए ।, उक्त पत्रको संक्षिप्त विषय यस्तो थियो…

नेकपा माओवादी केन्द्र (क्रान्तिकारी), केन्द्रीय समिति

माओवादी एकताः समहतिका आधारहरुबारे हाम्रो प्रस्ताव (छलफलभएका विषय)
प्रस्ताव सहितको पत्र

                                                                                            मितिः २०७९ वैशाख २० गते ।
देश र जनताको न्याय, स्वतन्त्रता, विशेष अधिकार र राष्ट्रिय स्वाधिनताको आन्दोलनको मुख्य नेतृत्वकर्ता एवं महान जनयुद्धका उपलब्धी र बाँकी कार्यभार सम्पन्न गर्ने दिशाममा अघि बढेको, गौरवशाली इतिहासबोकेका जनप्रिय कम्युनिष्ट पार्टीहरु, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) बिच पार्टी एकता र क्रान्तिका कार्यभार विषयमा लामो समयदेखि चल्दै आएको सैद्धान्तिक वैचारिक छलफल, वार्ताका आधारमा हामी दुई पार्टी निम्न प्रकारको सहमति गर्दै आज मिति २०७९ साल वैशाख १६ गते शुक्रबारका दिन बाट नेकपा (माओवादी केन्द्र) मा एकिकृत भएको यसै प्रेस वक्तव्य मार्फत सगौरव सार्वजनिक गर्दछौ । जनयुद्ध र जनआन्दोलन र अन्य सबै जनन्यायीक आन्दोलन तथा जनसंघर्षबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा भैरहेको तथा प्रतिगामी शक्तिहरु मुख्यगरी माओवादी आन्दोलनका विरुद्धमा केन्द्रीत भैरहेको पछिल्लो अवस्थालाई केन्द्रमा राखेर हेर्दा मुलत क्रान्तिको कार्यभार पुरागर्नका लागि सबै विभाजित माओवादीहरुको अनिवार्य एकता हुनुपर्ने निष्कर्ष सहित हामीबिच सैद्धान्तिक वैचारिक एकरुपता÷बुझाई सहित हामी संगठनात्मक एकताको महान तथा एतिहासिक प्रकृयामा जुटेका छौं । यस प्रकृयामा हामी जुट्दै गर्दा सम्पूर्ण माओवादी शक्ति, कम्युनिष्ट तथा परिवर्तनकारी शक्ति र देशभक्त शक्ति तथा समूहसबैलाई परिवर्तनको संवाहक, अग्रदस्ता पार्टी नेकपा (माओवादी केन्द्र) मा एकिकृत, ध्रुविकृत हुनका लागि हामी हार्दिक आह्वान समेत गर्दछौं । साथै हामी बिचको राजनीतिक सहमतिको विषयलाई ढृणतापूर्वक कार्यान्वयन गर्ने विश्वाससहित प्रतिवद्धता समेत जाहेर गर्दछौं ।

(क) सैद्धान्तिक–वैचारिक पक्षको सहमतिबारे छलफल भएका विषयहरु

१) विश्व दृष्टिकोणमा माक्र्सवाद–लेनिनवाद–माओवाद प्रति प्रतिवद्ध रहदैं यसको रक्षा, प्रयोग र विकासमा ध्यान दिने । नेपाली कम्युनिष्ट आन्दोलन र जनयुद्धको समिक्षा सहित नेपाली सापेक्षतामा माक्र्र्सवादको विकासबारे अध्ययन, खोज अनुसन्धान गर्दै, जनयुद्धका प्रतिवद्धता र जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्नेदिशामा अघि बढ्ने छौ ।
२) जनताको न्यायपूर्ण आन्दोलन, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रताको पक्षमा रहँदै, जनतन्त्र, जनजीवीका र सबैप्रकारका समस्याहरुको पक्षमा आन्दोलनमा जुट्ने तथा समाधानको लागि पहल गर्नेछौं ।
३) आम नेपाली जनसमुदायको विश्वास र समग्र परिर्वतनको मुद्दा बोकेको नेपालको एकमात्र जनप्रिय कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र) को विचार, राजनीतिक कार्यदिशा, कार्यक्रम र संगठनात्मक सिद्धान्तप्रति प्रतिवद्धता जाहेर गर्दछौं ।

