जनप्रेस सेन्टर नेपालद्धारा पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा शुभकामना ज्ञापन (वक्तव्यसहित)
निर्भयताका साथ कलम चलाउन आग्रह
काठमाण्डौं । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा जनप्रेस सेन्टर नेपालले देश, जनता र आम श्रमजीवी कलमजीवी वर्गको हक, अधिकार, स्वतन्त्रताको आन्दोलनलाई निर्णयक बनाउँने प्रेरणा मिलोस् भन्दै देश तथा विदेशमा रहेका नेपाली पत्रकार, सञ्चारकर्मिहरुमा बधाई सहित शुभकामना व्यक्त गरेको छ । जनप्रेस सेन्टर नेपाल नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) निकटको पत्रकार संगठन हो ।
जनप्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष मनराज कठायत र महासचिव भिमबहादुर बिकले संयुक्त हस्ताक्षरमा आज महासंघको स्थापना दिवसको सन्दर्भमा त्यस्तो शुभकामना वक्तव्य जारी गरेका हुन । जनप्रेस सेन्टर नेपालद्धारा जारी उक्त वक्तव्यमा नेपाली पत्रकारीता र पत्रकार महासंघ देश, जनता र श्रमजीवी, कलमजीवी वर्गको न्यायका र स्वतन्त्रताका पक्षमा जिम्मेवार भूमिकामा रहेको औल्याइएको छ ।
उक्त वक्तव्यमा भनिएको छ–‘हाम्रो महासंघले आम श्रमजीवी, कलमजीवीहरुका साथै नागरिक हक, अधिकारको पक्षमा समेत जिम्मेवार संघर्षको नेतृत्व गर्दै आएको छ । त्यतिमात्र नभै मुलुकको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षार्थ निरन्तर सचेतना फैलाउनेदेखि आवश्यक पर्दा आन्दोलनको नेतृत्व समेत गर्दै आएको छ, । महासंघले आफ्नो पेशागत सुरक्षा र अधिकारका साथै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका तमाम समस्याहरुलाई औल्याउँदै समाधानका लागि राज्यपक्षलाई जिम्मेवार बन्न दवाव समेत सिर्जना गर्दै आएको छ । यसर्थ यो संस्था नेपाली परिवर्तनकारी इतिहासमा एक जिम्मेवार आन्दोलनको मोर्चाको रुपमा स्थापित बनेको छ । अतः हाम्रो महासंघ जनताको परिवर्तन, सामाजिक सुव्यवस्था र जनन्यायोचित व्यवस्थाको पक्षमा निरन्तर खबदारी गर्ने, देशको पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था समेत हो ।’
महासंघ र अन्य पत्रकार सम्बद्ध संघ संगठनहरुले उठाउँदै आएका मुद्दामा राज्य निकाय जिम्मेवार ढंगले अघि नबढेको बताउँदै जनप्रेस सेन्टर नेपालले वर्तमान सरकार र राज्यसँग आम सञ्चार जगतको विकासका साथै श्रमजीवी पत्रकारहरुको हक, अधिकारको पक्षमा जिम्मेवार बन्नु आग्रह गरेको छ ।
जनप्रेस सेन्टर नेपालले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कार्यान्वयनको माग समेत अघि सारको छ । बाँकी वक्तव्यको पूर्णपाठ यस्तो छ…..
जनप्रेस सेन्टर नेपाल, केन्द्रीय समिति
शुभकामना वक्तव्यः महासंघको ६७ औं बर्षप्रवेशको सुखत अवसर !
हामी सबैं पत्रकार सम्बद्ध संघ संगठनहरु र आमश्रमजीवी पत्रकारहरुको साँझा संस्था, नेपाल पत्रकार महासंघ आफ्नो स्थापनाको आज गौरवपूर्ण ६७ औं बर्षमा प्रवेश गरेको छ । तसर्थ आम नेपाली पत्रकारहरुको लागि आज विशेष हर्षको दिन समेत हो । पत्रकार महासंघ नेपालको परिवर्तकारी आन्दोलनमा एक अगुवा र नेतृत्वदायी संस्थाको रुपमा इतिहासवद्ध छ । हाम्रो महासंघले आम श्रमजीवी, कलमजीवीहरुका साथै नागरिक हक, अधिकारको पक्षमा समेत जिम्मेवार संघर्षको नेतृत्व गर्दै आएको छ । त्यतिमात्र नभै मुलुकको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षार्थ निरन्तर सचेतना फैलाउनेदेखि आवश्यक पर्दा आन्दोलनको नेतृत्व समेत गर्दै आएको छ, । महासंघले आफ्नो पेशागत सुरक्षा र अधिकारका साथै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका तमाम समस्याहरुलाई औल्याउँदै समाधानका लागि राज्यपक्षलाई जिम्मेवार बन्न दवाव समेत सिर्जना गर्दै आएको छ । यसर्थ यो संस्था नेपाली परिवर्तनकारी इतिहासमा एक जिम्मेवार आन्दोलनको मोर्चाको रुपमा स्थापित बनेको छ । अतः हाम्रो महासंघ जनताको परिवर्तन, सामाजिक सुव्यवस्था र जनन्यायोचित व्यवस्थाको पक्षमा निरन्तर खबदारी गर्ने, देशको पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था समेत हो ।
