चिसो बढ्योः जाडोयामसँगै सङ्क्रमण बढ्ने सम्भावना, स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूको सुझाव
विशेषगरी शिशु, महिला र वृद्धवृद्धालाई न्यानोमा बस्न आग्रह
काठमाण्डौं । जाडोयाममा कोरोनाभाइरससहित विभिन्न किसिमका सङ्क्रमणको सम्भावना अझ बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमण दर केही कम भएपनि जोडोले समस्या बढ्न सक्ने देखिएको छ।
चिसो मौसममा कोरोनाभाइरससँगै इन्फ्लूएन्जा र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने अन्य भाइरसहरू बढी सक्रिय बन्ने विज्ञहरू बताउँछन्। त्यस्ता भाइरसले गराउने सङ्क्रमणबाट बच्न विशेष सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ।
सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदीका भनाइमा नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमण कम देखिनुमा दुईवटा प्रमुख कारण रहेका हुनसक्छन्।पहिलो, धेरै नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भइसकेकाले शरीरमा एन्टिबडी कायम रहनु। दोस्रो, खोप लगाउनेहरूको सङ्ख्या बढ्नु।
अहिले हामीलाई केले जोगाइराखेको छ भने एउटा त समुदायमा धेरैलाई कोभिड भइसकेको छ। केही अघिको सीरो प्रीभलन्स सर्भेुले पनि ६८ प्रतिशतलाई सङ्क्रमण देखाएको थियो, उनले भने। खोपको प्रयोग र कोभिड भइसकेकाले धेरै व्यक्तिमा अहिले एन्टिबडी रहेकाले सङ्क्रमण कम देखिन थालेको उनको भनाइ छ।
तर विभिन्न देशहरूमा गरिएका अध्ययनले कोभिड भएर वा खोप लगाएर विकास भएको प्रतिरोधी क्षमता बिस्तारै कम हुँदै जाने देखाएको उनी बताउँछन्।त्यसले गर्दा जाडो मौसममा भाइरसहरू सक्रिय हुने भएकाले विशेषगरी दीर्घरोगी र ज्येष्ठ नागरिकहरूमा सङ्क्रमण बढ्न सक्ने सुवेदीको भनाइ छ।
जाडोमा झ्यालढोका लगाएर बस्ने तथा मानिसहरू एउटै कोठामा गुम्सिएर बस्ने गर्दा सङ्क्रमण सर्ने दर पनि बढ्न सक्ने भएकाले सतर्क हुनुपर्ने सुवेदीको सुझाव छ। चिकित्सकहरूका अनुसार जाडो महिनामा कोभिड १९ बाहेक अन्य सङ्क्रमण पनि हुन सक्छन्।
यस बेला विशेषगरी श्वासप्रश्वाससम्बन्धी भाइरसहरू नै सक्रिय बन्ने भएकाले त्यससँग सम्बन्धित सङ्क्रमणको डर धेरै हुने उनीहरू बताउँछन्।चिकित्सकहरूका भनाइमा चिसो बढी हुने र पानी कम पर्ने मौसम भएकाले यस बेलामा छाला तथा आँखासम्बन्धी सङ्क्रमण पनि हुन सक्छ।
कोभिडपछि जाडोमा हुन सक्ने अर्को घातक सङ्क्रमण इन्फ्लूएन्जा भाइरसको भएको विज्ञहरूको भनाइ छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि इन्फ्लूएन्जा भाइरसको सङ्क्रमण जाडोमा बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ।
मन्त्रालयले चार दिनअघि जारी गरेको एउटा सूचनामा भनिएको छ, इन्फ्लूएन्जालाई बोलीचालीको भाषामा फ्लू भनिन्छ। यो इन्फ्लूएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो। जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्न सक्छ।
मन्त्रालयले इन्फ्लूएन्जाबाट बच्न अपनाउनुपर्ने सतर्कताबारे पनि सूचनामा उल्लेख गरेको छ। इन्फ्लूएन्जाबाट बच्न पनि कोभिडबाट जोगिन अपनाएका जस्तै स्वास्थ्य सावधानीहरू भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाछ्युँ गर्दा आफ्नो मुख छोप्ने, बिरामी हुँदा घरैमा बस्ने, बेलाबेलामा साबुनपानीले हात धुने, झोल कुरा खानेलगायतका कुरा गर्नुपर्ने मन्त्रालयको सुझाव छ।
इन्फ्लूएन्जा भएका व्यक्तिहरूलाई ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, खोकी र हाछ्युँ आउने, नाक बन्द हुने, सिँगान बग्ने, थकान महसुस हुने, जीउ दुख्ने लगायतका लक्षणहरू देखिने मन्त्रालयले जनाएको छ।
इन्फ्लूएन्जाबाट बच्न त्यसविरुद्ध पनि खोप पाइने भएकाले जाडो लाग्नेबित्तिकै विशेषगरी दीर्घरोगी र पाको उमेरका व्यक्तिहरूले खोप लगाउनु उपयुक्त हुने डा. सुवेदीको सुझाव छ। चिकित्सकहरूका अनुसार जाडो महिनामा जन्मिएका बच्चा र सुत्केरी आमाहरूको स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।
