माके (क्रान्तिकारी) द्धारा गायक प्रकाश सपुतलाई धन्यवादः व्यापक जनविरोधपछि अन्तत जनयुद्धको अपमान हुने दृष्य हट्यो
रिअलोड भएको भिडियोसहित हेर्नुहोस्
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) ले हालै सार्वजनिक भएको पीर नामक साँगीतीक भिडियोका कारण चर्को आलोचनामा परेका गायक प्रकाश सपुतलाई उक्त भिडियोमा रहेको माओवादी जनयुद्धको अन्तरमर्म तथा जनमुक्ति सेनालाई अपमानीत, बदनामी ढंगले चित्रण गरिएको दृष्य हटाएकोमा धन्यवाद ज्ञापन गरेको छ ।
माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले आज एक धन्यवाद वक्तव्य जारी गर्दै गायक प्रकाश सपुतले व्यापक जनआलोचनापछि उक्त पीर नामक भिडियोमा रहेको जनमुक्ति सेनालाई बद्नाम हुने ढंगले प्रस्तुत गरिएको दृष्य हटाएको विषयप्रति धन्यवाद सहित उहाँको उज्वल सांगीतीक यात्राको शुभकामना व्यक्त गरेका हुन् ।
उक्त गीतको भिडियो सार्वजनिक भएसँगै माओवादी केन्द्र (क्रान्तिकारी) सहित अधिकांश माओवादी सम्बद्ध राजनीतिक दल, संगठन, मोर्चा र समूह, व्यक्तिहरुले त्यसको व्यापक विरोध गर्दै त्यस्तो दृष्य हटाउन माग गर्दै आएका थिए । गायक प्रकाशले जनविरोधलाई गल्ति सुधारका रुपमा स्विकार्दै विवादीत दृष्य हटाएपछि आज माके (क्रान्तिकारी) लगाएतले उक्त कदमप्रति धन्यवाद दिएका छन् ।
महासचिव लोकेशले जारी गरेको धन्यवाद वक्तव्यमा भनिएको छ–‘त्यो दृष्यले समग्रमा जनयुद्धको अपमान गरेको थियो, त्यसले गायक प्रकाशको कालाकारीतामा समेत गम्भिर प्रश्नहरु आम दर्शक, श्रोता र बौद्धिक जगतले उठाएको थियो । त्यसलाई माओवादी आन्दोलन विरोधी शक्तिहरुको नियोजित प्रपञ्चको रुपमा समेत हामी धेरैले आंकलन गरेका थियौं र गल्ति सुधार गर्न सचेत समेत बनाएको विषय स्पष्ट नै छ । उक्त सन्दर्भमा गायक प्रकाश सपुतले भिडियो सार्वजनिक गरेको आठौं दिनपछि (आज) पुरानो हटाएर (परिमार्जनसहित) नयाँ अपलोड गर्नुभएको विषय स्वागत योग्य छ ।’
नागरिकबाट आएको आलोचनालाई स्विकार्दै सुधारको प्रयास गर्नु सकारात्मक रहेको भन्दै वक्तव्यमा अगाडी भनिएको छ–‘यस प्रकारको सुधारले उहाँको कलाकारीता नेपाली जनतामाझ अझ लोकप्रिय र अब्बल हुने विश्वास दर्शाएको छ । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) गायक प्रकाश सपुतलाई आभारसहित धन्यवाद ज्ञापन गर्दछ । सुधार भएको भिडियोका दृष्यहरुमा जनयुद्धको कथावस्तु र पछिल्लो चरणसम्म आउँदा तत्कालिन नेतृत्वपंक्तिबाट भएका गद्दारी, घात, अपमानका पीडाहरु नै बोलेका छन् । त्यो वास्तविकता नेपाली समाजको ऐनाका रुपमा स्विकार्य छ । यसले माओवादी नेतृत्वलाई गल्तिहरु सुधार्न, जनविश्वास जोगाउन सचेत समेत बनाएको छ ।’
निक्कै मेहनतका साथ तयार गरिएको उक्त भिडियोको एउटा भुलवस आएको दृष्यले आक्रोसित एवं रुष्ट जनसमुदायको समेत परिमार्जित भिडियोका कारण साथ, माया र थप हौसला गायक प्रकाश सपुतलाई मिल्ने माओवादी केन्द्र (क्रान्तिकारी) ले विश्वास गर्दै अगाडी भनेको छ–‘यसले उहाँलाई जनतामाझ अझ प्रिय बनाउने छ । यो गायक प्रकाश स्वयम्को लागि समेत एक सिकाईको पाटो हो । यसर्थ हामी उहाँलाई धन्यवाद सहित आगामी उहाँको उज्वल सांगीतीक भविष्यको शुभकामना तथा बधाई व्यक्त गर्दछौं ।’ माके (क्रान्तिकारी) ले सार्वजनिक गरेको धन्यवाद वक्तव्यको पूर्णपाठ यस्तो छ….
