२७ औं जनयुद्ध दिवसमा माओवादी केन्द्र (क्रान्तिकारी) द्धारा जारी वक्तव्यः ‘नौलोजनवादी क्रान्तिको तयारी गरौं’ (पूर्णपाठसहित)

बाँकेमा अन्तरक्रिया र प्रदर्शनः एमसीसी खारेजीको माग

बाँके । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) ले २७ औं जनयुद्ध दिवसको अवसरमा आफ्नो पार्टी विभाजित नेपाली क्रान्तिकारी आन्दोलनको झण्डालाई उठाउँदै नौलो जनवादी क्रान्तिको तयारीमा निरन्तर जुटिरहेको जनाएको छ । माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले आज जनयुद्ध दिवसको सन्दर्भमा जारी गरेको शुभकामना वक्तव्यमा त्यस्तो जनाइएको हो ।

उक्त वक्तव्यमा माओवादी जनयुद्ध विभिन्न असहजताबिच अगाडी बढ्दै सफलतातिर गैरहेको अवस्थामा तत्कालिन नेकपा (माओवादी) का इमान्दार, क्रान्तिकारी योजनामा जुटेका नेताहरुलाई भारतको जेलमै राखेर शान्तिवार्ताको नाममा तत्कालिन मुल नेतृत्वले गरेको आत्मसमर्पणले नेपाली क्रान्तिमाथि गम्भिर धोका, गद्दारी भएको बताइएको छ ।

महासचिव लोकेशले आफ्नो वक्तव्यमा भनेका छन्–‘आन्तरिक रुपमा दलाल नोकरशाही पुँजीवादी सत्ताँ तथा सामान्तवादी उत्पीडन र बाह्य रुपमा विश्वसाम्राज्यवाद तथा भारतीय विस्तारवादका विरुद्ध शुरुवात गरिएको महान जनयुद्ध अनेकन असहजतालाई चिर्दै, आफ्नो वीरतापूर्ण इतिहास रच्दैं, सफलतातिर उन्मुख भैरहेको अवस्थामा शान्ति वार्ताको नाममा तत्कालिन नेतृत्वले क्रान्तिप्रति गद्दारी तथा गम्भिर धोका गर्यो । पार्टीका इमान्दार, क्रान्तिकारी योजनामा जुटेका नेताहरुलाई जेलमै राखेर गरिएको शान्तिवार्ता नामको नाटक, तत्कालिन मुल नेतृत्वमा विकसित दक्षिणपन्थी नवसंशोधनवादी विचलनको कारण हो । नेतृत्व आत्मसमर्पणवादी चङ्गुलमा फसेर गरिएको क्रान्ति बिसर्जनको दुष्प्रचारको योजना सिङ्गो जनयुद्धप्रतिको बेइमानी थियो ।’

उनले आफ्नो शुभकामना वक्तव्यमा अगाडी भनेका छन्–‘उत्पीडित वर्ग, जनसमुदायको न्याय र समानताको आन्दोलन विरुद्धको शान्तिवार्ता नामको गतिविधि प्रतिक्रान्तिकारी कदम थियो । नयाँ जनवादी क्रान्तिको प्रकृयाबाट दलाल सत्ताँ ध्वस्त गरेर नयाँ जनवादी सत्ताँ स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादी दिर्घकालिन लक्ष्यमा पुग्ने योजनाका साथ शुरुवात गरिएको जनयुद्धलाई पुरानै सत्ताँ र व्यवस्थामा फर्काउन, शहीद, योद्धा कमरेडहरुको त्याग, वीरता र संघर्षमय इतिहासलाई लिलाम गर्दै दलाल सत्ताँको कुर्सिमा पुग्न गरिएको त्यो गम्भिर सड्यन्त्र थियो ।’

माओवादी केन्द्र (क्रान्तिकारी) क्रान्ति, आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै, क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने दिशामा अघि बढेको महासचिव लोकेशले जनाएका छन । उनले वक्तव्यमा अगाडी भनेका छन्–‘हाम्रो पार्टी नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) ले जनयुद्ध, जनआन्दोलन र सामाजिक व्यवस्था परिवर्तनका सबै संघर्षहरुबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै, क्रान्तिको बाँकी कार्यभार सम्पन्न गर्ने दिशामा, क्रान्तिकारी विचारसहित जनसंगठन विस्तार गर्दै, संघर्षका योजनामा निरन्तर अघि बढिरहेको विषय सर्वविदितै छ ।’

