सरकारले दमनको बाटो लिएको एमाले अध्यक्ष ओलीको आरोप: प्रतिवाद गर्ने चेतावनी

नेता नेपाल समूहलाई धोकेबाज र बेइमानको संज्ञा

काठमाडौं । विभिन्न क्षेत्रबाट आएका स्काउटका सदस्यहरुलाई सभा सम्मेलनमा असर पार्ने ढंगले रोक्ने काम गरेको घटनाले देउवा सरकार दमनको बाटोमा अग्रसर भएको प्रष्ट संकेत भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कडा शब्दमा सरकारको आलोचना गरेका छन् ।

आज तुलसीलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले सरकारले नागरिक अधिकारको समेत हनन गर्दै सभा, सम्मेलनमा रोक लगाउँदै दमनको बाटोमा अघि बढेको आरोप लगाएका हुन ।

उनले उक्त कार्यक्रममा बोल्दै सरकारले दमनको बाटो नरोकेमा आफ्नो पार्टीले त्यसको सचेतनपूर्वक प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। उक्त अवसरमा उनले सरकारलाई दमन नगर्न खबरदारी समेत गरे।

उनले भने, ‘हामी सरकारलाई खबरदारी पनि गर्दछौं। दमन नरोकेमा प्रतिवाद गर्छौ र आवश्यक पर्‍यो भने प्रतिरोध पनि गर्छौ।’ उनले आफ्नो पार्टीकै माधव नेपाल समूहको धोका र बेईमानीका कारण विकास र संवृद्धीको बाटोमा बढिरहेको सरकार ढलेको भन्दै नेताहरुप्रति आक्रोश समेत व्यक्त गरे ।

उनले भने, ‘पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरुले देखाएको बाटोबाट हाम्रो पार्टी अघि बढेको छ ।’ उनले पार्टीमा धोका दिने, बेईमानी गर्नेहरु नेताहरु निर्लज्ज सावित हुने भन्दै आक्रोस व्यक्त गरे ।

उनले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई आफ्नो पार्टीले तलमाथि हुन नदिने दाबी गर्दै आवश्यक परेमा प्रतिरोध गर्ने चेतावनी दिए ।

मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकार नै चाहिन्छ भन्ने कुरा आफू नेतृत्वको सरकारले पुष्टि गरेर देखाएको उनको दाबी थियो ।

‘पार्टीप्रतिको निष्ठा, इमानसहित आफुले नेतृत्व गरेको सरकारले तीव्र गतिकासाथ विकास र सुशासनको काम अघि बढाउँदै गर्दा सरकार ढालिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए ।