राजनीतिक दलहरु टुटफुटको नालीवेली: कांग्रेसमा गुटको इतिहास, कम्युनिष्टमा टुटैफुट

मधेसी दल: सत्ता स्वार्थको सिकार

काठमाण्डौं । नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीको स्थापना लगभग उस्तै समयमा भएको थियो। २००६ चैत २७ मा नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसबीच एकता भई नेपाली कांग्रेस स्थापना भयो भने २००६ वैशाख १० मा कम्युनिष्ट पार्टी गठन भयो।

सैद्धान्तिक रूपमा मूलत: कम्युनिष्ट पार्टी एकै ठाउँ हुने भएपनि नेतृत्व र जुँघाको लडाइँले दर्जनौं हाँगाबिगामा विभाजित छ। पुरानो र लोकतान्त्रिक पार्टी कांग्रेसमा पनि नेतृत्वकै विवादका कारण दुई पटक ठूलो विभाजनको शिकार हुनुपर्‍यो।

रोचक पक्ष त के छ भने कांग्रेस सत्तामै भएका पार्टी विभाजन भएको थियो। विभाजनकै कारण ‘मधेस मुद्दा’ स्थापित गर्न भन्दै गजेन्द्रनारायण सिंहले स्थापना गरेको सद्भावना पार्टी राष्ट्रिय राजनीतिबाटै ‘लोप’ हुन थालिसक्यो। त्यसपछि गठन भएका तमलोपा र फोरमबीच टुटफुटका दर्जनौंश्रृंखला चले।

माओवादी पार्टी पनि टुटफुटकै कारण राष्ट्रिय राजनीतिमा खुम्चिदै गएको छ। मुख्य पार्टीमा भएको टुटफुटको श्रृंखलाबारे विशेष रिपोर्ट यहाँ प्रस्तुत गरिएको छ ।

कम्युनिष्टहरू ७२ पटक ‘टुटफुट’

नेपाल कम्युनिष्ट पार्टीको स्थापना २२ अप्रिल १९४९ (वैशाख १०, २००६) मा भारतको कलकत्तामा भएको थियो। कम्युनिष्ट आन्दोलनको स्थापनाको झन्डै ७२ वर्षमा ७२ पटक नै टुटफुटको सामना गर्नुपरेको छ।पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी संस्थापक रहेको कम्युनिष्ट पार्टीले स्थापनाको ११ वर्षमै विभाजनको शिकार हुनुपरेको थियो।

२००८असोज ११ देखि १६ गतेसम्म भारतको कलकत्तामा प्रथम सम्मेलन सम्पन्न गरी जनवादी कार्यक्रम पारित गरेको थियो। प्रथम सम्मेलनबाट पुष्पलाल महासचिवमा चयन भएका थिए। २०१३ सालमा मनमोहन अधिकारी चीन जाँदा केशरजंग रायमाझी कार्यवाहक महासचिव बने। त्यसपछि पार्टी दक्षिणपन्थी दिशामा गयो, पार्टीभित्र विवाद सुरु भयो।

२०१४ मा काठमाडौंको फोहरामा दोस्रो महाधिवेशन भयो। महासचिव भने रायमाझी नै रहे। रायमाझी राजतन्त्रलाई नै मानेर अघि बढ्नुपर्छ भन्नेमा थिए। पार्टीभित्र विवाद बढ्दै गएपछि २०१७ सालमा भारतको दरभंगामा पार्टीको विशेष विस्तारित बैठक बस्यो। बैठकले रायमाझीलाई कारबाही गर्‍यो।

कम्युनिष्ट आन्दोलनमा त्यहीबाट फुट सुरु भयो।२०१९ सालमा वनारसमा भएको तेस्रो महाधिवेशनले तुल्सीलाल अमात्यलाई महासचिव निर्वाचित गर्‍यो।पार्टीभित्रको विवाद हल हुन सकेन। नेताबीचको तिब्र विवादले २०२३ सालसम्म कम्युनिष्ट पार्टी अस्तित्व नै समाप्त हुने स्थितिमा पुग्यो।