नवजात शिशुहरूलाई पनि इन्फ्लूएन्जा हुन सक्ने बताउँछन् काठमाण्डूस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका उपनिर्देशक डा. श्रीप्रसाद अधिकारी।
आमाको कोखमा ३७ डिग्री सेल्सीअसको तापक्रममा रहेको बच्चालाई जन्मिएपछि चिसोले सताउन सक्छ। बच्चालाई चिसोबाट बचाउन नसक्दा कतिपय अवस्थामा मृत्यु पनि हुन सक्छ। त्यसैले विशेष सतर्कता अपनाउनुपर्छ, उनले भने।
जाडोका बेला विशेषगरी फ्लू लगाउने भाइरस सक्रिय हुने भएकाले आमा र बच्चालाई त्यसबाट बचाउनु आवश्यक हुन्छ। उनले इन्फ्लूएन्जा भाइरसबाट बच्नका लागि खोप लगाउन सकिने बताए। नेपाल सरकारले खोपको राष्ट्रिय गाइडलाइनमा नराखेको भए पनि इन्फ्लूएन्जाको खोप उपलब्ध भएकाले विशेषगरी जोखिम समूहका व्यक्तिहरूले लगाउँदा उपयुक्त हुन्छ, उनले भने।
जाडो मौसममा आँखामा पनि विभिन्न खाले सङ्क्रमण हुनसक्ने चिकित्सकहरू बताउँछन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जकी सहप्राध्यापक तथा आँखा रोग विशेषज्ञ डा। रञ्जु खरेल सिटौलाका अनुसार जाडोका बेलामा विशेषगरी आँखा सुक्खा हुने, आँखा पाक्ने र आँसु बगिरहने जस्ता समस्या देखा पर्न सक्छन्।
त्यस्तै चस्माको साटो लेन्स लगाउनेलाई जाडो मौसममा असहज हुन सक्छ। जाडो र वायु प्रदूषण बढेका बेला प्रदूषणको असरका कारण आँखामा गम्भीरखाले असर पनि देखिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।
उनले भनिन्, जाडोमा हामी जीउलाई तातो राख्नका लागि घरैभित्र बस्छौँ र झ्यालढोका लगाएर हीटर बालेर बस्छौँ त्यसले गर्दा घरभित्र सुक्खा अवस्था बन्छ। त्यस कारण हाम्रो आँखा सुक्खा बन्छ। घरबाहिर निस्कँदा पनि मानिसहरूले जाडो महिनामा सनग्लास लगाउने गर्दैनन् तर घाम बादलभित्र भए पनि त्यसको खराब विकिरण आइरहेको हुन्छ। त्यसैले सनग्लास लगाउनु उपयुक्त हुन्छ।
वातावरण तथा मौसमविद्हरूका अनुसार अहिले नेपालका विभिन्न भेगमा भारततर्फबाट आएको प्रदूषण भित्रिएको अवस्था छ। यस्तो बेलामा आँखा पाक्ने लगायतका सङ्क्रमण पनि हुन सक्ने उनी बताउँछिन्। सहप्राध्यापक सिटौलाका अनुसार जाडोमा श्वासप्रश्वासमा सङ्क्रमण गराउने एडिनोभाइरस निकै सक्रिय हुने गर्छ।
उक्त भाइरसले श्वासप्रश्वासमा मात्र होइन आँखा र नाकमा पनि सङ्क्रमण गराउन सक्छ। उनले भनिन्, उक्त भाइरसले सतायो भने रुघाखोकी लाग्नुअघि वा लागेपछि आँखा पाक्ने हुन्छ। यो भाइरसले आँखा पाक्यो भने कचेरा बाक्लो नभई पातलो खालको लाग्छ। यो एकदमै चाँडै सर्ने खालको भएकाले एउटा आँखाबाट अर्कोमा सरिहाल्छ। त्यस्तै एक व्यक्तिबाट अर्कोमा पनि चाँडै सर्न सक्छ।
जाडोमा आँखा पाकेमा वा रुघाखोकी लाग्दा पनि खोक्दा वा हाछ्युँ गरेपछि हातले आँखा नछुन उनी सुझाव दिन्छिन्। उनी आँखालाई सुक्खा हुनबाट बचाउनका लागि जाडोमा घरभित्र बस्दा हीटर बाले पनि झ्यालढोका पूरै बन्द नगर्न सुझाव दिन्छिन्।
त्यस्तै हीटरमा आँखाले सीधा नहेर्ने, पानी प्रशस्त पिउने, बाहिर निस्कँदा सनग्लास लगाउने लगायतका सुरक्षात्मक उपाय अपनाउन उनी सुझाव दिन्छिन्। केही दिनदेखि देशैभरि तापक्रम कम हुँदै गएको र तुँवालो लागेको जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले बताएका छन्।
विभागका अनुसार देशका केही हिमाली भागमा बिहीवारदेखि हिमपात भएको छ। त्यसले आगामी दिनमा चिसो अझै बढाउने देखिन्छ भने अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देशैभरि परेको छ।
त्यसले गर्दा बादल र तुवाँलो लागेको विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् नीराजन सापकोटाले बताए। उनका अनुसार आगामी आइतवारदेखि भने बादल हटेर घाम लाग्न सक्ने पूर्वानुमान गरिएको छ। बीबीसीबाट