एमालेमा एकता प्रक्रियाको वहस चलिरहँदा प्रचण्डको दौडधुप नेपाल–खनाल समूहसँगको भेटवार्तामा किन !

नेपाल समूहलाई सरकारमा सहभागी गराउनेबारे छलफल

काठमाण्डौं । नेकपा (एमाले) मा पछिल्लो चरण पार्टी एकताको प्रकृयाबारे वहस चल्दै गर्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने उक्त पार्टीका असन्तुष्ट नेपाल–खनाल समूहसँगको भेटवार्तामा दौडधुप गरिरहेका देखिन्छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रचण्ड आज बिहानै नेपाल निवास कोटेश्वर पुगेका हुन् । उनले भेटवार्तामा नेपाल समूहलाई सरकारमा सहभागी गराउने विषयमा छलफल गरेको बुझिएको छ ।

एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकतामा जोड दिइरहँदा वरिष्ठ नेता नेपाल समूहसँग प्रचण्डको भेटवार्ता र गरिएको छलफलका विषयलाई राजनीतिक वृतमा निक्कै अर्थपूर्ण मानिएको छ।

प्रचण्डले एमाले नेता नेपाल समूहसँग सत्ता सहकार्यका लागि छलफल गर्नु र आफैले धेरै चासो दौडधुप गर्नुले एमालेभित्रको एकता प्रकृयामा प्रभाव पार्ने संकेतका रुपमा समेत कतिपयले आशंका गरिरहका छन ।

तर प्रचण्डको सचिवालयले भने नेपाल समूहले देउवालाई प्रधानमन्त्री बनाउने प्रकृयामा सहयोग गरेकाले उक्त भेटघाटमा सरकारमा सहकार्यको आग्रह गरेको बताएको छ ।

नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रचण्डको दौड धुप उक्त समूहका नेताहरुसँगको छलफलमा मात्र सिमित नभएर सत्ता गठबन्धनका पार्टीहरु र प्रधानमन्त्री शेरबहादुर देउवा सम्म पुगेको देखिन्छ । उनको दाडधुपलाई राजनीतिक रुपमा निक्कै महत्वपूर्ण मानिएको छ ।

एमाले नेता नेपाललाई भेटे लगत्तै आजै प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। देउवासँगको भेटमा उनले नेपाल समूहलाई सरकारमा सम्मानजनक सहभागिता गराउन सुझाव दिएको बुझिएको छ।

पछिल्लो समय एमालेको एकता कार्यदलले गरेको १० बुँदे सहमतिमा नेता नेपालले असहमति जनाए पनि विभिन्न सार्वजनिक अभिव्यक्तिमा केपी शर्मा ओलीसँग सँगै मिलेर जान नसक्ने सङ्केत गर्दै आएको बेला प्रचण्डको उक्त समूहसँगको भेटवार्तालाई कतिपयले अनौठो र गम्भिर विषय सहित प्रतिकृया समेत दिएका छन् ।