सबै क्रान्तिकारी शक्तिहरुलाई एकतामा आउन आह्वान गर्दै उनले अगाडी भनेका छन्–’हामी जनयुद्धको २७ औं दिवस मनाउँदै गर्दा आमजनसमुदाय र भाईचारा पार्टीहरुमा वृहत क्रान्तिकारी कम्युनिष्ट एकताके अनिवार्यतामा जोड दिदै, उत्पीडित वर्ग जनसमुदायको हक, अधिकार प्राप्तीको पक्षमा योजनाबद्ध रुपमा अघि बढिरहेको विषय स–गौरव जानकारी गराउँदै, एकता, ध्रुविकरणको लागि सबैमा हार्दिक आह्वान गर्दछौं ।’

उनले पछिल्लो समय आएको लोकतान्त्रिक गणतन्त्रले आधारभूत जनतालाई अधिकार दिनेभन्दा पनि ससंदवादी नेताहरुलाई भ्रष्टाचारी बनाउन सहज बनेको आरोप लगाउँदै भनेका छन्–‘देशभर भ्रष्टाचार बढिरहेको छ, सामाजिक अपराधमा तिनैको संलग्नता देखिन्छ । राष्ट्रघाती, जनघाती गतिविधिहरुलाई निरन्तरता दिइएको छ ।’

विदेशी शक्ति केन्द्रको एजेन्टका रुपमा काम गर्दै आएका संसदीय दलाल नेता र राजनीतिक दलहरुले एमसीसीको नामबाट देश बेच्न खोजेको आरोप लगाउँदै उनले कुनैपनि हालतमा एमसीसी खारेज गरिनुपर्ने भन्दै त्यसका लागि आफुहरुले संघर्ष गर्दै आएको र अझ सशक्त बनाउने बताएका छन् ।

उनले भनेका छन–‘देशको स्वाधीनतामाथि गम्भिर खतरा उत्पन्न भएको छ । भारतिय विस्तारवादका एजेन्टहरुले जसरी मेचीमहाकाली बेचे, त्यसैगरी फेरी अमेरिकी साम्राज्यवादको गोटी बन्दै एमसीसी सम्झौता नामबाट यो देश बेच्न कुचेष्टा गरिरहेको स्थिति छ । अन्तराष्ट्रि शक्ति केन्द्रबाट परिचालित राष्ट्रघाती दलालहरु अमेरिकी युद्ध रणनीति अन्तर्गतको एमसीसीलाई जस्ताको त्यस्तै संसदमा ल्याउने वा संशोधन गरेर ल्याउने भन्ने विषयमा आपसमै विभाजित समेत बनिरहेका छन् । यसमा हामीले एमसीसी वहसकै विषय होइन, यो कुनैपनि हालतमा खारेजी हुनुपर्छ भन्दै संघर्ष गरिरहेका छौ ।’

वर्तमान सत्ताँ र सरकार साम्राज्यवाद तथा विस्तारवादका विश्वसनिय बनिरहेको आरोप लगाउन्दै उनले भनेका छन्–‘विदेशी शक्तिकेन्दैहरुकै आशिर्वादमा कुर्सिमा बस्ने राष्ट्रिय स्वाधिनता विरोधी संस्कार हावि गरिदैछ । यो अवस्थामा हाम्रो पार्टी नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) ले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवाललाई प्रमुखताका साथ उठाउँदै राष्ट्रिय स्वाधिनता सहितको, क्रान्तिकारी आन्दोलनलाई उठान गर्न खोजिरहेको छ ।’

विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा नेपाली क्रान्तिमा आएको धोकाले गम्भिर क्षती समेत पुगेको वर्तमान अवस्थामा पुनः नेपाली मौलिकतामा माक्र्सवादको विकास तथा सिद्धान्तको कार्यान्वयन गर्दै, विश्वभर क्रान्तिकारी उत्साह भर्ने खालको नयाँ संन्देश प्रवाहित गर्नुपर्ने महान ऐतिहासिक जिम्मेवारी अहिले सच्चा क्रान्तिकारी शक्तिको काँधमा आएको बेला आफ्नो पार्टीले वृहत क्रान्तिकारी कम्युनिष्ट एकताको अभियानसहित नौलो जनवादी क्रान्तिको तयारीमा गरिरहेको महासचिव लोकेशले बताएका छन ।

