माओवादी केन्द्रका नेता प्रकाश र माके (क्रान्तिकारी) का महासचिव लोकेशबिच भेटवार्ताः आन्दोलनको पुर्नगठनबारे छलफल

माओवादी एकताको अनिवार्यतामा जोड

काठमाण्डौं । पूर्वउपप्रधानमन्त्री समेत रहेका सत्ताँरुढ नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) बिच कम्युनिष्ट एकताका विषयमा छलफल भएको छ ।

काठमाण्डौंको कोटेश्वर (पेरिसडाँडा) स्थित नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा हिजो दिउँस दुई पार्टीका नेताहरुबिच नेपाली कम्युनिष्ट आन्दोलनको पुर्नगठनबारे विगतको समिक्षा सहित गम्भिर छलफल भएको हो ।

माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा अन्तराष्ट्रीय विभाग प्रमुख समेत रहेका वरिष्ठ नेता प्रकाश र माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकेशबिच वर्तमान राजनीतिक अवस्था, माओवादी आन्दोलनमा पार्टी विभाजनले पारेको प्रभाव, कम्युनिष्टहरुको दिर्घकालिन लक्ष्य र कार्यनीतिक विषयमा देखिएका समस्याहरु लगाएतका विषयमा छलफल भएको बुझिएको छ ।

माओवादी केन्द्र (क्रान्तिकारी) ले आफ्नो योजना अनुसार ‘माओवादी एकता अनिवार्यता, कम्युनिष्ट एकता आजको आवश्यकता’ बारे सबै कम्युनिष्ट पार्टी, समूह र जनसमूदायसँग समेत छलफल, वहस गरिरहेको सन्दर्भमा हिजो माओवादी केन्द्रका नेता प्रकाशसँग त्यस्तो छलफल गरिएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी सपष्ट पारेकोछ ।

उक्त छलफलको क्रममा माओवादी केन्द्र (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पार्टी निकटको प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष मनराज कठायतको समेत सहभागिता रहेको थियो । छलफल करिब आधा घण्टा चलेको बुझिएको छ ।

भेटवार्ताका क्रममा माओवादी केन्द्रका नेता प्रकाशले क्रान्तिबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्दै बाँकी कार्यभार सम्पन्न गर्नका लागि सबै विभाजित माओवादीहरु गम्भिर हुनुपर्ने धारणा राखेका थिए । उनले क्रान्तिकारी आन्दोलनबाट मुलुकको राजनीतिक प्रणालीमा सुधार आएको भएपनि जनअपेक्षित कार्यभार अहिले सबै पुरा गर्न नसकिएको स्विकार समेत गरेका थिए ।

उनले हिजो जनताको बिचमा गरिएका प्रतिवद्धताहरु पुरा गर्नका लागि आन्दोलनको मुल नेतृत्वकर्ताको हिसाबले आफ्नो पार्टीले गम्भिरतापूर्वक पहल गरिरहेकोमा जोड दिए । उनले माओवादी केन्द्रले बदलिएको सामाजिक अवस्थामा क्रान्तिको स्वरुपमा समेत विकास गर्दै राष्ट्रियता, जनतन्त्र, जनजिविकाको मुद्दामा सदन र सडक सबैतिर आफ्नो उपस्थिति कायम राखेको बताए ।

उनले आफुहरुले सिङ्गो माओवादी आन्दोलनलाई पुनः पुर्नगठित गर्दै रुपान्तरण सहितको माओवादी पार्टी बनाउनमा छलफल, वहस र पहलकदमी लिइरहेको समेत बताए । वैचारिक, सैद्धान्तिक हिसाबले माओवादी केन्द्र ठिक ठाउँमा रहेको भएपनि कार्यशैलीगत हिसाबले कहिलेकाही अपुगता भएको हुनसक्ने भन्दै त्यसलाई सच्याउँदै अघि बढ्ने कुरामा आफुहरु सधैं सकारात्मक रहेकोमा जोड दिएका थिए ।

उनले विभाजन भएका सबै माओवादी शक्तिहरुबिचमा राम्रो छलफल, सैद्धान्तिक वैचारिक वहससँगै एकताको अनिवार्यताबारे गम्भिर बन्नुको विकल्प नरहेकोमा जोड दिए । उनले सबै विभाजित माओवादी कम्युनिष्टहरु बिच बलियो एकता र सहकार्यको लागि आफ्नो पार्टीले सधैंव आह्वान गरिरहेको दोहोर्याउँदै माओवादी केन्द्र (क्रान्तिकारी) ले चलाएको कम्युनिष्ट एकताको वहस सान्दर्भिक रहेको भन्दै खुशी व्यक्त गरेका थिए ।

उनले मिल्ने र नमिल्ने कुरामा छलफल गर्दै पार्टी आन्दोलनको आवश्यकतालाई ध्यान दिएर एकताको अभियानमा जुट्नका लागि माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव समक्ष आग्रह समेत गरे । साथै थप विषयमा पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग समेत भेटवार्ता गरौं भन्ने प्रस्ताव अघि सानुदैं माओवादी एकताको पक्षमा उनले जोड दिएका थिए ।

उक्त भेटवार्ताको क्रममा नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले आफ्नो पार्टीले चलाईरहेको कम्युनिष्ट एकताबारेको वहस क्रान्ति, आन्दोलन र जनताको न्यायोचित राज्यसत्ताँ प्राप्तिको निर्णायक संघर्षको तयारीका लागि भएको भन्दै त्यसलाई अन्यथा नबुझ्न र व्याख्या नगर्न अनुरोध गरेका थिए ।

महासचिव लोकेशले मुलुकमा विद्यमान दलाल पूजिवादी संसदीय राज्यसत्ताँको विकल्प खोज्नका लागि परिवर्तनकारी शक्तिहरु सबै तयार भएर छलफलमा जुटौं र वृहत कम्युनिष्ट एकताको बलबाट त्यसलाई ध्वस्त पार्दै वैज्ञानिक समाजवादी व्यवस्थातिर अघि बढौं भन्ने कुरामा आफ्नो पार्टीले जोड दिएको विषय स्पष्ट पारेका थिए ।

उनले माओवादी विभाजनले यथास्थितिवादी, परिवर्तनविरोधी शक्तिहरुलाई फाइदा पुगेको तथा राष्ट्रियता, जनतन्त्र र जनजिविका मुद्दाहरु ओझेलमा परेको, आन्दोलनको गतिमा प्रभाव परेको अवस्थामा सबै माओवादी कम्युनिष्टहरुले गम्भिरतापूर्वक समिक्षा गर्नपर्ने बताएका थिए ।

उनले हिजोको सिङगो माओवादी आन्दोलनबाट समूहगत, टुक्रा टुक्रामा विभाजित आन्दोलन र नेतृत्वहरु कहिलेकाही राष्ट्रघाती, जनविरोधी शक्तिको गोटी समेत बन्ने गरेको उदाहरण दिदै मुख्यत क्रान्तिका बाँकी कार्यभार सम्पन्न गर्ने ठाउँबाट वहस केन्द्रीत गर्दै रुपान्तरण सहितको माओवादी पार्टी निमार्ण गरौं भन्नेमा आफ्नो पार्टी लागेको र त्यसका लागि ठुला पार्टी र नेताहरुलाई पहल गर्न आफुहरुले अनुरोध समेत गर्दै आएको बताए ।

दुई पार्टीका नेताहरुबिच अर्को पटक ठोस निष्कर्ष आउँनेगरी छलफलमा जुट्ने सहमती समेत भएको छ । माओवादी केन्द्र (क्रान्तिकारी) ले यसअघि माओवादी केन्द्रका स्थायी समिति सदस्य बलदेव, देबगुरुङ्ग, कृष्ण महरा लगाएतसँग समेत छलफल गरेको थियो ।

त्यस्तै कम्युनिष्ट एकताकै विषयमा नेकपा (माले), कट्टेल नेतृत्वको नेकपा, विप्लव नेकपा, नेकपा (एमाले), नेकपा एकिकृत समाजवादी पार्टी लगाएतसँग समते छलफल गरिसकेको छ । माओवादी केन्द्र (क्रान्तिकारी) ले आफ्नो पार्टीको योजना अनुसार त्यस्ता भेटघाट, छलफलहरु निरन्तर अघि बढाउने जनाउँदै आएकोछ ।