लागु औषध सहित बर्दियाका विभिन्न स्थानबाट ४ जना मानिस पक्राउ
कडा कारबाही गरिने
बर्दिया । भारतबाट नेपाल आउँदै गरेका मानिसहरुको साथबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले केहीलाई पक्राउ गरेको छ ।
बर्दियाका विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई चेकजाँचको क्रममा लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
बिभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा १२.३ ग्राम लागु औषध (ब्राउन सुगर) सहित भारतबाट नेपाल तर्फ आउँदै गरेका मानिसहरुलाई पक्राउ गरी लागु औषध मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मिति २०७८।०९।२८ गते बर्दियाको बढैयाताल गाउँपालिका २ बाट बाँके खजुरा गाँउपालिका २ बस्ने बर्ष ३३ को दिवश भण्डारी र सोहि स्थान बस्ने बर्ष २१ को बिशाल परियार रहेका छन् । उनीहरुकोे साथबाट प्रहरीले १ ग्राम ४०० मिलिग्राम लागु औषधको परिमाण बरामद गरेको बताइएको छ ।
त्यस्तै उनीहरुको साथबाट प्रहरीले अन्य सामान मोबाईल थान २ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले आज एक सूचना जारी गर्दै जनाएका छन् ।
त्यस्तै प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका ७ बाट हिजो दैलेख गुँरास गाउँपालिका ३ बस्ने बर्ष ३० को तुलाराम शर्मालाई ७ ग्राम ४४० मिलीग्राम लागु औषधको परिमाण बरामद सहित पक्राउ गरेको छ । प्रहरीका अनुसार शर्माको साथबाट अन्य सामान मोटरसाईकल थान १, मोबाईल थान १ समेत बरामद भएको बताइएको छ ।
त्यस्तै हिजोनै बर्दियाको बढैयाताल गाउँपालिका ८ बाट बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २० को बिपन सुनारलाई ३ ग्राम ४६० मिलीग्राम लागु औषधको परिमाण बरामद सहित पक्राउ गरिएको छ ।
उनको साथबाट मोटरसाईकल थान १, मोबाईल थान १ लगाएतका सामानहरु समेत बरामद गरिएको प्रहरीले बताएको छ ।
पछिल्लो समय बर्दिया प्रहरीले जिल्लाका विभिन्न स्थानमा प्रहरी जाँचलाई कडाई गरेको छ । त्यस्तै विभिन्न स्थानमा लागुऔषध नियन्त्रणको लागि विभिन्न कार्यक्रमहरु र प्रहरी चेकजाँचलाई प्राथमिकता दिइएको देखिन्छ ।