माके (क्रान्तिकारी) र एमाले बिच वर्तमान राजनीतिक अवस्था र वृहत कम्युनिष्ट एकताको आवश्यकताबारे गम्भिर छलफल

राष्ट्रिय स्वाधिनताका लागि कम्युनिष्ट आन्दोलनको सुद्धिकरणमा जोड

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) र नेकपा (एमाले) बिच वर्तमान राजनीतिक अवस्था र वृहत कम्युनिष्ट एकताको आवश्यकता तथा त्यसका सैद्धान्तिक, वैचारिक आधारहरुबारे गम्भिर छलफल भएको छ ।

माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) र पूर्वप्रधानमन्त्री समेत रहेका, एमाले अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीबिच आईबार साँझ उक्त छलफल भएको हो ।

उक्त भेटवार्ताबारे माओवादी केन्द्र (क्रान्तिकारी) ले आफ्नो फेसबुक पेज मार्फत जानकारी सार्वजनिक गरेको हो । ओली निवास भक्तपुर (बालकोट) मा वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय स्वाधिनतामाथिको खतरा, जनताको जनजिवनमा देखिएका समस्याहरु तथा त्यसमा नेपालका कम्युनिष्ट नामधारी पार्टी÷समूहहरुले खेलिरहेको भूमिका लगाएतका तमाम विषयमा दुईपार्टी बिच करिब डेढ घण्टा लामो सौहार्दपूर्ण छलफल भएको बताइएको छ ।

उक्त छलफललाई माओवादी केन्द्र (क्रान्तिकारी) ले आफ्नो पार्टीको कार्यक्रमिक निर्णय अनुसार भएको बताएको छ । माओवादी केन्द्र (क्रान्तिकारी) ले लामो समयदेखि विभिन्न नामका कम्युनिष्ट पार्टीहरुसँग ‘माओवादी एकता अनिवार्यताः कम्युनिष्ट एकता आजको आवश्यकता’ विषयमा छलफल, वहस चलाउँदै आएको छ ।

त्यस सन्दर्भमा माओवादी केन्द्र (क्रान्तिकारी) ले बताएको छ–‘हामी वर्तमान व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ कम्युनिष्ट पार्टीहरुबिचको वृहत एकता र सुढृण तथा संगठित आन्दोलनको विकास गर्नुपर्नेमा जोड दिदैं, त्यसको तयारी र जटिलताबारे धारणा बनाउन पछिल्लो पटक यस प्रकारको छलफल, भेटवार्तामा जुटिरहेको विषय सम्पूर्णमा सर्वविदितै छ, त्यसैक्रममा आज नेकपा एमालेका अध्यक्ष कमरेड केपीओली सँग समेत विविध विषयमा छलफल भएको हो ।’

छलफलको क्रममा एमाले अध्यक्ष ओलीले उक्त भेटवार्ताले कम्युनिष्ट आन्दोलनमा नयाँ गति विकास गर्ने विश्वास व्यक्त गर्दै युवा पुस्ताले नेतृत्व गरेको कम्युनिष्ट पार्टीहरुले खेलिरहेको भूमिका गतिशिल रहेको र त्यसले सामाजिक सुव्यवस्था प्राप्तीको दिशामा अघि बढ्न वृहत कम्युनिष्ट एकता आवश्यक छ भन्ने राम्रो सन्देसं दिएको भन्दै खुशी व्यक्त गरेका थिए ।

उनले सामाजिक सुव्यवस्था, राष्ट्रिय स्वाधिनता, जनताको जनजिवनका समस्याहरुको हल गर्नका लागि देशभक्त, प्रगतिशिल तथा कम्युनिष्ट शक्तिहरु बिचको बलियो एकता आवश्यक हुने भएपनि त्यसमा कतिपय कम्युनिष्ट पार्टीहरु गम्भिर नहुँदा मुलुक अस्तव्यस्त अवस्थामा गुज्रिरहेको बताएका थिए ।

उनले आफ्नो सरकारको पालामा देशको विकास र संवृद्धीको पक्षमा महत्वपूर्ण कामहरु, योजनाहरु अघि बढेको भएपनि त्यसलाई पछिल्लो सरकारले निरन्तरता दिन नसकेको भन्दै वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नचाहेको विषय प्रष्ट देखिएको तर्क गरे । उनले सैद्धान्तिक वैचारिक एकरुपता सहित कम्युनिष्ट शक्तिहरु एक भएर समुन्नत समाजको निमार्णका लागि जुट्नुपर्ने भन्दै त्यसका लागि आफ्नो पार्टीले पहल गरिरहेको समेत बताएका थिए ।

