उपेन्द्र यादवसँग १५ प्रश्न: ‘महन्थ समूहका नेताहरु पनि पार्टीमै हुनुहुन्छ भन्ने सम्झेका छौं’
सरकारमा माधव नेपाल समूहसहित सहभागी हुँदैछौं
काठमाण्डौं । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको १९ दिन भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । एमालेको माधवकुमार नेपाल समूहलाई सहभागी गराउने प्रयासस्वरुप मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको छ ।
यसै सन्दर्भमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग आइतबार अपराह्न पार्टी कार्यालय बालकुमारीमा इ–कान्तिपुरका लागि दुर्गा खनाल र कुलचन्द्र न्यौपानेले गरेको कुराकानी हामीले यहाँ सभार गरेका छौं, हेर्नुहोस् ।
१) सरकार बनेको १९ दिन भइसक्यो मन्त्रिपरिषद् विस्तार किन हुन सकेको छैन ?
:- हाम्रो पनि पार्टीको आधिकारिकताको सवाल थियो, त्यो टुंगिएको छ । अब चाँडै नै सरकारले पूर्णता पाउँछ । आइतबार बेलुकादेखि छलफल सुरू हुन्छ । मन्त्रालयहरू बाँडफाँट भएपछि मन्त्रीहरू चयन हुन्छन् ।
२) मन्त्रालयको भागबन्डा टुंगिएको छैन ?
:- हामी अहिलेसम्म त्यो विषयमा प्रवेश गरेका थिएनौं । सरकार बनिरहेको छ, चलिरहेछ भनेर अहिलेसम्म हामी त्यो विषयमा ठोस रूपमा प्रवेश नगरेका हौं ।
३) सरकारको विषयमा टुंगोमा पुग्न अहिले कार्यदल निर्माण भएको छ त्यसले के काम गरिरहेको छ ?
:- कार्यदलले साझा कार्यक्रम, सरकारले गर्नुपर्ने मुख्य काम, भूमिका र आचरणलगायतका कुराहरु तयार गर्यो । त्यो अन्तिम चरण र घोषणा हुने तयारीमा छ । मन्त्रालय बाँडफाँट भएपछि टुंगो लाग्छ ।
४) मन्त्रालय कसरी भागबन्डा गर्ने तयारी छ ?
:- मन्त्रालयको संख्याको विषयमा प्रवेश गर्न बाँकी छ । त्यो टुंगिएको भए त सबै कुरा भइसक्थ्यो नि ।
५) तपाईंहरूको आधिकारिकताका कारण पनि अल्झेको थियो । अहिलेचाहिँ एमालेको माधव नेपालका कारण अल्झेको हो ? नेपाल समूह पनि सरकारमा सहभागी हुने हो ?
:- माधव नेपाल समूह पनि सरकारमा सहभागी हुन्छ । उहाँसहित हामी सबै मिलेर बनाएको सरकार हो यो । सरकारमा सहभागी नहुने कुरै छैन ।
६) त्यसोभए माधव नेपाल समूह सरकार समर्थकमात्र होइन मन्त्रिपरिषद्मै सहभागी हुन्छ ?
:- हो, उहाँहरू मन्त्रीसहित नै सरकारमा आउनुहुन्छ । उहाँहरूका लागि सरकारमा जाने वातावरण बनेको छ । उहाँहरू (माधव नेपाल समूह) र हामीसँगै सरकारमा सहभागी हुने भन्ने छ ।
७) मन्त्रालय भागबन्डामा माधव नेपाल सहितको सहभागिताका लागि छलफल भइरहेको हो ?
:- हो । उहाँहरूसहितको छलफल भएको छ । राष्ट्रिय जनमोर्चाचाहिँ मन्त्रिपरिषद्मा भाग नलिने भनेको छ । अरूचाहिँ सबै सहभागी हुने कुरा छ ।
८) गठबन्धनको न्यूनतम साझा कार्यक्रम बनिरहेको छ । प्राथमिकता के–के छन् ?
:- मुख्य प्राथमिकता कोरोना हो । प्रत्येक जनतालाई खोप पुर्याउने भन्ने छ । त्यसपछि धरासायी हुँदै गरेको अर्थतन्त्रलाई आफ्नो खुट्टामा उभ्याउन प्रयास गर्ने, संघीयता कार्यान्वयन गर्ने लगायतका कुरा मुख्य छन् ।
९) तपाईंहरूले ओली सरकारलाई गलत भन्नुभयो तर अहिले तपाईंहरु पनि गलत बाटोमा जानुभएको हो कि ? एकजना मन्त्री नियुक्तिमै ठूलो विवाद भयो नि, यसलाई तपाईंले कसरी लिनु भएको छ ?
:- गलत काम गर्न हुँदैन । अर्काले गल्ती गर्यो भने गल्ती भन्ने अनि हामी खुदै गल्ती गर्यौं भने उनी र हामीमा फरक के भयो त ? त्यस कुरामा सावधान हुनुपर्छ ।
१०) जसपाबाट कसले नेतृत्व गर्छ ? कि तपाईं आफैं जाने ?
