भारतीय जलसेनाको ३९ सदस्यिय उच्च टोली आज काठमाडौं आउँदै

प्रधानमन्त्री देउवा लगाएतसँग भेटवार्ता गर्ने

काठमाडौं । आज भारतीय जलसेनाको ३९ सदस्यिय उच्च टोली काठमाडौं आउँदै छ । भारतीय जलसेनाका वरिष्ठ सैनिक अधिकारी धिरेन भिगको नेतृत्वमा उक्त टोली काठमाडौ आउन लागेको हो ।

कमाण्ड तथा स्टाफ कलेज गर्ने क्रममा भारतीय र नेपाली सैनिकका अधिकारीहरुबिच एक अर्को मुलुक भ्रमण गर्ने परम्परा अनुसार उक्त सैनिक टोली नेपाल आउँन लागेको परराष्ट्र मन्त्रालय श्रोतबाट बुझिएको छ ।

भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा डिफेन्स कोर्ष गरिरहेका भारतीय सैनिक अधिकारीहरुको टोली नेपाल आउँन लागेको र उनीहरुले विभिन्न वरिष्ठ व्यक्तिहरुसँग भेटघाट गर्ने तथा विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आज पुग्ने उक्त भारतीय सेनाको टोली कार्तिक ६ गते सम्म नेपालमा रहने बताइएको छ । उक्त सैनिक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री मिनेन्द्र रिजाल, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री नारायण खडका लगाएतसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

टोलीले जंगी अड्डा भद्रकाली, पोखरास्थित मध्य–कमाण्ड हेडक्वाटर, शिवपुरी स्थित कमाण्ड तथा स्टाफ कलेजको अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

साथै धार्मिक एवं पर्यटकीय क्षेत्रहरु पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, नाम्चे स्थित होटल एभरेष्ट भ्यु र चन्द्रागिरीको समेत भ्रमण गर्ने बताइएको छ ।