माके (क्रान्तिकारी) र माओवादी केन्द्रबिच माओवादी एकता अनिवार्यतामा जोडः एकताका आधारबारे गम्भिर छलफल

क्रान्तिका कार्यभार पुरागर्न क्रान्तिकारी पार्टी निमार्णमा सुझाव

काठमाण्डौं । राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दामा संघर्षमा रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) र सत्ताँरुढ नेकपा (माओवादी केन्द्र) बिच ‘माओवादी एकता अनिवार्यताः बाम कम्युनिष्ट एकता आजको आवश्यकता’ का विषयमा गम्भिर छलफल भएको छ ।

माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) बिच आज साझँ दहाल निवास खुमलटारमा उक्त छलफल भएको हो ।

दुई पार्टीका शिर्ष नेताहरुले छलफलको क्रममा माओवादी शक्तिको विभाजनले जनयुद्धबाट प्राप्त उपलब्धीहरु समेत गुम्नसक्ने खतरा उत्पन्न भएको र मुलुक फेरी प्रतिगमनको दिशातिर जान सक्ने अवसथा आएको निष्कर्ष निकाल्दै विभाजित माओवादी शक्तिहरु एक हुनुपर्नेमा जोड दिएका हुन ।

दुई पार्टीका शिर्ष नेताहरुको बिचमा करिब डेढ घण्टा लामो छलफल भएको भएको थियो । छलफलको क्रममा पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी शक्तिको विभाजनको कारणले प्रतिक्रियावादी शक्तिहरुसँगको लडाईमा अपेक्षित जित हासिल गर्न नसकिएपनि आफ्नो पार्टीले निरन्तर जनताको न्यायोचित मुद्दाहरु पुरा गर्न संघर्ष गरिरहेको बताए ।

उनले भने–‘हाम्रो पार्टी जनयुद्ध, जनआन्दोलन र जनताको न्यायका लागि गरिएका सबै आन्दोलनहरुबाट प्राप्त उपलब्धीको रक्षा गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्ने दिशामा अहिले पनि संघर्षमै छ । अरुले बाहिरबाट भने जस्तो हामीले जनताको मुद्दा छोडेको वा आन्दोलनबाट भागेको भन्ने सत्य होइन, हामी संघर्षको फरक प्रकृयामा अघि बढेको कुरा धेरैले बुझ्न सकेका छैनन् ।’

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र (क्रान्तिकारी) ले पछिल्लो चरण जसरी विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट, छलफल र बलियो आन्दोलनको शक्ति निमार्णको लागि पहल गरिरहेको छ, त्यो असाध्यै राम्रो भएको टिप्पणी गर्दै त्यसलाई आफुले सकारात्म रुपमा लिएको बताए ।

उनले भने–‘जसरी माओवादी आन्दोलनमा विभाजन आयो, त्यसले मुलत देशीविदेशी प्रतिगामी शक्तिलाई बल पुग्न गयो । यदि माओवादी आन्दोलन सिङ्गो अवस्थामा रहन्थ्यो भने अहिलेसम्म हामीले जनवादी क्रान्तिका बाँकी कार्यभारहरु धेरै हदसम्म पुरा गरिसक्ने अवस्था रहन्थ्यो, तर हाम्रा कमरेडहरुले बुझेनन् र क्रान्तिकारी आन्दोलन कमजोर बन्न पुगेको छ ।’

उनले माओवादी केन्द्र (क्रान्तिकारी) ले छलफलको विषयका रुपमा उठान गरेका सबै विषय मुलत नेपाली जनताको हक, अधिकार र न्यायका पक्षमा रहेको तथा त्यसले प्रगतिशिल तथा कम्युनिष्ट शक्तिहरुको एकतामा जोड दिएको हुनाले त्यसलाई आफ्नो पार्टीले हार्दिकतापूर्वक स्वागत गर्ने विश्वास दिलाए । उनले हिजोका दिनमा कतिपय अवस्थामा कमिकमजोरीहरु भएको हुन सक्ने भन्दै पुनः एक पटक समिक्षा गरेर, विशेष गरी माओवादी शक्तिहरु र कम्युनिष्टहरु एकताबद्ध हुँदै समाजवादको बाटोमा अघि बढ्नुको विकल्प नरहेको बताए ।

