देशभरको मौसमी अवस्थामा फेरबदलः तीन दिनको केही स्थानमा मेघगर्जनसहित आंशिक वर्षा हुने

न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग महाशाखाले आगामी तीन दिनसम्मको मौसमी अवस्थामा फेरबदल हुने बताउँदै सूचना सार्वजनिक गरेको छ । विभागले हिजो तीनदिनको मौसमी अवस्थाबारे जनाउँदै जारी गरेको सूचना अनुसार देशभर आंशिक बदली हुने जनाएको छ ।

मौसम विज्ञान विभागका अनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले मौसममा बदली हुन लागेको हो ।

न्यून चापीय प्रणालीको प्रभाव नेपालसम्म पर्ने जनाउँदै मौसम विभागले तीन दिनसम्म मौसममा बदली हुने र कतै आंशिक त कतै मेघ गर्जन सहित भारी बर्षा हुनसक्ने जनाएको छ । विभागले आफ्नो मौसम पूर्वानुमान बुलेटिनमा उक्त सूचना प्रकाशन गर्दै भनेकोाा छ–‘उपत्यकासहित मुलुकका कतिपय स्थानमा शनिबार रातिदेखि नै वर्षा सुरु भएको छ । वर्षा भएर केही समय खुले पनि आज दिउँसोबाट आंशिक बदली हुने सम्भावना रहेको छ ।’

विभागका अनुसार आज प्रदेश नं १, प्रदेश नं २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश नं १, २ र बाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना समेत रहेको बताइएको छ ।

रातिको समयमा पनि मौसमी प्रणालीमा फेरबदल हुने बताइएको छ । त्यस्तै आज प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र हावाहुरीसहित भारीदेखि हल्का र मध्यम सम्मको वर्षाको हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरको छ ।