:- मन्त्रालय टुंगो लागेपछि निश्चित हुन्छ । पार्टीले जे निर्णय गर्छ त्यही हुने हो । अहिले नै केही निर्णय भइसकेको छैन ।
११) गठबन्धनमा धेरै दलहरू हुनुहुन्छ । यो गठबन्धन कति दीगो हुन्छ ? के आउँदो चुनावसम्मै लैजाने भन्ने हो ?
:- यो गठबन्धन चुनाव र त्यसपछिसम्म पनि रहन्छ । लोकतान्त्रिक गठबन्धनको रुपमा यसले संविधान, लोकतन्त्रको रक्षा, संविधान संशोधन र संघीयता कार्यान्वयन गर्न सक्छ । त्यस हिसाबले अघि बढ्नुपर्छ भन्ने लाग्छ ।
१२) जसपामा भर्खरै तपाईंहरूले आधिकारिकता पाउनुभएको छ । पार्टी अब कसरी अघि बढ्छ ? अर्को पक्ष (महन्थ ठाकुर) को हैसियत के हुन्छ ?
:- हामी समानता, स्वतन्त्रता, सामाजिक न्यायसहितको लोकतान्त्रिक दिशामा अघि बढ्छौं । पार्टी विभाजन त भएको छैन । जब केपी शर्मा ओलीले संसद् भंग गर्नु भयो त्यतिबेला यो कार्य असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी हो भनेर हामी संघर्षको मैदानमा पनि उत्रियौं । त्यो मैदानमा संघर्ष चलेकै बेलामा केही नेताहरू भागेर प्रतिगमनकारीकै मतियार बन्नुभयो । उहाँहरू बाटो बिराएर जानुभएको हो । केही साथीहरू मन्त्री बन्नका लागि सरकारमा जानुभयो । सरकारमा जानु आउनु ठूलो कुरा होइन तर पार्टी भएपछि त निर्णय गरेर सरकारमा जानुपर्छ । निर्णय गरेर नै सरकारबाट हट्नुपर्छ । तर उहाँहरूले निर्णय नगरी कोही दायाँबाट कोही बायाँबाट ओलीको खुट्टामुनिबाट छिरेर मन्त्री बन्नुभयो । गल्ती त उहाँहरूले गर्नु भएको हो । हामीले घोक्र्याएर निकालेको होइन । त्यसरी बाटो बिराउँदै लोभ–लालचमा फसेर वा अरुको खटनपटनमा खटिएर गएका साथीहरू हुन् ।
१३) राजपा पृष्ठभूमिका नेताहरुको पार्टीगत हैसियत अहिले के छ ?
:- उहाँहरू पार्टीमै हुनुहुन्छ भनेर हामीले सम्झेका छौं । उहाँहरूले कसरी सम्झिनु भएको छ थाह छैन ।
१४) महन्थ ठाकुरले म आफैं नै अध्यक्ष हुँ भन्नुभएको छ नि ?
:- उहाँहरूले आधिकारिकता गुमाइसक्नुभएको छ । आधिकारिकता गुमाइसकेपछि ‘म नै आधिकारिक हुँ’ भन्नु उचित हुँदैन । तैपनि हामीले उहाँहरू जसपामै रहेको सम्झेका छौं । उहाँहरूको पदको सन्दर्भमा पार्टीको विधान र विधिअनुसार हुन्छ । उहाँहरूको ट्रेन छुटिसक्यो । ओलीमार्गको ट्रेन पक्रेर उहाँहरु धेरै टाढा पुग्नुभएको छ । उहाँहरूले गरेको दाबीको पक्षमा १६ जना मात्र हुनुभयो भयो । पार्टी सिस्टममा बस्न बहुमतले गरेको निर्णय उहाँहरूले मान्नुपर्छ । उहाँहरू सुध्रेर, आत्मालोचना गरेर सच्याउन चाहनुहुन्छ भने उहाँहरुलाई सुध्रिने मौका हो । उहाँहरुका लागि हामीले ढोका बन्द गरेका छैनौं । तर उहाँहरुले पार्टीलाई नोक्सान गर्ने गलत कार्य गर्नुभयो ।
१५) तपाईं पूर्वपरराष्ट्रमन्त्री पनि हुनुहुन्छ, अहिले दार्चुलामा तुइनबाट खसेर एक नेपालीको निधन भएको घटनालाई कसरी लिनुभएको छ ?
:- यस्ता विषयका समस्या सडकबाट समस्या हल हुँदैनन् । यो समस्या हल गर्न परराष्ट्र मन्त्रालयले ‘डिम्प्लोम्याटिक नोट’मार्फत भारत सरकारलाई पठाउनुपर्छ र कुरा गर्नुपर्छ । यस खालको बहुपक्षीय समस्या आएमा वार्ताद्वारा कूटनीतिक माध्यमबाटै हल गर्नुपर्छ । यसका लागि परराष्ट्र मन्त्रालयले हल गरोस् । सरकारले परराष्ट्र मन्त्रालयलाई यस कुरामा चासो लेऊ र सत्यतथ्य भारत सरकारलाई प्रस्तुत गर भन्नुपर्छ ।
(यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।)