उक्त छलफलको क्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले अहिले हरेक क्षेत्रमा समस्या, भ्रष्टाचार, नागरिकको आक्रोश बढिरहेको भन्दै त्यसको निष्कर्षमा वर्तमान व्यवस्थाको असफलतालाई आफुहरुले लिएको धारणा राखेका थिए ।

महासचिव लोकेशले संसदीय व्यवस्थामा पनि सबैतिर ब्यतिथि, भ्रष्टाचार, जनघात, राष्ट्रघात नगरिएको भए जनतामा वर्तमान संसदीय व्यवस्था प्रतिको वितृष्णता र आक्रोश अहिलेको गतिमा बढ्ने अवस्था नहुँने बताउँदै, जनघाती, राष्ट्रघाती स्वदेशी शासकहरु र विदेशी शक्तिकेन्द्रबाट परिचालित दलालहरुका कारण अहिले जनताहरु वर्तमान व्यवस्थाको विल्पमा सडकमा उत्रिने अवस्था आएको र त्यो ठिक रहेको धारणा राखेका थिए ।

उनले तत्कालिन माओवादी पार्टीको नेतृत्वमा भएको महान जनयुद्ध र त्यसले जनतामा बढाएको विश्वासमाथि तत्कालिन मुल नेतृत्वबाट धोका भएपछि पुर्न जनताको न्यायोचित आन्दोलनको झण्डा उठाउने प्रतिज्ञा गरेर अघि बढेका पार्टीहरुमा समेत त्यो अपेक्षित अवस्था नदेखिएपछि सामाजिक परिवर्तनको सपना देखेका न्यायप्रेमि जनसमुदायको पक्षमा इमान्दारीताका साथ आन्दोलनको तयारीमा जुट्न आफ्नो पार्टी स्थापना भएको प्रष्ट पारेका थिए।

उनले आफ्नो पार्टीले लामो समयदेखि वृहत कम्युनिष्ट एकता बिना तत्कालिन अवस्थामा निर्णायक आन्दोलनमा पुग्न नसकिने ठहर गर्दै क्रान्तिकारी एकता, कार्यक्रममा सहकार्य तथा आन्दोलनको विशाल कम्युनिष्ट मोर्चा निर्माणका विषयमा सबै कम्युनिष्ट पार्टी तथा देशभक्त, प्रगतिशिल शक्तिहरुबिच छलफल वहस चलाउँदै आएको कुरा राखेका थिए । उनले पछिल्लो अवस्थामा राष्ट्रिय स्वाधिनता गम्भिर संकटमा रहेको र कम्युनिष्ट पार्टीहरु त्यसमा जिम्मेवार नदेखिएको तर्क गर्दै त्यसले कम्युनिष्ट आन्दोलनमा सुद्धिकरणको संन्देस दिएको बताए ।

मुलुकको राष्ट्रियता, जनजीवीका, जनतन्त्रमा समस्या जसरी बढ्दै गएको छ, त्यसले सच्चा देशभक्त र कम्युनिष्ट शक्तिबिच सामुहीक स्वार्थलाई केन्द्रमा राखेर वृहत कम्युनिष्ट एकता प्रकृयालाई गतिशिल बनाउनुपर्ने आवश्यकता समेत दर्शाएको उनले बताएका थिए । उनले वर्तमान नेपाली सामाजिक रुपान्तरण आन्दोलनको लागी देशभक्त, बामपन्थि एवं कम्युनिष्ट शक्तिहरूबिच बलियो एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

उनले आन्दोलनको कार्यभार पुरागर्न वृहत कम्युनिष्ट एकतामा जोडदिदै सहकार्यका लागि कम्युनिष्ट मोर्चा निर्माणमा सबै दलहरू जुट्नुपर्ने र विशेषत पुरानो पुस्ताका, पाका कम्युनिष्ट नेताहरुले त्यसको नेतृत्व, पहलकदमी लिदा राम्रो हुने विषय समेत राखेका थिए । धारणा राख्ने क्रममा उठेका कैयन विषयमा अर्को चरणको भेटघाटमा थप छलफल गर्ने सहमति समेत भएको माओवादी केन्द्र (क्रान्तिकारी) ले जनाएको छ ।

उक्त छलफलको क्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र उपहामहासचिव प्रदिप ज्ञावाली समेत पुगेको भएपनि छलफलमा भने एमाले अध्यक्ष ओली र माके (क्रान्तिकारी) का महासचिव लोकेश गम्भिरतापूर्वक जुटेका थिए ।

प्राप्त जानकारी अनुसार माओवादी केन्द्र (क्रान्तिकारी) ले ‘माओवादी एकता अनिवार्यताः कम्युनिष्ट एकता आजको आवश्यकता’ बारे छलफललाई अन्य कम्युनिष्ट शक्ति तथा समूहहरू र प्रगतिशिल देशभक्त सबैसँग निरन्तरता दिने छ ।