गरिब किसान परिवारमा जन्मिएका पेद्रो कास्टियो बने पेरुका राष्ट्रपति

समावेशी, निष्पक्ष र स्वतन्त्र पेरु बनाउने उद्घोष

पेरु । लामो र तनावपूर्ण निर्वाचन प्रक्रियापश्चात् पेद्रो कास्टियोले पेरुको राष्ट्रपतिका रूपमा शपथ लिएका छन् । उनको विजयले राजनीतिक रूपमा गहिरोसँग विभाजित र महामारीले नराम्ररी प्रभावित पेरुको राजनीतिक तथा व्यापारिक उच्च वर्गलाई स्तब्ध पारिदिएको छ।

पेरुको एकदमै गरिब इलाकाको एउटा सानो गाउँमा जन्मिएका पेद्रो कास्टियोले खेतीपातीमा आफ्ना निरक्षर मातापितालाई सघाउँदै हुर्किएका थिए। बाल्यकालमा उनी विद्यालय जानका लागि दुई घण्टाभन्दा बढी हिँड्नुपर्थ्यो।

अन्तत: उनी एउटा विद्यालयका शिक्षक बने र पच्चिस वर्ष काम गरे। पछि उनी शिक्षक युनियनको नेता बने। नेतृत्वमा तेजस्वी वृद्धिका साथ राष्ट्रपति कार्यालयको कुनै अनुभव विनै यस वर्ष कास्टियो पेरुको राष्ट्रपति चुनिए।

कास्टियोको विजयमा उनी हुर्किएकै जस्तो ग्रामीण क्षेत्रका मतदाताको अनुमोदनले मुख्य भूमिका खेलेको बताइन्छ।उनका चुनावी र्‍यालीहरूमा एउटा धनी देशमा फेरि कहिल्यै एक जना पनि गरिब मान्छे हुने छैनन्, भन्ने खाले नियमित सन्देशहरू प्रवाह गरिएको थियो।

त्यसले सङ्घर्षशील पेरुवासीलाई उनले आवाज दिएको रूपमा हेरियो। मलाई थाहा छ एउटा विद्यालयमा बढार्नु भनेको के हो, उनले एक पटक भनेका थिए। कास्टियोले आफूलाई जनताको मान्छेका रूपमा प्रस्तुत गर्ने गर्छन्।

कास्टियो दुर्लभै रूपमा काजामार्का क्षेत्रको परम्परागत सेतो ह्याटविना देखिन्छन्। त्यसले उनको मार्क्सवादी फ्रि पेरु पार्टीको पनि सङ्केत गर्छ र उनको शिक्षाको पृष्ठभूमिको पनि प्रतिनिधित्व गर्छ।

उनले देशलाई बहुसङ्ख्यकको हित अनुकूल शासन नगरिएको दाबी गर्छन् र गरिबी तथा असमानतालाई सम्बोधन गर्न ठूलो परिवर्तनका लागि आह्वान गरेका छन्। त्यसमा विवादित बनेको नयाँ संविधानको मस्यौदा गर्ने कुरा पनि छ।

कास्टियोका विरोधीहरूले उनलाई कम्युनिस्ट गुरिल्ला समूहसँग मिलेमतो रहेका वामपन्थी अतिवादीका रूपमा देखाउने कोसिस गरेका थिए।

कास्टियोले आफ्ना भाषणहरूमा नियन्त्रण त राखे तर उनका आलोचकहरू उनका केही योजनाले ल्याटिन अमेरिकाको सबैभन्दा स्थिर देशमा उथलपुथल हुनसक्ने बारे चिन्तित छन्।

नौ जना सन्तानमध्ये तेस्रो सन्तानका रूपमा कास्टियो सन् १९६९ अक्टोबर १९ मा पुना क्षेत्रमा जन्मिएका थिए। उनले प्राथमिकत विद्यालयको शिक्षकका रूपमा सन् १९९५ देखि २०२० सम्म काम गरेका छन्।

कास्टियोले सन् २००२ देखि आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। त्यस बेला उनी मेयरमा उठेर हारेका थिए। सन् २०१७ मा भएको शिक्षकहरूको आन्दोलनबाट उनी नेताको रूपमा उदाए।

सहरी क्षेत्रमा खासै नचिनिएका भए पनि कास्टियो यो वर्षको राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बने र पहिलो चरणको निर्वाचनमा विजयी भए र अन्य १७ उम्मेद्वारलाई दौडबाट बाहिर पारिदिए। त्यो धेरैको आशा विपरीत थियो।

उनले पूर्व राष्ट्रपति अल्बेर्ट्रो फुजिमोरीकी छोरी तथा व्यापारिक समुदायमा लोकप्रिय केइको फुजिमोरीलाई हराएर राष्ट्रपति चयन भए। उनी निकटतम प्रतिद्वन्दी भन्दा ४४ हजार बढी मतले मात्र विजयी भएका हुन्।

मतगणनाका लागि हप्तौँ लागेको थियो र फुजिमोरी समूहबाट अधिकारीहरूले कैयौँ चुनौतीको सामना गर्नुपरेको थियो। अब पेरुको समुदायका सबै क्षेत्र मिलेर‘ एउटा समावेशी, एउटा निष्पक्ष र एउटा स्वतन्त्र पेरु बनाउने बेला आएको छ, उनले भने।

उनी भ्रष्ट्राचारका कैयौँ विवाद र हल्लाहरूबाट आजित भएका पेरुवासीलाई आफ्नो पक्षमा ल्याउने गरी आह्वान गर्न सफल भएका छन्। तर अब उनका लागि निकै कठिन समय आएको छ।

पेरुमा अहिले प्रतिव्यक्ति दरमा विश्वमै सबैभन्दा धेरै कोभिड १९ बाट हुने मृत्युदर देखिएको छ। त्यस्तै आर्थिक सङ्कटले त्यहाँ लाखौँलाई गरिबीमा धकेलेको छ। उनले शिक्षा र स्वास्थ्यजस्ता सार्वजनिक सेवालाई रकम जुटाउन खानीकर बढाउने योजना बनाएका छन्।

यस्ता सेवाको अक्षमता महामारीमा उजागर भएको थियो। त्यस्तै उनले एक वर्षभित्र १० लाखलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्।

कार्यभार सम्हालेसँगै उनले गरिबी घटाउने र कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्न जनस्वास्थ्य प्रणालीलाई सुधार गर्ने वाचा गरेका छन्। उनले इतिहासमै पहिलो पटक देशलाई कुनै किसानले नेतृत्व गरिरहेको बताए।

आफ्नो सुरुवाती मन्तव्यमा उनले पेरुले स्पेनी उपनिवेशबाट स्वतन्त्र भएको कुरलाई स्मरण गरे र उपनिवेशकारी शक्तिलाई सयौँ वर्षदेखि गरिब र आदीवासीमाथि भेदभाव गरेको आरोप लगाए।

उनले निजी क्षेत्रलाई सम्मान गर्ने तर भ्रष्टाचार र सहुलियतलाई नियन्त्रण गर्ने तथा पेरुका उच्च प्रतिफलयुक्त खानीलाई नियमन गर्ने बताए। बीबीसीबाट