(ख) संगठनात्मक पक्षमा सहमतिबारे छलफल भएका विषयहरु

४) नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव कमरेड लोकेश (लोकराज जैसी) लाई स्थानीय निर्वाचनपछि बस्ने पार्टीको केन्द्रीय समितिको बैठकबाट नेकपा (माओवादी केन्द्र) को वैकल्पिक केन्द्रीय समिति सदस्यको जिम्मेवारी ठोस गर्ने र उहाँ राष्ट्रिय परिषद्को केन्द्रीय सदस्य समेत हुनेगरी जिम्मेवारी ठोस गर्ने । तत्काललाई कमरेड लोकेशलाई पार्टीको लुम्बिनी प्रदेश ईन्चार्जको मातहतमा रहनेगरी निर्वाचन अभियानमा खट्ने विषयमा कार्यविभाजन ।
५) नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) को स्थायी समितिका कमरेडहरु दुर्गा, सालिकराम, सुमन, मनराज, राजेन्द्र, दिनेश, राजेन्द्र, पोलिटव्यूरोका कमरेडहरु भिम, खगेन्द्र, जमुना, निजामअलि, गुलावचन्द्र, यज्ञ सापकोटा, इबराहम, लल्लुराम, जया बिक, दल परियार, पुनिराम, दुर्गा तिवारी र केन्द्रीय समितिका कमरेडहरु जनक विष्ट, विशाल नगरकोटी, क गणतन्त्र, विरेन्न तामाङ, सवनम सिद्दिकी, खिम थारु, गंगाराम कौध, गणेश ओढ, विशाल बुढा, हरी अधिकारी, प्रकाश नेपाली, सरुल, सकिना शाह लगाएत १५ जनालाई माओवादी केन्द्रको सम्बन्धीत प्रदेश सचिवालय सदस्य, प्रदेश सदस्य र जिल्ला कमिटिमा जिम्मेवारी दिनेबारे सैद्धान्तिक रुपमा गरिएको छलफलको आधारमा, उहाँहरुको जिम्मेवारी स्थानीय निर्वाचनपछि सम्बन्धीत प्रदेश कमिटिको कार्यालय बैठकबाट आपसि सहमतिबाट जिम्मेवारी ठोस गर्ने ।
६) नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) संबद्ध संगठन र मोर्चाहरुका पदाधिकारीहरुलाई माओवादी केन्द्रको सम्बन्धीत संगठन र मोर्चाको सचिवालय र केन्द्रीय समितिमा जिम्मेवारी दिनेबारे गरिएको सैद्धान्तिक छलफलको आधारमा सम्बन्धीत संगठन÷मोर्चाको पदाधिकारी बैठकबाट जिम्मेवारी ठोस गर्ने । त्यस्तै संगठन र मोर्चाका केन्द्रीय सदस्यहरुलाई माओवादी केन्द्र सम्बद्ध सम्बन्धीत संगठन र मोर्चाको केन्द्रीय समिति र प्रदेश सचिवालयमा राख्ने तथा प्रदेश र जिल्लालाई पनि त्यहि आधारमा जिम्मेवारी ठोस गर्ने ।
७) नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) को सल्लाहकारमा रहनुभएका कमरेडहरु गंगाराम थारु (शहीदपरिवार), नामसरा जोशी, शोभा आचार्य (शहीदपरिवार) लगाएत लाई नेकपा (माओवादी केन्द्र) को जेष्ठ नागरिक मञ्चको केन्द्रीय समितिमा जिम्मेवारी ठोस गर्ने ।
८) पार्टी एकता, समायोजन र ध्रुविकरणको लागि विभिन्न पार्टी, समूहसँग विशेष आह्वान सहित माओवादी केन्द्रलाई देश र जनताको प्रिय पार्टी बनाउन तथा स्थानिय निर्वाचनमा माओवादी केन्द्र र गठबन्धनका साँझा उम्मेदवारहरुलाई निर्वाचित बनाउन सबै कमरेडहरुलाई सम्बन्धीत जिल्ला, क्षेत्रमा पार्टीसँग जोडिएर महत्वपूर्ण भूमिका खेल्न निर्देशन समेत गर्दछौं ।
                                                 लालसलाम सहित !

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति सदस्य तथा अध्यक्ष प्रचण्डको निजि सचिवालयको जिम्मेवारीमा रहेका नेता रमेश मल्लद्धारा सञ्चालन गरिएको उक्त कार्यक्रममा माओवादी केन्द्रका नेतृ गंगा दहाल समेतको उपस्थिति रहेको थियो । कार्यक्रम आज बिहान ८ः३० बजे खुमलटारमा भएको थियो । कार्यक्रममा दर्जनौं नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि यसअघि माओवादी केन्द्र (क्रान्तिकारी) मा रहेका करिब पचास जना नेता, कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष प्रचण्डले दोसल्ला र टिकाले स्वागत गर्दै, बधाई तथा सफल राजनीतिक भविष्यको शुभकामना समेत व्यक्त गरेका थिए ।