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी)
केन्द्रीय समिति
धन्यवाद वक्तव्य
जनआलोचनाको सम्मानः जनयुद्धको अपमानबारे दृष्य हटाएकोमा गायक प्रकाश सपुतलाई धन्यवाद !
मितिः २०७८ चैत्र ५ गते ।
गल्ति अञ्जानमा पनि हुन सक्छ ! अञ्जानमा हुने गल्तिहरु सुधारउन्मुख हुन्छन्, तर नियोजित ढंगले आउने गल्तिहरु इतिहासमा दर्ज हुन्छन्, ति अक्षम्य हुन्छन् । जहाँसम्म गायक प्रकाश सपुतको नयाँ सांगितिकभिडियो पीर गीत सार्वजनिकसँगै विवादमा मुछियो । त्यसले नेपाली जनताको न्याय र मुक्तिको लागि जिवन अर्पण गर्न समेत तयार भएर जनयुद्धमा होमिएका योद्धाहरु र जनयुद्धको मुल मर्ममाथि गम्भिर आधात पुर्याएको थियो । त्यो दृष्यले समग्रमा जनयुद्धको अपमान गरेको थियो, त्यसले गायक प्रकाशको कालाकारीतामा समेत गम्भिर प्रश्नहरु आम दर्शक, श्रोता र बौद्धिक जगतले उठाएको थियो । त्यसलाई माओवादी आन्दोलन विरोधी शक्तिहरुको नियोजित प्रपञ्चको रुपमा समेत हामी धेरैले आंकलन गरेका थियौं र गल्ति सुधार गर्न सचेत समेत बनाएको विषय स्पष्ट नै छ । उक्त सन्दर्भमा गायक प्रकाश सपुतले भिडियो सार्वजनिक गरेको आठौं दिनपछि (आज) पुरानो हटाएर (परिमार्जनसहित) नयाँ अपलोड गर्नुभएको विषय स्वागत योग्य छ । त्यसो त उहाँले फागुन ३० गते नै उक्त भिडियोबारे आएका प्रतिकृयाले भिडियामा कमजोरी भएको आफुले महसुस गर्दै त्यसलाई सुधार्ने ब्यवहोरा आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्नुभएको थियो ।
गायक प्रकाशले अत्याधिक जनआलोचनाको सम्मान गर्दै, दृष्यमा भएको गल्ति सुधार्नुभएको विषयले उहाँको कलाकारीता नेपाली जनतामाझ अझ लोकप्रिय र अब्बल हुने विश्वास दर्शाएको छ । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) गायक प्रकाश सपुतलाई आभारसहित धन्यवाद ज्ञापन गर्दछ । सुधार भएको भिडियोका दृष्यहरुमा जनयुद्धको कथावस्तु र पछिल्लो चरणसम्म आउँदा तत्कालिन नेतृत्वपंक्तिबाट भएका गद्दारी, घात, अपमानका पीडाहरु नै बोलेका छन् । त्यो वास्तविकता नेपाली समाजको ऐनाका रुपमा स्विकार्य छ । यसले माओवादी नेतृत्वलाई गल्तिहरु सुधार्न, जनविश्वास जोगाउन सचेत समेत बनाएको छ । निक्कै मेहनतका साथ तयार गरिएको उक्त भिडियोको एउटा भुलवस आएको दृष्यले आक्रोसित एवं रुष्ट जनसमुदायको समेत परिमार्जित भिडियोका कारण साथ, माया र थप हौसला उहाँलाई मिल्ने विश्वास गर्न सकिन्छ, यो गायक प्रकाश स्वयम्को लागि समेत एक सिकाईको पाटो हो । यसर्थ हामी उहाँलाई धन्यवाद सहित आगामी उहाँको उज्जवल सांगीतीक भविष्यको शुभकामना तथा बधाई व्यक्त गर्दछौं ।
लालसलाम सहित ।
………
क. लोकेश
महासचिव
नेकपा माओवादी केन्द्र (क्रान्तिकारी)
त्यसो त गायक प्रकाश सपुतले भिडियोको व्यापक आलोचना भएपछि फागुन ३० गते नै भिडियोमा त्यो दृष्य आउनुलाई भुल महसुस गर्दै त्यसलाई सुधार्ने ब्यवहोरा आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।