उनले पार्टीको विचार मिल्नेहरुसँग तत्काल एकता र अग्रगामी शक्तिहरुसँग लामो सहकार्य गर्दै जनयुद्धमा आफुहरुले उठान गरेका सबै राजनीतिक मुद्दाहरु पुरा गर्ने प्रतिवद्धता जनाए । उनले माओवादी केन्द्र (क्रान्तिकारी) लगाएतका माओवादी सम्बद्ध राजनीतिक दलहरुलाई एकताका लागि आह्वान गर्दै भने–‘हामी सबै मिलेर अघि बढ्नुपर्ने अवस्था आएको छ, सबै माओवादी र प्रगतिशिल कम्युनिष्ट शक्तिहरुसँग हामी राजनीतिक सैद्धान्तिक वैचारिक छलफल सहित एकताको लागि आह्वान गर्दछौं । सबै जुटेर मात्र जनयुद्धका सबै राजनीतिक मुद्दाहरु पुरा गर्न सकिन्छ ।’

उक्त भेटघाटको क्रममा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले मुलत माओवादी आन्दोलनमा २०६९ को विभाजन सैद्धान्तिक वैचारिक हिसावले ठिक भएपनि त्यसले मुख्यगरी माओवादी शक्तिलाई नै कमजोर बनाएको कारण सत्ताँरुढ माओवादी र सडकमा आन्दोलनरत माओवादी सबै कमजोर अवस्थामै खुम्चिने परिस्थिति सिर्जना भएको बताए ।

माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकेशले आन्दोलनको विभाजनले विद्रोहको बाटोमा रहेको शक्तिले क्रान्तिकारी आशावाद समेत जोगाउँन नसकेको र सत्ताँमा रहेको शक्तिले समेत हिजोको क्रान्तिको आधारभुत वर्ग, उत्पीडित जनसमुदाय, शहीद, घाइते, अपाङ्ग, बेपत्ता परिवारको मन जित्नेगरी काम गर्न नसकेको अवस्था औल्याउँदै त्यसले पुर्न एकपटक जनयुद्ध र जनआन्दोलनको समग्र समिक्षा सहित एकतावद्ध हुन निर्देशित गरेको बताए ।

महासचिव लोकेशले जनयुद्धको क्रममा जनतासँग गरेका प्रतिवद्धताहरु पुरा गर्नका लागि एकताबद्ध हुन नचाहने शक्ति वास्तवमा माओवादी विरोध र जनताको आन्दोलनको अपराधी हुने भन्दै पुराना पुस्ताका नेताहरुलाई एकताका लागि सचेत बताएका थिए । उनले माओवादी एकताको पक्षमा प्रचण्ड, बैद्य, विप्लव सबैले एक पटक आ–आफ्नो अडान छाडेर आन्दोलनलाई केन्द्रमा राख्दै जुट्न पहल गर्नुपर्छ, त्यो कुनैपनि हालतमा हुनैपर्ने धारणा राखे ।

उनले माओवादी एकताको अनिवार्यतामा जोड दिदै भने–‘हामीले केका लागि जनयुद्ध गरेका थियौं, के कति उपलब्धी वा क्षति भयो, र अबको क्रान्तिको मोडेल कस्तो हुनुपर्छ भन्ने कुरामा सबै विभाजित माओवादी शक्तिहरु एक ठाउँमा आएर गम्भिर सैद्धान्तिक, वैचारिक छलफल गर्न जुट्नुपर्छ । नमिलेको कुरालाई तन्काउने होइन, त्यसलाई सुधारेर क्रान्तिकारी कार्यदिशा अनुसार अघि बढ्ने कुरामा सबै सहमत हुनैपर्छ ।’

महासचिव लोकेशले मुलभूत कुरा विचार राजनीति भएकाले एकताको लागि वहस त्यहाँ केन्द्रीत गर्दै विचारसहितको नेतृत्वको विधिमा जाँदा सहज हुने भन्दै अग्रज माओवादी नेताहरुलाई सुझाव समेत दिए । उनले शत्ताँरुढ माओवादी शक्ति प्रतिक्रियावादमा बदलिएको र क्रान्तिकारी शक्तिभित्र समेत सुधारवादी अराजकता विकास भएका कारण पार्टीका इमान्दार नेता, कार्यकर्ता र आमजनसमुदाय निरासाले घेरीएको बताए ।