उनले महान जनयुद्धको २७ औं बर्षप्रवेशको ऐतिहासिक अवसरमा सम्पुर्ण परिवर्तनकारी, देशभक्त, प्रगतिशिल शक्ति, समूह तथा आम जनसमुदायमा एकताबद्ध भएर अघि बढ्नका लागि हार्दिक आह्वान गरेका छन । वक्तव्यमा भनिएको छ–‘माओवादी एकता अनिवार्यता, कम्युनिष्ट एकता अहिलेको आवश्यकता’ समेत हो, तसर्थ क्रान्तिको लागि वृहत क्रान्तिकारी कम्युनिष्ट एकताको अभियानमा जुटौं, आ–आफ्ना अडान छाडेर क्रान्तिको झण्डा उठाउन पुनः एकतामा बल पुर्याऔं, भन्दै सबै भाइचारा पार्टीहरुमा विशेष आह्वान समेत गर्दछौं ।’

२७ औं जनयुद्ध दिवसको सन्दर्भमा विभिन्न माओवादी पार्टीहरुले देशका विभिन्न स्थानहरुमा कार्यक्रम, जनप्रदर्शन, भेला, गोष्ठि जस्ता कार्यक्रमहरु गरेर मनाउने गरेका छन् । त्यसै सन्दर्भमा माओवादी केन्द्र (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा बाँकेको नेपालगञ्जमा एमसीसी खारेजीका लागि संगठित संघर्ष गरौं भन्ने नारासहित जनयुद्ध र क्रान्तिको बाँकी कार्यभारबारे अन्तरक्रिया तथा जनप्रदर्शनको कार्यक्रम गर्ने बुझिएको छ ।

त्यस्तै माओवादी केन्द्र (क्रान्तिकारी) ले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी, बाग्मती, मधेश प्रदेश गरी सबै प्रदेश स्तरमा र विभिन्न जिल्लाहरु समेत फरक फरक कार्यक्रमको तयारी गरेको बुझिएको छ । मोहनबैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र लगाएत अन्य पार्टीहरुले समेत जनयुद्ध दिवसमा शुभकामना साटेर, विभिन्न कार्यक्रम गर्दे जनयुद्ध दिवस मनाउने तयारी गरेको बुझिएको छ । बाँकी उक्त वक्तव्यको पूर्णपाठ हेर्नुहोस्

२७ औं जनयुद्ध दिवसमा नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) केन्द्रीय समितिद्धारा जारी शुभकामना वक्तव्य

क्रान्ति जारी छः २७ औं जनयुद्ध दिवसको भव्य शुभकामना !

२०५२ सालको फागुन १ गतेका दिन, तत्कालिन नेकपा (माओवादी) ले देश र जनताको न्याय, मुक्ति र समानताको लागि ‘मृत्यु वा मुक्ति’ को सपथ खाएर महान जनयुद्ध शुरुवात गरेको थियो । आज जनयुद्ध शुरु भएको २६ बर्ष पुरा भएर २७ औं बर्षमा प्रवेश गरेको छ । हाम्रो महान, गौरशाली तथा जनप्रिय पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी)’ ले महान जनयुद्ध शुरु गर्दा गरिएको संकल्प, लक्ष्य र जनसमुदायप्रतिको विश्वास तथा योद्धा कमरेडहरुले देखाएको त्याग, वीरतालाई स्मरण गर्दै क्रान्तिका उपलब्धीहरुको रक्षा तर्था बाँकी कार्यभार पुरा गर्न नौलो जनवादी क्रान्तिको दिशामा अघि बढ्ने प्रतिवद्धतासहित देशका विभिन्न स्थानहरुमा विविध कार्यक्रम गरेर २७ औं जनयुद्ध दिवस भव्य रुपमा मनाउँदै छ । यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी सामाजिक व्यवस्था परिवर्तनको प्रकृयामा आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन तथा बेपत्ता, घाइते, अपाङ्ग योद्धा कमरेड र परिवारजनमा उच्च सम्मान व्यक्त गर्दछौं । साथैं पार्टीका नेता, कार्यकर्ता, सदस्य कमरेडहरु, सुभेच्छुकजन तथा आमजनसमुदाय एवम् राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा रहेका भाईचारा पार्टीहरुप्रति जनयुद्ध दिवसको हार्दिक शुभकामना सहित लालसलाम व्यक्त गर्दछौं ।

