आज ३३ औं जनआन्दोलन दिवसः माके (क्रान्तिकारी) द्धारा सुव्यवस्था प्राप्तीको संघर्षमा जुट्न अपिल ! (विज्ञप्तीसहित)

अग्रगमनकारी शक्ति र जनसमुदायमा बधाई तथा शुभकामना ज्ञापन

लोकराज जैसी (लोकेश): महासचिव माओवादी केन्द्र (क्रान्तिकारी)

काठमाण्डौं । जनआन्दोलन दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) ले जनयुद्ध र जनआन्दोलन लगाएत विभिन्न समयमा भएका जनसंघर्ष मार्फत प्राप्त भएको उपलब्धीको रक्षा गर्दै जनताको सुव्यवस्था प्राप्तीको दिशामा थप संघर्षका लागि जुट्न आवश्यक रहेको बताएको छ ।

माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले आज एक शुभकामना वक्तव्य जारी गर्दै जनआन्दोलन, जनयुद्ध र जनसंघर्षको प्रकृयाबाट आएको परिवर्तनलाई समेत संस्थागत गर्न नसकिएको वर्तमान अवस्थामा प्रतिगमनकारी शक्ति हावी भएको तर्क गर्दै जनअधिकार र सुव्यवस्थाको लागि थप संघर्षका जुट्नुपर्ने बताएका हुन् ।

महासचिव लोकेशले जारी गरेको उक्त वक्तव्यमा २०४६ र २०६३ को जनआन्दोलन, महान दश बर्षे जनयुद्ध र अन्य जनसंघर्षहरुबाट परिवर्तन आएपनि जनअपेक्षीत ढंगले त्यसको वितरण जनस्तरसम्म पुगन नसकेको बताईएको छ ।

वक्तव्यमा पछिल्लो समय प्रतिगामी शक्तिहरु हावी हुँदै गएको र शासकवर्ग जनघाती राष्ट्रघाती हर्कत दोहोर्याउँदै बढेको हुनाले अब फेरी जनताको सुव्यवस्थाका लागि अर्को संघर्षको तयारीमा जुट्नुको विकल्प नभएको औल्याइएको छ ।

वक्तव्यमा भनिएको छ–‘जनताको परिवर्तनको अपुरो चाहनालाई साकार पार्न हामी संगठित र एकतावद्ध हुनुको विकल्प छैन, जनआन्दोलनको निरन्तरतामा राजनीतिक निकासको अबको बाटो तय गरौं । सम्पूर्णमा विशेष बधाई तथा शुभकामना सहित जोडदार अपिल गर्दछौं ।’

माओवादी केन्द्र (क्रान्तिकारी) ले संघर्षका लागि पुर्न जुट्न परिवर्तनकारी शक्ति र जनसमुदायमा अपिल सहित सामन्ती निरञ्कुश शासक विरुद्ध भएका आन्दोलनमा भाग लिने सम्पूर्णमा बधाई तथा आम जनसमुदायमा शुभकामना समेत ज्ञापन गरेको छ ।

माके (क्रान्तिकारी) का महासचिव लोकेशले जनआन्दोलनको क्रममा घाईते, अपाङ्ग भएका योद्धाहरुमा सम्मान सहित शहीदहरुमा लाल सलाम व्यक्त गर्दै जनप्रेस सेनटर नेपालसँग भने–‘परिवर्तन जनताको माग हो, विद्रोह जनताको अधिकार हो, यसलाई कसैले रोकेर छेकेर सम्भव छैन । हामी संघर्षको अर्को प्रकृयामा जुट्न सम्पूर्णमा आह्वान समेत गर्दछौं ।’ वक्तव्यको पूर्णपाठ यस्तो छ….

नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) केन्द्रीय समिति

आज ३३ औं जनआन्दोलन दिवसः सुव्यवस्था प्राप्तीको संघर्षमा जुट्न अपिल !

  आज नेपाली राजनीतिक आन्दोलनको एक विशेष र ऐतिहासिक दिन अर्थात जनआन्दोलन दिवस हो । जनविरोधी निरञ्कुश सत्ताँ र शासकहरुको हर्कत विरुद्ध विद्रोहको रुपमा देशव्यापी आन्दोलन मार्फत अधिकार प्राप्त भएको दिनको सम्झनामा हरेक बर्ष चैत्र २४ गते जनआन्दोलन दिवस विशेष कार्यक्रम गरि मनाउने गरिन्छ । हामी ३३ औं जनआन्दोलन दिवसको सन्दर्भमा आजको दिनले एकात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्थाको चिहानका रुपमा रहेको वर्तमान संसदवाद र जनघाती राष्ट्रघाती शासकहरु विरुद्ध अर्को नयाँ विद्रोहको तयारीमा जुट्न दिशानिर्देश गरेको छ । मुलुकमा २०४६ सालको जनआन्दोलन पछि २०५२को महान दशबर्षे जनयुद्ध र त्यसको बलमा २०६२ को दोश्रो जनआन्दोलनले सामन्ती सत्ताँ फालेपनि त्यसको प्रतिगमनको अवस्था हावी हुँदै गएको र दलाल शासकहरुले जनविरोधी कृयाकलाप जारी राखेको हुनाले हाम्रो महान, गौरवशाली तथा जनप्रिय पार्टी नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) यो ३३ औं जनआन्दोलन दिवसको सन्दर्भमा आम जनन्योचित व्यवस्थाको लागि संघर्षरत राजनीतिक दलहरु, देशभक्त प्रगतिशिल समूह तथा आमजनसमुदायमा सुव्यवस्था प्राप्तीको लागि निरन्तर संघर्षमा एकतावद्ध भएर जुट्न हार्दिक अपिल गर्दछ । साथै यस अवशरमा न्यायको संघर्षमा जुटिरहेका राजनीतिक शक्ति र आम जनसमुदायमा हामी हार्दिक शुभकामना समेत व्यक्त गर्दछौं ।