पूर्व मेची कोसी प्रान्तीय कमिटी गठन भयो। अर्कोतिर रायमाझीको समूह समूह छुट्टियो। २०२५ सालमा पुष्पलालको नेतृत्वमा पार्टी पुनर्गठनको प्रयास भयो। पुष्पलालको नेतृत्वमा नयाँ केन्द्रीय कमिटि गठन भयो। तर तुलसीलाल अमात्य समूह अलग भयो।

२०२८ सालमा नेपाल कम्युनिष्ट आन्दोलनका अर्का दुईवटा लाइन देखा परे। झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस। पुष्पलालको पार्टी भने यी दुवै पक्षमा देखा परेन। एउटाको नेतृत्व सीपी मैनालीले गर्थे। अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गर्थे। यी दुई समूहबीच लामो समयसम्म ध्रुवीकरण रह्यो। तर यी दुई समूह पनि फुट्दै दर्जनौं स–साना समूहमा विभाजित छन्।

सत्ताको भोक चरम सीमामा पुगेपछि दलहरू फुटको संघारमा पुग्ने गरेको छ।अधिकारको नाममा सबै जुट्छन्, सत्ताको लोभमा टुक्रा–टुक्रामा फुट्छन्। २०३५साउनमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निधनपछि मदन भण्डारी, बामदेव गौतमसहित नेताहरूले छुट्टिएर मुक्ति मोर्चा समूह बनाए।
यता झापाको सीपी मैनाली लगायतको विद्रोही समूहले अखिल नेपाल कोअर्डिनेसन कमिटी बनाएको थियो। दुवै समूह मिलेर २०३५ पुस ११ गते सीपी मैनालीको नेतृत्वमा नेकपा (माले) बन्यो। त्यहीबाट हालको एमालेको इतिहास सुरु भएको मानिन्छ। मनमोहन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (मनमोहन) नामक आफ्नो छुट्टै पार्टी खोले।

२०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता भयो र नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) गठन भयो। २०४६ को जनआन्दोलनमा मनमोहन नेतृत्वको माक्र्सवादी र सीपी मैनालीको मालेसहित अन्य साना वाम समूहले मोर्चा बनाए।

एमालेको ०४९ माघमा भएको पाँचौ महाधिवेशनले मदन भण्डरीलाई महासचिव चयन गर्‍यो। जनताको बहुदलीय जनवाद (जबज) लागूगर्‍यो। २०५० जेठ ३ गते मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भयो। त्यसपछि माधवकुमार नेपाल महासचिव बने।

कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारद्धारा भारतसँग गरेको महाकाली सन्धिलाई लिएर पार्टीभित्र तीव्र विवाद भयो। नेपाल र केपी ओली सम्झौताको पक्षमा उभिए। वामदेव गौतम लगायतका नेता विपक्षमा उभिए। विवादकै कारण ०५४ मा एमालेमा पहिलोपटक विभाजन भयो। वामदेव गौतम, सपना प्रधान लगायतका नेताद्धारा नेकपा माले गठन गरे।

२०५८ मा एमाले र मालेबीच पार्टी एकता भयो। तर सीपी मैनालीले मालेको नाममा पार्टी सञ्चालन गरिरहे। ०७५ जेठ ३ मा एमाले र माओवादीबीच पार्टी एकता गरी नेकपा गठन भयो। एकतापछि पार्टीभित्र तिब्र विवाद देखिएकै बेला २०७७ फागुन २६ गते सर्वोच्चको फैसला अनुसार नेकपा एकता बदर भयो।

एमाले र माओवादी केन्द्र साविककै पुरानै पार्टीमा फर्के। तर एमालेभित्रको विवाद बढ्दै गयो। ०७८ भदौ २ गते ओली र नेपाल पक्ष गरी एमालेमा पुन: विभाजन आयो। नेपाल र झलनाथ खनाल पक्षले नेकपा एमाले (समाजवादी) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरे।

उदयदेखि नै माओवादीमा फुटको सुरुआत

माओवादी धारको जग मोहनविक्रम सिंहले नेतृत्व गरेको चौथो महाधिवेशनलाई मानिन्छ। २०३६ सालमा राजाले गराएको जनमत संग्रहलाई लिएर पार्टीमा विवाद भयो। विवाद बढ्दै जाँदा २०४० सालमा निर्मल लामा समूहले नेकपा (चौम) गठन गर्‍यो।

मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राख्यो र महामन्त्रीमा मोहनविक्रम चयन भए। नेकपा मसालको पाँचौं महाधिवेशन पनि जुट्नेभन्दा फुट्ने कारण बन्यो। महाधिवेशनले यौनदुराचारको आरोपमा मोहनविक्रम सिंहलाई कारबाही गर्‍यो।

२०४१ सालमा भएको पाँचौं महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य (किरण) निर्वाचित भए। मोहनविक्रमले चित्रबहादुर केसीसहित चार केन्द्रीय सदस्य लिएर नेकपा मसाल (पातलो स) नामको पार्टी गरे।

वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल (मोटो श) राखियो। २०४५ सालमा नेकपा मशालले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महामन्त्री बनायो। माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गर्‍यो।

बहुदल आएपछि प्रचण्डको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) गठन भयो। मोहनविक्रमको पार्टीबाट बाबुराम भट्टराई पनि एकता केन्द्रमा मिसिए।

एकताको दुई वर्षमै सशस्त्र युद्धमा जाने कि नजाने भनेर पार्टीभित्र फेरि विवाद सुरु भयो। निर्मल लामाहरूले एकता केन्द्र छोडे।सशस्त्र युद्धमा जानुपर्ने पक्षमा रहेको प्रचण्ड नेतृत्वको एकता केन्द्रले पार्टीको नाम नेकपा माओवादी राख्यो। जनयुद्धको घोषणा गरेर यो पार्टी युद्धमा गयो।

मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रबीच ०५९ सालमा एकता भयो। २०६९ सालमा माओवादीमा ठूलो विभाजन आयो। मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादी नामको अर्को पार्टी गठन भयो। रामबहादुर थापा लगायतका नेताहरू एकतामा आएपछि २०७३ मा पार्टीको नाम नेकपा माओवादी केन्द्र राखियो।

कांग्रेसमा सुरुदेखि नै गुटको इतिहास

कांग्रेस सत्तामै भएको बेला फुट्ने गरेको रमाइलो इतिहास छ। २००९ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र बीपी कोइराला सभापति बनेका बेला पहिलोपटक कांग्रेसमा विभाजन भयो। २०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री र गिरिजाप्रसाद कोइराला सभापति बनेका बेला कांग्रेसमा ठूलो फुट आयो।

कांग्रेस जुट्दै र फुट्दै आएपनि ‘गुट’को खुलेआम बार्गेनिङ हुन्छ। कांग्रेसको इतिहास गुटको इतिहास भन्ने गरिन्छ। २००८सालमा राणा कांग्रेस मन्त्रिपरिषद् पतन हुनुमा कांग्रेसभित्र बीपी र मातृका गुटको टकराव मुख्य कारण थियो। मातृका गुटलाई विपी गुटले कारबाही गरेपछि पार्टी फुटेको थियो।

२०५९ मा देउवा प्रधानमन्त्री थिए। उनलाई संकटकाल नथप्न पार्टीको निर्देशन थियो। तर देउवाले अटेर गरेको भन्दै पार्टी सभापति गिरिजाप्रसादले कारबाही गरे। उनले २०५९ असारमा पार्टी विभाजन गरी कांग्रेस प्रजातान्त्रिक गठन गरे।२०६४ मा कांग्रेसबीच पुन: पार्टी एकता भयो।

संसद् विघटन गरी२०५१ सालमा मध्यावधि निर्वाचन गर्नेकोइरालाको निर्णयप्रति गणेशमान सिंह असन्तुष्ट बने। उनले २०५१ को निर्वाचनमा देशैभर विद्रोही उम्मेद्वार खडा गरे। उक्त चुनावबाट एमाले ठूलो पार्टी बन्यो।