आन्तरिक रुपमा दलाल नोकरशाही पुँजीवादी सत्ताँ तथा सामान्तवादी उत्पीडन र बाह्य रुपमा विश्वसाम्राज्यवाद तथा भारतीय विस्तारवादका विरुद्ध शुरुवात गरिएको महान जनयुद्ध अनेकन असहजतालाई चिर्दै, आफ्नो वीरतापूर्ण इतिहास रच्दैं, सफलतातिर उन्मुख भैरहेको अवस्थामा शान्ति वार्ताको नाममा तत्कालिन नेतृत्वले क्रान्तिप्रति गद्दारी तथा गम्भिर धोका गर्यो । पार्टीका इमान्दार, क्रान्तिकारी योजनामा जुटेका नेताहरुलाई जेलमै राखेर गरिएको शान्तिवार्ता नामको नाटक, तत्कालिन मुल नेतृत्वमा विकसित दक्षिणपन्थी नवसंशोधनवादी विचलनको कारण हो । नेतृत्व आत्मसमर्पणवादी चङ्गुलमा फसेर गरिएको क्रान्ति बिसर्जनको दुष्प्रचारको योजना सिङ्गो जनयुद्धप्रतिको बेइमानी थियो । उत्पीडित वर्ग, जनसमुदायको न्याय र समानताको आन्दोलन विरुद्धको त्यो प्रतिक्रान्तिकारी कदम थियो । नयाँ जनवादी क्रान्तिको प्रकृयाबाट दलाल सत्ताँ ध्वस्त गरेर नयाँ जनवादी सत्ताँ स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादी दिर्घकालिन लक्ष्यमा पुग्ने योजनाका साथ शुरुवात गरिएको जनयुद्धलाई पुरानै सत्ताँ र व्यवस्थामा फर्काउन, शहीद, योद्धा कमरेडहरुको त्याग, वीरता र संघर्षमय इतिहासलाई लिलाम गर्दै दलाल सत्ताँको कुर्सिमा पुग्न गरिएको त्यो गम्भिर सड्यन्त्र थियो । अतः हाम्रो पार्टी नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) ले जनयुद्ध, जनआन्दोलन र सामाजिक व्यवस्था परिवर्तनका सबै संघर्षहरुबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै, क्रान्तिको बाँकी कार्यभार सम्पन्न गर्ने दिशामा, क्रान्तिकारी विचारसहित जनसंगठन विस्तार गर्दै, संघर्षका योजनामा निरन्तर अघि बढिरहेको विषय सर्वविदितै छ । हामी जनयुद्धको २७ औं दिवस मनाउँदै गर्दा आमजनसमुदाय र भाईचारा पार्टीहरुमा वृहत क्रान्तिकारी कम्युनिष्ट एकताके अनिवार्यतामा जोड दिदै, उत्पीडित वर्ग जनसमुदायको हक, अधिकार प्राप्तीको पक्षमा योजनाबद्ध रुपमा अघि बढिरहेको विषय स–गौरव जानकारी गराउँदै, एकता, ध्रुविकरणको लागि सबैमा हार्दिक आह्वान गर्दछौं ।