उनले आज साँझ मात्र आफ्नो फेसबुकमा उक्त भिडियोको व्यापक आलोचना गरिएको दृष्य हटाएर परिमार्जित दृष्य सहितको अर्को भिडियो पुनः अपलोड गरेको विषय सार्वजनिक गरेका छन् ।
उनले आफ्नो स्टाटस मार्फत त्यो भिडियो डिलिट गर्नुमा कसैको दवाव वा बाध्यता नभएर दर्शक, श्रोता, सर्जकहरुबाट आएको आलोचना र त्यसबारे आफुलाई कमजोरी लागेकाले आफैले हटाउने सोच बनाएको प्रष्ट समेत पारेका छन् ।
उनले भिडिायोलाई पुन हेरेर सुझाव दिनका लागि अनुरोध समेत गरेका छन् । उक्त विषयमा गायक प्रकाश सपुतले सार्वजनिक गरेको धारणा यस्तो छ…..
गायक प्रकाश सपुतले सुधारसहितको भिडियो पुनःअपलोड गर्दा सार्वजनिक गरेको धारणा
सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा ३गल्बन्दि , १५ दिनमा कुराबुझ्नपर्छ र ७ दिनमा पिर करोड़ पटक हेरिएको छ । हाम्रो प्रयासको ईतिहास र तपाईको प्रेमको ईतिहास निरन्तर दोहोरीएको छ । एउटा सर्जक र उसको टिमका लागि र समग्र व्यवसायिक संगित बजारका लागि यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु । यधपि तपाईको अमुल्य शुभेच्छा मेरो लागि असामान्य छ । मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु । रेकर्डहरु बनाएको छु । सपना र संघर्ष पछिको यो सफलता भने सामान्य होईन । कहिले काहि त लाग्छ, भयो अब पुग्यो ।
खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुहर समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको छ ।सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यधपि सर्जक ले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ । भैईरहोस । जे होस, पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्य ले, पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गित र भिडियो का अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो । अनअफिशियल रुपमा त पुरानो भिडियो सेभ होलान । अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरियला (नगर्न अनुरोध) तर लाखौ सब्सक्राईब भएको मा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृष्य बिझाउने जस्तो भयो । नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो । त्यसैले कुनै दबाब, प्रभावले नभएर यो बिचमा आएका तपाईको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव, लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नया भिडियो रिअपलोड गरिएको छ । साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु । केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गित र भिडियो त हटाएको छु तर गित र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन । आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु । पिर मन लागेछ भने फेरी हेर्नु होला । र कसैको आत्मसम्मान र सर्जकको ईमान्दारीतालाई मनन गर्दै आफ्नो प्रतिक्रिया दिनु होला । थप राजनितिकरण र अतिरन्जित नगरौ है त । धन्यबाद ।
गायकः प्रकाश सपुत
(प्रकाश सपुतको फेसबुकबाट)