ठेउला र डेङ्गुका बिरामी जाँच्ने किट अभावभएपछि बिरामीहरु मारमा

निजी अस्पताल जान बाध्य

चितवन । चितवनको भरतपुर अस्पतालमा डेंगु र ठेउला (स्क्रब टाइफस) रोग परीक्षण गर्ने किटको अभाव भएपछि समस्या उत्पन्न भएको छ ।

किट सकिँदा १० दिनदेखि डंगु र १५ दिनदेखि स्क्रब टाइफसको परीक्षण रोकिएको भरतपुर अस्पताल प्रयोगशालका प्रमुख हरि थापाले जानकारी दिए ।

आफुहरुले किट उपल्बध गराउन स्वास्थ्य कार्यलय चितवनलाई जानकारी दिएपनि किट नआउँदा परीक्षण रोकिएको उनको भनाई छ । केन्द्रीय अस्पताल भरतपुरमा प्रदेशबाहेक केन्द्र सरकारबाट पनि किट आउँछ ।

सिस्टमबाट किट माग नभएकाले भरतपुर अस्पताललाई किट उपल्बध गराउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । यद्धपि अहिले स्वास्थ्य कार्यालय चितवनको स्टोरमा ४५ वटा डेंगु परीक्षणको किटमात्र छ ।

यहाँ स्क्रब टाइफसको परीक्षण किट सकिएको हप्तौँ भइसक्यो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडालाई स्वास्थ्य कार्यलय चितवनले किटनको माग गरेपनि हेटौँडाले एक महिनापछि मात्र किट उपलब्ध गराउने आवश्वास दिएको छ ।

यता निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। जगनाथ तिवारीका अनुसार बुधबार साँझमात्र दुई सय पिस स्क्रब टाइफस र २०० डेंगु पिस किट इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाबाट प्राप्त भएको बताए । बिहीबारबाट अवस्था सहज हुने उनको विश्वास छ ।

किट नहुँदा दैनिकजसो डेंगु र स्क्रब टाइफस रोगका लक्षण मिल्ने र उच्च ज्वरो आएका ५ देखि १० जनासम्म उपचार गराउन आउने बिरामी फर्किन्छन् । ती शंकास्पद बिरामीहरू रोगको परीक्षण गर्न नपाएपछि निजी अस्पताल जान बाध्य भएका थिए ।

(यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।)