उनले जनतामा क्रान्तिकारी आशावाद ल्याउनका लागि आफ्नो पार्टीले क्रान्तिकारी विचार सहितको एकतालाई मुख्य रुपमा उठान गरेको बताए । उनले कतिपय नेताका वरिपरि रहेका मानिसहरुले आफ्नो भाग गुम्ने डरले समेत क्रान्तिकारी एकताको पहललाई प्रभावित पार्ने गरेको संकेत गर्दै भने–‘क्रान्तिको नियमको कुरा हो, समाजमा अन्तरविरोध र वर्ग संघर्ष रहेसम्म त्यो प्रकृया जारी रहन्छ । जस्ले हाम्रो आग्रह, वस्तुगत अवस्थाको आन्दोलनको माग तथा क्रान्तिकारी एकताको सवाललाई आफ्नो पद प्रतिष्ठानको कारण खुम्च्याउने हर्कत गर्छन, समयले त्यसको जतिलो फवाफ दिने छ ।’

महासचिव लोकेशले जनयुद्धको प्रकृयामा माओवादी शक्ति र प्रचण्ड नेतृत्वको संगठनलाई मजाक सोचने राजनीतिक दल र नेताहरुले पछिल्लो चरण जसरी स्विकार गर्ने जबरजस्त वातावरण विकसित भयो, फेरी त्यो अवस्थालाई फर्केर हेर्न र त्यसबाट पाठ सिक्न आवश्यक रहेको धारणा राखे । उनले जनयुद्धको सिङ्गो माओवादी एकता गर्न असफलताको आफुहरुले नेतृत्वलाई जवाफ मागेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।

उनले क्रान्तिबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दे नौलों जनवादी क्रान्तिको निरन्तरतामा बाँकी कार्यभार सम्पन्न गर्ने दिशामा आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउँदै, मालेमावादी मार्गदर्शक सिद्धान्त, जनवादी क्रान्तिको कार्यदिशा, साम्यवादी लक्ष्य, सशस्त्र जनविद्रोहको रणनीतिक कार्यनीति, सडक आन्दोलनको तत्कालिन कार्यनीति र वैज्ञानिक समाजवादको कार्यक्रममा सहमत हुने सबैलाई एकताको लागि आह्वान समेत गरे ।

उनले भने–‘क्रान्तिकारी आन्दोलनको निरन्तरतालाई केन्द्रमा राखेर उभिने सबै सँग हाम्रो सहकार्य र एकताको अवस्था हुन सक्छ, तर एकताको नाममा जनतामाथि झुट, आन्दोलनमा गद्दारी र विचारमा स्खलन गरेर त्यहि नेतृत्वलाई पूजा गरेर अघि बढ्न सकिन्न । त्यसको विकल्पमा प्रगतिशिल, बामपन्थी शक्तिहरुबिच सहकार्य, एकता र आन्दोलनको मोर्चा निमार्णको अभ्यास गर्न सकिन्छ ।’

छलफलको क्रममा दुर्य पार्टीका नेताहरुबिच माओवादी आन्दोलनका विभिन्न अवस्थाको बारेमा गम्भिर छलफल भएको थियो । उक्त विषयमा पुर्न छलफल जारी राख्ने सहमति गर्दै छलफलबाट नेताहरु बाहिरीएका थिए । उक्त छलफल माओवादी केन्द्र (क्रान्तिकारी) ले पार्टीको कार्यक्रमिक निर्णय अनुसार लामो समयदेखि विभिन्न कम्युनिष्ट पार्टी, समुह र प्रगतिशिल शक्तिहरुबिच चलाउँदै आएको छलफलको निरन्तरतामा भएको माओवादी केन्द्र (क्रान्तिकारी) ले आफ्नो फेसबुक पेज मार्फत धारणा सार्वजनिक गरेको छ ।

माओवादी केन्द्र (क्रान्तिकारी) ले ‘माओवादी एकता अनिवार्यताः बाम कम्युनिष्ट एकता आजको आवश्यकता’ विषयमा यसअघि बैद्य नेतृत्वको (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको (नेकपा), आहुती नेतृत्वको (वैज्ञानीक समाजवादी), ऋषिकट्टेल नेतृत्वको (नेकपा), नेकपा (मसाल), नेकपा (माले), नेकपा (एमाले), नेकपा (एकिकृत समाजवादी) लगाउत सँगै छलफल गरिसकेको छ ।

उक्त छलफलको क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य गंगा दहाल, रमेश मल्ल तथा माओवादी केन्द्र (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जनप्रेस सेन्टर नेपालका अध्यक्ष मनराज कठायत, केन्द्रीय सदस्य खड्ग बहादुर केसी (आकाश) लगाएतका नेताहरुको समेत उपस्थििति रहेको थियो ।