दुुवै बारको निष्कर्षः प्रधानन्यायाधीश पूर्ण असफल, तत्काल राजीनामा दिनुको विकल्प छैन

नैतिक संकटमा प्रधानन्यायाधीश

काठमाण्डौं । विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन चौतर्फी दबाब आएको छ । सोमबार बसेको सर्वोच्च अदालत बार एशोसिएशनको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै थप दबाब सिर्जना गरेको हो ।

चौतर्फी रूपमा राजीनामा माग भएपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश जबरालाई सोमबारको सर्वोच्च बारको बैठकले थप तनाव उत्पन्न गरेको छ । बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै सोमबार नै बसेको नेपाल बार एशोसिएसनको बैठकले पनि प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको बुझिएको छ । सर्वोच्च अदालत बारका सचिव ऋषिराम घिमिरेले सोमबार विज्ञप्ति जारी गर्दै उनको राजीनामा माग गरेको छ ।

उक्त विज्ञप्तिमा न्यायालयमा सिर्जिन विकृति, विसंगतिका सम्बन्धमा अध्ययन गरी तयार भएको प्रतिवेदनसमेत कार्यान्वयन गर्नबाट हच्किई सुधारका कार्यमा समेत बाधा अड्चन गरेबाट नेतृत्व असफल भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अगाडी भनिएको छ– ‘यो गम्भीर परिस्थितिमा यस बार एशोसिएसनका पूर्व अध्यक्ष तथा पूर्वसचिवसमेत रहेको सल्लाहकार समितिद्वारा २०७८ साल कात्तिक ८ मा प्राप्त सल्लाह र सुझावसमेतका आधारमा आजै बसेको कार्यसमितिको बैठकले न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको ठहर गरेको हुँदा न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्गप्रशस्त गर्न सम्मानननीय प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष सर्वोच्च अदालत बार एशोसिएसन जोडदार माग गर्दछ ।’

नेपाल बार र सर्वोच्च बार दुवैले प्रधानन्यायाधीशले गतिरोधको निकास दिनुपर्ने भन्दै राजीनामाका माग गर्दै आएका छन् । त्यस्तै उनीहरुले सोमबार नै आधिकारिक रूपमा प्रधानन्यायाधीश जबरा असफल भएको निष्कर्ष समेत निकाले ।

त्यस्तै प्रधानन्यायाधीशले प्रभावकारी भूमिका निर्वाह गर्न असफल तथा अक्षम रहेको सर्वोच्च बारले पनि निष्कर्ष निकालेको छ । सर्वोच्च बारले विज्ञप्ति जारी गर्दै भनेको छ ‘न्यायिक नेतृत्व सम्पूंर्ण रूपमा असफल भएको ठहर गरेको हुँदा न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्ग प्रशस्त गनुपर्छ ।’

सर्वोच्चका सबै न्यायाधीशहरु एउटै भाषामा प्रधानन्यायाधीश जबराको विरुद्धमा उभिएका थिए । न्यायाधीशहरूको बैठक दिउँसो १ बजेर ५५ मिनेटमा मात्र सकिएको थियो । बैठकको निर्णय– प्रधानन्यायाधीशलाई राजीनामाका लागि आग्रह गर्नेमै सिमित थियो ।

प्रधानन्यायाधीश जबराले आज नेपाल बार एसोसियसनका पदाधिकारीलाई आमञ्त्रण गरी सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका थिए तर, बैठकमा न्यायाधीशहरू उपस्थित भएनन र त्यसलाई बहिष्कार गर्दै उनको राजिनामा माग गरे ।

न्यायाधीशहरूको बहिष्कारपछि आज न फुलकोर्ट बस्न सक्यो न इजलास नै अघि बढ्यो । त्यसले सर्वोच्चको न्यायिक प्रक्रिया शून्य बन्न पुग्यो । सोमबार जबराले ६ संयुक्त इजलास र १ एकल इजलास तोकेका थिए । तर, कुनै पनि इजलासमा मुद्दाको प्रक्रिया अगाडि बढ्न नसकेको बुझिएको छ ।

आइतबार नेपाल बार एसोसिएसनसँगको छलफलपछि प्रधानन्यायाधीशले एजेन्डामा सल्लाह नै नगरी बोलाएको भन्दै १४ न्यायाधीशले फुलकोर्ट बहिष्कारको घोषणा गरेका थिए । न्यायाधीशहरूको यो घोषणासँगै सोमबार घटना क्रमले कस्तो मोड लिन्छ भन्ने चासोको विषय बनेको थियो ।

त्यस्तै भोलि (मंगलबार) साढे ११ बजे न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई भेटेर राजीनामाका लागि आग्रह गर्ने भएका छन् ।न्यायाधीशहरूले प्रधानन्यायाधीशको सम्मानजनक बर्हिगमन चाहेका छन् । उनीहरूले प्रधानन्यायाधीशलाई स्पष्टीकरण दिएर राजीनामाका लागि आग्रह गर्न लागेका हुन् ।