बैद्य नेतृत्वको तत्कालिन नेकपा–माओवादीसँग छुट्टिने बेला २०७१ मा विप्लवले लेखेको पत्र (पूर्णपाठ)

यस्तो रहेछ सम्बन्धविच्छेदको कारण…

आदरणीय कमरेड किरण
अध्यक्ष, नेकपा—माओवादी

विषयः जानकारी गराएको बारे

कमरेड, हाम्रो पार्टीमा केही समयदेखि नेपाली क्रान्ति र क्रान्तिकारी पार्टी निर्माणका विषयमा निकै गम्भीर र पेचिला बहस र सङ्घर्ष चल्दै आएको प्रस्टै छ । हामीले ती विषयलाई उचित समाधान दिन समूहगत रूपमा र एक्लाएक्लै निरन्तर अन्तरक्रिया, बहस र सङ्घर्ष गर्दै पनि आयौँ । परन्तु ती मामिलाहरू हल हुनुको सट्टा झन् गहिरिँदै गए । केन्द्रीय समितिको बैठकमा कमरेड किरणले पेस गर्नुभएको प्रस्तावसम्म पुग्दा त सँगै बस्न र सहकार्यमा रहन नै असम्भव बन्न पुग्यो । तिनको कारण निम्नानुसार रहेका छन् ।

१) नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने र पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता कसरी बनाउने भन्ने विषयमा गम्भीर अन्तरहरू देखापरे । पदाधिकारी र पीबीको छलफलबाट ती विषय हल नभएपछि गत असारमा राष्ट्रिय सम्मेलन गरी निष्कर्ष निकाल्ने कुरा भयो । राष्ट्रिय सम्मेलनका लागि दस्ताबेजहरूसमेत तयार भए । जब दस्ताबेजहरू तयार भए, हठात् सम्मेलनलाई रोक्ने कुरा अगाडि आयो । सम्मेलन गरेर समाधानतिर जाऊँ, सके एउटै दस्ताबेज बनाऊँ नभए सम्मेलनमा आएका प्रतिनिधिहरूले जे पास गर्दछन् त्यसैलाई मानेर जाउँ भन्दा नेतृत्व तयार हुन सकेन । अन्ततः सम्मेलन स्थगित हुन पुग्यो । दसैँअगाडि कमरेड किरणसँग भेटी यथाशीघ्र पूर्ण केन्द्रीय समितिको बैठक बोलाई पार्टी दुई लाइन सङ्घर्षका विषयलाई विशेष महाधिवेशनमा लगेर समाधान गरौँ भनेर आग्रह गर्यौँ । कमरेड किरणले महाधिवेशनको कुरै छोडौँ, केन्द्रीय समितिको बैठकसमेत बोलाउन अस्वीकार गर्नुभयो । नेतृत्वको यो रबैयाले राजनीतिक परिस्थितिले सुम्पिएको सर्वहारा वर्गको कार्यभार कमजोर बन्न जाने अवस्था देखापर्यो ।

२) राजनीतिक परिस्थिति निकै जटिल बिन्दुमा पुगेको छ । साम्राज्यवादी, विस्तारवादी र दलाल पुँजीवादीहरू देशमा प्रतिक्रान्ति गर्दै पुरानै प्रतिक्रियावादी राज्यसत्ता लाद्ने ठाउँमा पुगेका छन् । माओवादीलाई सम्पूर्ण रूपले बदनाम गर्दै सखाप पार्ने अभियानमा छन् । माओवादी आन्दोलन विकेन्द्रित बन्दै कमजोर अवस्थामा पुग्दैछ । यो अवस्थामा माओवादी आन्दोलन र पार्टीलाई एक गुणात्मक राजनीतिक पहलसहित केन्द्रीकृत र ध्रुवीकृत गर्न जरुरी छ । यसका लागि कमरेड किरणलाई यथाशीघ्र वस्तुवादी कदम चाल्न आग्रह गर्दा पनि ग्रहण र मनन गर्ने अवस्था रहेन । प्रतिक्रान्ति र प्रतिक्रियावादी षड्यन्त्रबाट देश र जनतालाई बचाउँदै नेतृत्व गर्नुपर्ने जिम्मेवारी लिनुपर्ने विषयमा हाम्रा बीचमा सहमति हुन नसकेपछि हाम्रो दस्ताबेजसँग सहमति राख्ने कमरेडहरूलाई देशभरिबाट बोलाई सुझाव लिने काम गर्नुपर्ने अवस्था आयो । विचार मिल्नेहरूसँग सबैले अन्तरक्रियाहरू गरिरहेकै थियौँ । हामीले पनि त्यही सिलसिलामा अन्तरक्रिया गर्यौँ । यसको मुख्य कारण समग्र पार्टी नेतृत्व क्रान्तिको उचित पहल गर्ने जिम्मेवारीबाट अलग हुन पुगेपछि कुनै न कुनै रूपमा उक्त पहललाई अगाडि बढाउनुपर्ने महसुस हुन पुग्नु थियो ।