पुरानै सत्ताँलाई लोकतान्त्रिक गणतन्त्रको नयाँ नामाकरण पेश गर्दै, संसदीय राजनीतिक दलहरुले समेत क्रान्ति सम्पन्न भैसक्यो, अबको बाटो संवृद्धी, सुशासन र समाजवाद भन्दै ोपमली क्रान्तिकारी आन्दोलन र आमजनसमुदायलाई भ्रमित पार्ने काम गरिरहेका छन् । नाममा आएको लोकतान्त्रिक गणतन्त्रले जनतालाई होइन, दलाल संसदीय दल र त्यसका एकाध नेता, कार्यकर्ताहरुको हितमा काम गरेको छ । देशभर भ्रष्टाचार बढिरहेको छ, सामाजिक अपराधमा तिनैको संलग्नता देखिन्छ । राष्ट्रघाती, जनघाती गतिविधिहरुलाई निरन्तरता दिइएको छ । देशको स्वाधीनतामाथि गम्भिर खतरा उत्पन्न भएको छ । भारतिय विस्तारवादका एजेन्टहरुले जसरी मेचीमहाकाली बेचे, त्यसैगरी फेरी अमेरिकी साम्राज्यवादको गोटी बन्दै एमसीसी सम्झौता नामबाट यो देश बेच्न कुचेष्टा गरिरहेको स्थिति छ । अन्तराष्ट्रि शक्ति केन्द्रबाट परिचालित राष्ट्रघाती दलालहरु अमेरिकी युद्ध रणनीति अन्तर्गतको एमसीसीलाई जस्ताको त्यस्तै संसदमा ल्याउने वा संशोधन गरेर ल्याउने भन्ने विषयमा आपसमै विभाजित समेत बनिरहेका छन् । यसमा हामीले एमसीसी वहसकै विषय होइन, यो कुनैपनि हालतमा खारेजी हुनुपर्छ भन्दै संघर्ष गरिरहेका छौ । लिपुलेक, लिम्पियाधुरा, कालापानी लगाएतको क्षेत्रमा भारतीय विस्तारवादले अतिक्रमण बढाइरहदापनि मौन रहेको वर्तमान सत्ताँ र सरकार साम्राज्यवाद तथा विस्तारवादका विश्वसनिय पात्र बनिरहेका छन् । उनिहरुकै आशिर्वादमा कुर्सिमा बस्ने राष्ट्रिय स्वाधिनता विरोधी संस्कार हावि गरिदैछ । यो अवस्थामा हाम्रो पार्टी नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) ले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवाललाई प्रमुखताका साथ उठाउँदै राष्ट्रिय स्वाधिनता सहितको, क्रान्तिकारी आन्दोलनलाई उठान गर्न खोजिरहेको छ।

मालेमावादको पथ प्रदर्शक सिद्धान्तका आधारमा, नेपाली मौलिकता कार्यदिशा विकास गर्दै, त्यसको सिर्जनशिल कार्यान्वयनमा यतिबेला हामीहरु जुटिरहेका छौं । विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा नेपाली क्रान्तिमा आएको धोकाले गम्भिर क्षती समेत पुगेको वर्तमान अवस्थामा पुनः नेपाली मौलिकतामा माक्र्सवादको विकास तथा सिद्धान्तको कार्यान्वयन गर्दै, विश्वभर क्रान्तिकारी उत्साह भर्ने खालको नयाँ संन्देश प्रवाहित गर्नुपर्ने महान ऐतिहासिक जिम्मेवारी समेत हाम्रो काँधमा आएको छ । यो बेला हाम्रो पार्टी वृहत क्रान्तिकारी कम्युनिष्ट एकताको अभियानसहित नौलो जनवादी क्रान्तिको तयारीमा जुटिरहेको छ । महान जनयुद्धको २७ औं बर्षप्रवेशको यो ऐतिहासिक अवसरमा हामी सम्पुर्ण परिवर्तनकारी, देशभक्त, प्रगतिशिल शक्ति, समूह तथा आम जनसमुदायमा एकताबद्ध भएर अघि बढ्नका लागि हार्दिक आह्वान समेत गर्दछौं । ‘माओवादी एकता अनिवार्यता, कम्युनिष्ट एकता अहिलेको आवश्यकता’ समेत हो, तसर्थ क्रान्तिको लागि वृहत क्रान्तिकारी कम्युनिष्ट एकताको अभियानमा जुटौं, आ–आफ्ना अडान छाडेर क्रान्तिको झण्डा उठाउन पुनः एकतामा बल पुर्याऔं, भन्दै सबै भाइचारा पार्टीहरुमा विशेष आह्वान समेत गर्दछौं । ‘क्रान्ति जारी छ, जनयुद्ध रोकिएको छैन’ हिजोको समिक्षा सहित आजको समाजमा यसको विकास नयाँ ढंगले भैरहेको छ, सबैमा साथ, सहयोग र समर्थनको अपिल सहित पुनः जनयुद्ध दिवसको भव्य शुभकामना व्यक्त गर्दछौं । लालसलामसहित ।
मितिः २०७८ फागुन १ गते ।

…..
क. लोकेश
महासचिव
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी)