आज एमाले महाधिवेशनको बन्दसत्र शुरुः सर्वसम्मत नेतृत्व चयनमा सकस !

विधान संशोधन प्रस्तावमाथि छलफल हुँदैं

चितवन । चितवनमा हिजो राष्ट्रिय महाधिवेशनको भव्य रुपमा उद्घाटन गरेको नेपाल मम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) को आजबाट बन्दसत्र शुरु हुने भएको छ । चितवनको सौराहस्थित सेभेन स्टार होटल परिसरमा अहिले केहिबेरमै बन्दसत्र शुरु हुन लागेको हो ।

बन्दसत्रमा पार्टीको विधान संशोधन प्रस्ताव पेश गरिने र त्यसमाथि छलफल हुने जनाइएको छ। शुक्रबार राति बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो।

बन्दसत्रमा २ हजार १७५ प्रतिनिधि सहभागी हुनेछन्। सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव तयार गरिएको बुझिएको छ।

पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार यसअघि ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पास गरेअनुसार २२५ सदस्यीय केन्द्रीय कमिटी लाई हिजो राती बसेको केन्द्रीय कमिटी बैठकले बढाएर ३०१ सदस्यीय बनाउने निर्णय सर्वसम्मत रुपमा गरेको छ ।

एमाले केन्द्रीय कमिटीमा अब अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासभिव ३ र सचिव ७ गरी १९ जना पदाधिकारी हुनेछन्। त्यस्तै ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिट्ब्युरो समेत महाधिवेशनबाट निर्वाचित हुनेछ।

एमालेमा सर्वसम्मत नेतृत्व चयनको लागि हिजो रातीको केन्द्रीय कमिटीको बैठकबाट केन्द्रीय समितिको संख्या बढाएको भएपनि पदाधिकारीमै चुनाव हुने सम्भावना भने टरिनसकेको केतिपय नेताहरुको भनाई छ । उपाध्यक्ष भीम रावलले आफू कुनै हालतमा पछि नहट्ने भन्दै अध्यक्षमा उम्मेदवारी दिने बताउदै आएका छन्।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, सुवास नेम्बाङ र रामबहादुर थापा ‘बादल’ले आकांक्षा देखाउँदै आएका छन् भने महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले दाबेदारी प्रस्तुत गर्दै आएका छन्।

वरिष्ठ उपाध्यक्षमा दाबी गर्नेलाई उपाध्यक्ष र महासचिवमा दाबी गर्नेलाई उपमहासचिवमा व्यवस्थापन गर्न उपाध्यक्ष र उपमहासचिवको संख्या दुई दुई वटा थप गरेर सर्वसम्मत नेतृत्व चयनको प्रयासमा एमाले जुटेको भएपनि त्यो सम्भावना भने देखिएको छैन ।

त्यस्तै सचिव पदमा पनि आकांक्षी बढी भएकाले यसमा पनि नेताहरुको व्यवस्थापनमा ठूलो चुनौतीपूर्ण छ। अहिले सचिवको संख्या सात तोकिएको छ । महत्वकांक्षी बढीभएपनि एमालेले भने पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन हुने दाबी गर्दै आएको छ ।