३) पार्टी गम्भीर मोडमा पुगेको स्थितिमा पनि नयाँ आधारमा नयाँ सहमति भई अग्रगामी समाधान आउँछ भने त्यो उचित हुन्छ भन्ने ठानी हामी केन्द्रीय समितिको पूर्ण बैठकमा सहभागी बन्यौँ । परन्तु सारा कमरेडहरूको अपेक्षाविपरीत कमरेड किरणले हदै मनोगत, अमर्यादित, पूर्वाग्रही, फुटपरस्त प्रस्ताव पेस गर्नुभयो । कमरेडका अभिव्यक्तिहरू पनि पूर्वाग्रहले खचाखच भरिएका एवम् असहिष्णु अनुभूत गरियो । उहाँको यो प्रस्ताव र भनाइहरूलाई स्वीकार्ने हो भने पार्टी राजनीतिक रूपले दक्षिणपन्थी, सुधारवादी, यथास्थितिवादी दलदलमा त फस्ने नै छ, साथसाथै क्रान्तिकारी आन्दोलन र पार्टीलाई विसर्जनको परिणाममा पुर्याउनेछ । यो प्रस्तावलाई कुनै पनि क्रान्तिकारीले स्वीकार गर्न सम्भव छैन ।

उल्लिखित परिस्थितिमा हामीले कमरेड किरणसहितको नेतृत्वसँग एउटै पार्टीमा रहेर सहकार्य गर्न असम्भव देख्यौँ । जब क्रान्ति, पार्टी, क्रान्तिकारी आन्दोलनलाई हेर्ने र प्रयोग गर्नेमा आधारभूत रूपले अन्तर पर्न जान्छ भने त्यहाँ सँगै रहेर काम–कार्यमा एकअर्कालाई बाधा पार्नु उचित र नैतिक हुँदैन । यसर्थ हामीले आजका मितिदेखि कमरेड किरणको नेतृत्वसँग सम्बन्धविच्छेद गरेको जानकारी गराउन चाहन्छौँ । प्रिय कमरेडहरू, नेपाली राजनीतिक वर्गसङ्घर्षको विशिष्ट वस्तुगत अवस्थाले हाम्रो सहकार्य हाललाई टुटे पनि हामी सबै नेपाली जनता, पार्टी, क्रान्ति, सर्वहारा वर्ग र वैज्ञानिक समाजवादको आदर्शप्रति समर्पित रहँदै जाँदा नयाँ सहकार्यको सुनौलो अवसर पनि प्राप्त हुनेछ भन्ने विश्वास छ । निश्चय नै यो हाम्रो जीवनको अप्रिय निर्णय हो । परन्तु यसलाई हामीले कुनै व्यक्तिगत आग्रह–पूर्वाग्रहको उपज नठानी एक–अर्काप्रति सरल र शिष्ट बन्दै क्रान्तिको नयाँ प्रक्रियामा अगाडि बढौँ भन्ने विशेष अपिल गर्दछौँ ।

क्रान्तिकारी अभिवादनसहित ।
विप्लव
(सचिव)
ने.क.पा.—माओवादी
मितिः ८ मङ्सिर, २०७१

(विप्लवले २०७१ मङ्सिर ८ गते तत्कालिन नेकपा—माओवादी मा मोहनबैद्य किरण सँगै उक्त पार्टीको सचिवको जिम्मेवारीमा रहदा यो पत्र लेखेका हुन् ।)