राप्ती नदीको भंगालोमा फसेका ४ जनाको उद्धार

बाँके । बाँकेको राप्ती नदीको भंगालोमा फसेका ४ जनालाई सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्धार गरेको छ ।

डुडुवा गाउँपालिका ४ का ३० बर्षीय प्रमोद लोनिया, ६५ बर्षीय महोमद नजिर, ५७ बर्षीय सौखद नाउ र ५५ बर्षीय साक्बिर खाँलाई १३ घण्टापछि सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएको सशस्त्र प्रहरी निरीक्षक धन बहादुर बोहराको विपद व्यवस्थापन टोलीले सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिका छन् ।

डुडुवा गाउँपालिका ५ मा पर्ने खजुरा खोला तरेर सोमबार बिहान ११ बजे जंगली करेली खोज्न गएका ती ४ जना साँझ फर्किने क्रममा बर्षाका कारण राप्ती नदी बढेकाले खजुरा खोला र राप्तीको भंगालोमा फसेका थिए ।

उनीहरुलाई इलाका प्रहरी कर्यालय बनकट्टी “क“ बाट गएको प्रहरी नायब निरीक्षक गोपाल शर्माको प्रहरी टोली र स्थानीयहरुको सक्रियतामा सकुशल उद्दार गरिएको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए ।

सोमबार बिहान ११ बजे करेली खोज्न गएका ती ४ जना स्थानीयहरु नदीको भंगालोमा फसेको सशस्त्र प्रहरीले राती ७ बजे जानकारी पाउनासाथ सशस्त्र प्रहरी निरीक्षक बोहरासहित विपद व्यवस्थापनको ११ जना टोली त्यसतर्फ प्रस्थान गरेको थियो ।

राप्ती नदी बढेर भेल ठूलो भएका कारण रातभरको प्रयास पश्चात् ती ४ जना स्थानीयहरुको मंगलवार बिहान ८ बजे मात्र उद्धार सफल भएको सशस्त्र प्रहरीले बताएको छ । उद्धार पश्चात् ४ जनालाई स्थानीय वडा अध्यक्ष सगिर खाँको जिम्मा लगाई घर पठाइएको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिनुभयो ।