एमसीसी खारेजीको माग गर्दै माके (क्रान्तिकारी) लगाएतका दलहरु आन्दोलनमाः विरोध प्रदर्शनमा व्यापक प्रहरी दमन

अश्रुग्याँस र लाठी प्रहारबाट दर्जनौ घाईते

काठमाण्डौं । वर्तमान शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी संसदबाट पाश गराउनेबारे छलफल गर्दै गर्दा त्यसको विरोधमा आज काठमाण्डौं लगाएत देशभर आन्दोलन भएको छ । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) लगाएत विभिन्न देशभक्त, प्रगतिशिल र क्रान्तिकारी राजनीतिक दल तथा शक्तिहरु आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले फागुन ८ गते एमसीसी सदनमा टेबुल गरेपछि शुरु भएको आन्दोलनको निरन्तरतामा आज व्यापक जनसहभागितामा भएको थियो । काठमाण्डौंको माइतीघर मण्डलाबाट शुरु भएको विरोध प्रदर्शन नयाँवानेश्वर स्थित संसद भवन छिर्ने सबै सडकहरु जाम गरेर दिनभर जारी रहेको थियो ।

सरकारले संसदमा टेबुल गरेको एमसीसी देश र जनताको पक्षमा नभएको भन्दै शुरुदेखिनै आन्दोलनका विभिन्न प्रकृया बढाउँदै आएको नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) लगाएतका पार्टीहरुले यो वा त्यो वहानामा छलफलको नाटक गर्दै संसदीय दलाल नेता र राजनीतिक दलहरुले एमसीसीको नाममा देश बेच्ने कुचेष्टा गरिरहेको भन्दै त्यसको विरोधमा उत्रिन सचेत देशभक्त दल, नागरिक समाज र आमजनसमुदायमा अपिल गर्दै आएका छन् ।

राष्ट्रघाती एमसीसी खारेजीको आन्दोलनमा उत्रिएको नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले आज पत्रकारहरुको जिज्ञासामा बोल्दै एमसीसी नेपाली जनता र देशको अहितमा भएकाले त्यसलाई कुनैपनि हालतमा स्विकार गर्न नसकिने बताएका छन । माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकेशले संसदीय दलालहरुले विदेशी शक्ति केन्द्रको हितमा, देशको सार्वभौमिकताा, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई बेच्ने योजना बनाएको भन्दै कडा विरोध जनाएका थिए ।

महासचिव लोकेशले अमेरिकी साम्राज्यवाद तथा घरेलु प्रतिक्रियावादी तत्वका कारण राष्ट्रघाती सदनमा पेश भएको तर्क गर्दै एमसीसीको खारेजी नगरिए देश ठुलो संकटमा फस्ने बताए । उनले यतिबेला देश संकटमा परेकाले सबै सचेत नागरिकहरुले व्यक्तिगत काम योजनालाई व्यवस्थापन गर्दै विरोध प्रदर्शनमा उत्रिन आह्वान समेत गरेका थिए ।

त्यस्तै एमसीसी कुनैपनि हालतमा पाश गर्न नहुने अडानसहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा (मसाल), जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रवादी केन्द्र नेपाल लगाएतका राजनीतिक दल, समूह, मोर्चा तथा विभिन्न संगठनहरु समेत निरन्तर आन्दोलनमा रहेका छन् ।

सत्ताँ गठबन्धनमा रहेका दलहरुभित्रका देशभक्त नेता, कार्यकर्ताहरुको समूह समेत एमसीसी विरुद्धको आन्दोलनमा उत्रिएको देखिन्छ । सत्ताँरुढ नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस (वीपी समूह), एकिकृत समाजवादी तथा प्रतिपक्ष दल नेकपा (एमाले) भित्रका देशभक्त नेता, कार्यकर्ताहरुको समेत उक्त आन्दोलनमा सहभागिता देखिएको छ ।

आज वानेश्वरमा भएको विरोध प्रदर्शनको क्रममा सहभागिहरुले वर्तमान सरकार गठबन्धन तथा संसदीय व्यवस्थाको विरोधमा विभिन्न चर्का नाराहरु समेत लगाएका थिए । सहभागिहरुले ‘अमेरिकी साम्राज्यवाद एवं घरेलु प्रतिक्रियावाद–मुर्दावाद !’, ‘राष्ट्रघाती जनघाती सम्झौता र जालझेल विरुद्ध–संगठिन संघर्ष गरौं !!’, ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेजी आन्दोलन–जिन्दावाद !’, ‘राष्ट्रघाती एमसीसी खारेजीको आन्दोलनमा–सहभागि बनौं !’ भन्ने जस्ता नाराहरु लगाएका थिए ।

पछिल्लो चरणमा सत्ताँरुढ नेकपा (माओवादी केन्द्र) कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेसँगै सत्ता गठबन्धनको बैठकले पनि एमसीसीलाई आजै संसदबाट अनुमोदन गर्ने निर्णय गरेकाले विरोध कार्यक्रम अझ सशक्त बन्दै गएको हो ।

माओवादी केन्द्रले ब्याख्यात्मक घोषणासहित एमससिी अनुमोदन गर्ने निर्णय गरेपनि माओवादी केन्द्रका पाँच नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले भने त्यसको विरोधमा मत जाहेर गरेका छन् ।

सडकमा दिनभर विरोध प्रदर्शन भएपछि आधा घण्टाको लागि रोकिएको प्रतिनिधिसभाको बैठक साढे ६ बजे बसेको छ । दोस्रो बैठकले एमसिसी पास गर्ने जनाइएको छ। त्यसको विरोधमा राजनीतिक दलहरु अझ सशक्त ढंगले उत्रिनेबारे आन्तरिक तयारी समेत गरिरहेको बुझिएको छ ।

यसैचि आजको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गर्दा विभिन्न राजनीतिक दल निकटका दर्जनौ नेता, कार्यकर्ताहरु घायते भएका समेत भएका छन् । घाइते हुनेमा विप्लव नेकपा निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का महासचिव राजकुमारी शाही, अखिल क्रान्तिकारीकी नेत्री प्रजिता दर्नाल, नेकपा (क्रान्तिकारी माओवादी) निकटको क्रान्तिकारी युवालिगका सुरेश तामांग र हरी विक लगाएतका नेता, कार्यकर्ताहरु घाइते भएका हुन । घाइतेको सिभिल अस्पताल वानेश्वर र वीरअस्पतालमा उपचार भैरहेको छ ।

देशभक्त तथा क्रान्तिकारी शक्ति र जनसमुदाय राष्ट्रघाती एमसीसी विरुद्ध विरोध जारी राख्दा संसदबाट त्यसलाई पाश गर्ने काम भएमा त्यसले गम्भिर राष्ट्रिय संकट निम्तने भन्दै विभिन्न बुद्दिजिवी, नागरिक अगुवा, कलाकारहरुले समेत सरकारलाई चेतावनी दिदै आएका छन् । संसद भवनमा बैठक चल्दैगर्दा आन्दोलनरत दलहरु पनि नयाँ रणनीतिमा जुटेका छन । नेताहरुले आन्दोलन अझ सशक्त हुने बताउँदै आएका छन् ।