     ३० बर्षे निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध तत्कालीन वाममोर्चा र कांग्रेसले आजकै दिन अर्थात २०४६ चैत्र २४ गते पहिलो जनआन्दोलनको उद्घोष गरेको थियो । त्यसले ३० बर्षे निर्दलीय पञ्चायती शासकलाई ठेगान लगाएको थियो र तत्कालिन राज्यशासक विरेन्द्र शाहले चैत्र २६ गते आन्दोलनरत पक्षसँग सम्झौता गरेर बहुदलको आफैले घोषणा गरेका थिए । ०४६ को आन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता दिलाएको थियो । त्यस्तै नेपाली राजनीतिक संघर्षको यात्रामा दोश्रो जनआन्दोलनको रुपमा २०६२ लाई समेत अत्यन्त महत्वपूर्ण र ऐतिहासिक रुपमा लिइन्छ । ज्ञानेद्र शाहले तत्कालिन बहुलदलीय प्रणाली भत्काउँदै आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेर निरञ्कुशतावादी कदम चालेपछि, मुलुकको आमुल परिवर्तनको मुद्दा बोकेर सशस्त्र संघर्षरत तत्कालिन नेकपा (माओवादी) र विभिन्न ७ राजनीतिक दलहरुबिचको सहकार्यको वातावरण बनेको थियो । ज्ञानेन्द्र शाहको प्रतिगमनकारी कदम विरुद्ध राजनीतिक दलहरु एक भएर चैत्र २४ गतेबाट निरन्तर देशव्यापी आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला माओवादी र सातदल बिच आन्दोलनको विषयमा सहमति भएपनि माओवादीले चैत्र (२४–२६) र त्यसको निरन्तरतामा चैत्र २६ देखि सातदल सहित जनआन्दोलनमा उत्रिएको थियो । त्यसले २ सय ४० बर्षदेखि एकछत्र नेपाली जनतामाथि अन्यायपूर्वक राज गर्दै आएको एकात्मक राजतन्त्र ध्वस्त गर्दै, २०६३ वैशाख ११ गते राजकीय सत्ताँ जनतालाई फर्काउन सफलता पाएको थियो । त्यसले मुलुकमा उथलपुथलकारी परिवर्तन ल्यायो र त्यसमा सबै दलहरुलाई सहमत बनायो । मुलुकमा राजतन्त्र फालियो, गणतन्त्र आयो, एकात्म राज्य ध्वस्त भयो, संघीयता आयो, धार्मिक राज्यको प्रश्नमा धर्मनिरपेक्ष राष्ट्र बन्यो । नागरिकको मौलिक हक, अधिकार प्रापत भए र मुलुकमा जनताको संविधान बन्यो । समानुपातिक, समावेशी र उत्पीडित वर्ग समुदायको विशेष हकको अवस्था सुनिश्चित गरियो ।

     तर जनताको अपेक्षा अनुसारको राज्यप्रणाली अझै कार्यान्वयनमा आउन नसकेको भन्दै दुबै जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै जनअपेक्षित सुव्यवस्थाका लागि अर्को विद्रोहको पक्षमा राजनीतिक दलहरु संघर्षरत छन् । यतिबेला हामी जनआन्दोलन र जनक्रान्तिको क्रममा घाईते, अपाङ्ग, बेपत्ताँ भएका योद्धाहरुमा सम्झना र सम्मान सहित शहीदहरुमा लाल सलाम व्यक्त गर्दछौं । सामाजिक सुव्यवस्था प्राप्तीको आन्दोलनका लागि हामी सबै राजनीतिक दलहरु, देशभक्त, प्रगतिशिल वामपन्थी शक्ति र आम जनसमुदायहरु पुर्न एकतावद्ध हुन यो दिनले संन्देश दिएको छ । जनताको परिवर्तनको अपुरो चाहनालाई साकार पार्न हामी संगठित र एकतावद्ध हुनुको विकल्प छैन, जनआन्दोलनको निरन्तरतामा राजनीतिक निकासको अबको बाटो तय गरौं । सम्पूर्णमा विशेष बधाई तथा शुभकामना सहित जोडदार अपिल गर्दछौं । लालसलाम सहित ।

मितिः २०७८ चैत्र २४ ।

….
क. लोकेश
महासचिव
नेकपा माओवादी केन्द्र (क्रान्तिकारी)
केन्द्रीय समिति