मधेसी दल: सत्ताको लोभमा फुट्ने

अधिकारको नाममा सबै जुट्छन्, सत्ताको लोभमा टुक्रा–टुक्रामा फुट्छन्। मधेसी दलको बीस वर्षको विगतलाई नियाल्दा उनीहरूको प्रवृत्ति छेपाराको जस्तै छ– छिनछिनमै रंग बदलिरहने।

मधेसवादी दलहरू सत्ता स्वार्थका कारण बदनाम बन्दै आएको छ। जसको गतिलो उदाहरणको रूपमा जनता समाजवादी पार्टीको फुटले छर्लङ्ग पार्छ। जसपालाई फोडेर महन्थ ठाकुरले बुधबार नयाँ पार्टीको रूपमा जसपा नेपाल (लोकतान्त्रिक) जन्माएका छन्।

दुई कित्तामा विभक्त रहेको राजपा र समाजवादी पार्टी रातभरमा जनता समाजवादी पार्टी ९जसपा०को नाममा एक ढिक्का बन्यो। राजपाका महन्थ ठाकुर पक्षलाई फकाएर सत्तामा लग्यो।

उनी सरकारमा जानु नै जसपामा फुटको बिजारोपणको कारण बन्यो। ठाकुरले नयाँ दल जसपा नेपाल (लोकतान्त्रिक) खोलेका छन्। २०६२/६३ मा भएको राजतन्त्रविरुद्धको आन्दोलनमा १९ जना सहिद भए। मधेसको अधिकारवादी आन्दोलनमा १६५ जनाले बलिदानी दिइसकेका छन्।

नौ वर्षको अन्तरालमा तीनवटा मधेस आन्दोलन भए। यसैको बलमा नेताहरू मन्त्री भए तर मधेसको मुद्दा अझै अलपत्र छ। मधेसी दलको पहिचान र शक्ति मधेस नै हो। तर, उनीहरू मधेसलाई स्वार्थका लागि ठगिरहेका छन्।

२०४६ सालमा नेपाली कांग्रेस त्यागेर गजेन्द्रनारायण सिंहले सद्भावना परिषद् खोले। मधेसमा भइरहेको विभेदविरुद्ध मूल पार्टीहरूले काम नगरेको भन्दै उनले कांग्रेस त्यागेका थिए।

२०४७ सालमा देशमा बहुदल आयो। परिषद् फेरिए नेपाल सद्भावना पार्टी भयो। संघीयता यसको मुल एजेण्डा थियो। स्वार्थपिच्छे टुटफुट हुँदै २०५८–२०७० सम्म उक्त पार्टी नौ टुक्रा भयो।

सत्तामा नेताहरू पुगेपछि मधेस मुद्दा बिर्सेको आधारशिलामै २०५४ सालमा उपेन्द्र यादव ९जसपा अध्यक्ष०ले मधेसी जनअधिकार फोरम नामको संस्था खोले। अन्तरिम संविधानमा संघीयताजस्ता विषय नराखेको भन्दै यादवले माइतीघरमा संविधानको प्रतिलिपि जलाए। आन्दोलन चर्कियो ।

२०६४ वैशाखमा मधेसी जनअधिकार फोरमले दलका रूप लियो। उता कांग्रेसबाट ठाकुर बाहिरिएर २०६४ सालमै तराई मधेस लोकतान्त्रिक पार्टी खोले। यादव र ठाकुर नेतृत्वको मधेसवादी दल २०६४–०७८ सम्म कहिले जुटे त कहिले फुटे। २०७४ वैशाखमा ६ वटा मधेसकेन्द्रित दलबीच एकता भएर राष्ट्रिय जनता पार्टी ९राजपा० गठन भयो।

सत्ताको भोक चरम सीमामा पुगेपछि दलहरू फुटको संघारमा पुग्ने गरेको छ। २०७७ मा यादव नेतृत्वको समाजवादी पार्टी र राजपाबीच एकता भई जनता सामाजवादी पार्टी ९जसपा० बन्यो। जसपा फोडेर ठाकुरले २०७८ भदौ २ मा जसपा नेपाल (लोकतान्त्रिक) गठन गरेका छन्। यो दल पनि फुट्ने उतिकै सम्भावना छ।

(यो समाचार आजको अन्नपूर्णपोष्टमा प्रकाशित छ ।)