पछिल्लो चरण विश्ववयापी रुपमा फैलिएको कोराना महामारीका कारण पत्रकारीता क्षेत्रलाई समेत नराम्ररी प्रभावित पार्यो । कोरोनाबाट प्रभावित पत्रकार र संस्थाहरुको गिर्दो अवस्था, पत्रकारहरुको भौतिक सुरक्षा, सूचनाको हक, न्यूनतम पारिश्रमिक ऐनको कार्यान्वयन लागु नहुनु, मालिक र श्रमिक बिचको विभेद, विभिन्न पक्षबाट आउने धम्की, त्रासको अवस्था र उत्तम वैज्ञानीक प्रविधि तथा अनुसन्धानमूलन पत्रकारीताको विकासका पक्षमा राज्य निकाय जिम्मेवार भूमिका निर्वाह गर्न चुकिरहेको तितो यथार्थ समेत हाम्रो अगाडी प्रष्ट देखिएको छ । लामो समयदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हामी विभिन्न संघ संगठनहरुका साथै महासघले उठाउँदै आएको मुद्दालाई राज्य स्तरबाट अझै पूर्णतया कार्यान्वयन नगरिनुले वर्तमान व्यवस्था र सरकारको नीतिप्रति गम्भिर प्रश्न समेत खडा भएको छ ।
हाम्रो संगठन ‘जनप्रेस सेन्टर नेपाल’ आमनागरिकको परिवर्तनकारी चाहना र संञ्चार सम्बद्ध श्रमजीवी, पत्रकारहरुको हक, अधिकार प्राप्तीको आवाजलाई सम्बोधन गर्ने भन्दा दमन गर्ने ढंगले पछिल्लो समय प्रस्तुत भैरहेको देखिन्छ । राज्यले मिडिया सम्बन्धी विभिन्न ऐन, कानुन बनाउने नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने संकेतहरु समेत देखिदै आएका छन्, यसले राज्यको चरित्रलाई उजागर गरेको हाम्रो ठहर छ । मिडियाको स्वतन्त्रताको हकको दुरुपयोग हटाउनका लागि क्षमताअभिवृद्धी तथा सवलिकरण तालिम लगाएतको पक्षमा राज्यले ध्यान दिन आवश्यक देखिन्छ । यि तमाम विषयमा संघ संगठनका साथै महासंघ निरन्तर आवाज उठाउँदै आइरहेको छ ।
साना लगानीका स्वरोजगारमूलक मिडियाहरुको संरक्षण, संञ्चारमाध्यमहरुको प्रवर्धन, आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण निकायको स्थापना, प्रेस काउन्सिल पुनर्संरचना, समानुपातिक विज्ञापन प्रणालीको कार्यान्वयन, श्रमजीवी पत्रकार कल्याण कोषको व्यवस्था कार्यान्वयन, पत्रकारहरुका लागि दुर्घटना तथा स्वास्थ्य बिमा, निशुल्क र सहुलितय उपचार, यातायात लगाएतका क्षेत्रमा सुविधा, जेष्ठ तथा अशक्त पत्रकारहरुलाई जीवन निर्वाह भत्ताँ, र आमसञ्चार विकास कोषको स्थापना लगाएतका मागहरु महासंघले राज्य समक्ष उठाउँदै आएको भएपनि कार्यान्वयन हुन सकेको छैन, हाम्रो संगठन सबै न्यायोचित मागहरको यथाशक्य कार्यान्वयन गर्नका लागि राज्यसँग जोडदार माग समेत गर्दछ ।
हामी महासंघको यो गौरवपूर्ण तथा एतिहासिक ६७ औं बर्षप्रवेशको सुखत अवसरमा देश र पत्रकारीता जगतको हक, अधिकार प्राप्तीको आन्दोलनका क्रममा उच्च सहादत हुने महान शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइते, अपाङ्ग र वेपत्ता परेका योद्धा पत्रकारहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौं । साथै यो दिनले हामीलाई देश, जनता र आम श्रमजीवी, कलमजीवी वर्गको अधिकारको पक्षमा अझ निर्भयताका सार्थ आफ्नो भूमिका निर्वाह गर्ने उच्च मनोबल समेत बढाउने विश्वास गर्दै, देश तथा विदेशमा रहनुभएका सबै पत्रकार, सञ्चारकर्मि तथा श्रमजीवी मित्रहरुमा हाम्रो संगठन ‘जनप्रेस सेन्टर नेपाल’ केन्द्रीय समितिको तर्फबाट यस अवसरमा धन्यवाद सहित शुभकामना व्यक्त गर्दछ । साथै हामी देश, जनता र श्रमजीवी कमलजीवीहरुको पक्षमा निरन्तर आफ्नो भूमिका निर्वाह गर्नका लागि सम्पूर्ण पत्रकार मित्रहरुमा हार्दिक अपिल समेत गर्दछौं । धन्यवाद ।
मितिः२०७८ चैत्र १६ गते ।
भिमबहादुर बिक मनराज कठायत
महासचिव अध्यक्ष
जनप्रेस सेन्टर नेपाल, केन्द्रीय समिति जनप्रेस सेन्टर नेपाल, केन्द्रीय समिति