कोरोना खोप ‘आस्ट्राजेनेका’ कम्पनीका वैज्ञानिक ‘एन्ड्रयु पोलार्ड’ सँग ११ प्रश्न: ‘दोस्रो मात्रा खोप ढिलो हुँदैमा प्रतिरोधी क्षमता घट्दैन’

खोपको ठूलो उत्पादन प्रणालीमा जोड: थप सुधार गर्ने तयारी

काठमाण्डौं । आस्ट्राजेनेका खोप बनाउने समूहको नेतृत्व गरेका वैज्ञानिक एन्ड्रयु पोलार्डले कोरोनाको दोस्रो मात्रा खोप लिन ढिला भएपनि प्रतिरोधी क्षमता कायमै रहने बताएका छन्।

नेपालमा धेरैलाई दिइएको र दोस्रो मात्राको प्रतिक्षा भैरहेको कोभिशिल्ड खोप उक्त अक्सफर्ड आस्ट्राजेनेका खोपको एउटा नाम हो। अक्सफर्ड आस्ट्राजेनेका खोपको दोस्रो मात्रा ढिलो लगाउँदा त्यो झन प्रभावकारी हुने उनको भनाइ छ।

विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप आठ देखी १२ हप्ताको अन्तरालमा दिनुपर्ने सुझाव दिँदै आएको छ। प्राध्यापक पोलार्डले खोपको पहिलो मात्रा लगाएपछि नै त्यसबाट उच्चस्तरको सुरक्षा प्राप्त हुने जनाए।

आस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा खोप लगाउँदा पनि त्यसले कोरोनाभाइरस विरुद्ध उच्चस्तरको सुरक्षा दिने उनले बताएका छन्।

उनले खोपको दोस्रो मात्रा पाउन ढिलाइ हुँदा पनि कोरोनाभाइरस प्रतिरोधी प्रणाली झ्वाट्टै कमजोर नहुने बताएका छन । उनले कोरोनाभाइरसको महामारीको उच्च जोखिम देखा परेको नेपाल जस्ता देशमा खोप नपुग्नु लाजमर्दो भएको बताएका छन्।

तीन दशकअघि पर्वतारोहणका लागि पहिलो पटक नेपाल आएका पोलार्ड सन् १९९४ मा सगरमाथा आरोहण गर्न आएको ब्रिटिश मेडिकल एक्सपिडिसनका उपनेता थिए।

डेढ दशक भन्दा बढी समय यता पाटन अस्पतालका चिकित्सकहरूसँग मिलेर खोप सम्बन्धी विभिन्न अनुसन्धानमा उनी आबद्ध रहेका छन्। उनै प्राध्यापक पोलार्डसँग गरेको कुराकानीको अंश हेर्नुहोस् ।

१) प्राध्यापक पोर्लाड सबैभन्दा सुरुमा गत महिना स्कूले बालबालिकालाई सम्बोधन गर्दै तपाईँले सगरमाथा चढ्दाको अनुभवले अक्सफर्ड आस्ट्राजेनेका खोप विकास गर्ने क्रममा आफ्नो समूहसँग काम गर्न सघाएको बताउनुभएको थियो। त्यसबारे थप भनिदिनुहोस् न ?

नयाँ खोप विकास गर्नु एकदमै ठूलो प्रयास हो। यसका लागि सामूहिक प्रयास चाहिन्छ र अक्सफर्ड आस्ट्राजेनेका खोप विकास गर्दा यहाँ अक्सफर्डमा र यूके अनि ब्राजिल र दक्षिण अफ्रिकामा ठूलो समूह जुटेको थियो। त्यही भएर एकदमै ठूलो परीक्षण गरियो जो खोपको परीक्षणमा सहभागी बन्ने इच्छा देखाउँदै अघि आए। त्यो टोलीमा काम गर्दाको अवस्था उच्चस्तरको परिश्रमसँग मिल्दोजुल्दो हुन्छ।

नेपालमा ठूला हिमाल आरोहण गर्न हामीलाई साथ दिने स्थानीय आरोही र विदेशीहरूसँग मेरो उत्कृष्ट सामूहिक प्रयास र गजबको अनुभव रह्यो।

२) आफ्नो पहिलो भ्रमणका क्रममा तपाईँले नेपालमा भेटेका कतिपय मानिसहरू ६५ वर्ष वा त्योभन्दा बढीको उमेरका भए होलान्। उनीहरूले अक्सफर्ड आस्ट्राजेनेकाको पहिलो मात्रा खोप पाए पनि दोस्रो मात्रा खोप नपाएर व्यग्रतापूर्वक कुरिरहेको सुन्दा तपाईँलाई कस्तो महसुस हुन्छ ?

मलाई लाग्छ ५० वर्षभन्दा माथिको उमेरका जोकोहीले पनि पहिलो मात्रा पाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। पहिलो मात्राले उनीहरूलाई कोरोनाभाइरसको महामारीबाट एकदमै महत्त्वपूर्ण सुरक्षा दिन्छ। म दोस्रो मात्रा खोप लगाउन नपाउँदाको चिन्ताहरू बुझ्न सक्छु।

तर हामीले तथ्याङ्कहरू हेर्ने हो भने पहिलो मात्रा मात्रै लगाएको अवस्थामा पनि खोपले अस्पताल जानुपर्ने र गम्भीर किसिमको बिरामी हुने अवस्थाबाट उच्चस्तरको सुरक्षा दिएको पाइन्छ, विश्वका धेरै ठाउँमा फैलिएको डेल्टा भेरिअन्टमा समेत।

त्यही भएर पहिलो मात्रा मुख्य हो। जब हामीसँग बढी आपूर्ति हुन्छ दोस्रो मात्रा लगाउँदा त्यसले अझ उच्चस्तरमा पुर्‍याउँछ। तर सबैभन्दा महत्त्वपूर्ण बढी भन्दा बढीलाई पहिलो मात्रा खोप पुर्‍याउनु हो।

३) सङ्क्रमणको अर्को लहर देखियो भने पहिलो मात्रा मात्रै खोप लगाएका झण्डै १४ लाख ज्येष्ठ नागरिकहरू प्रभावित हुन्छन् भन्ने चिन्ता नेपालमा छ। तपाईँको विचारमा उनीहरूलाई कस्तो प्रभाव पर्छ ? कतिले पहिलो मात्रा लिएको १६ हप्ता भइसक्यो। पहिलो मात्रा कहिलेसम्म प्रभावकारी रहन्छ ?

पहिलो मात्रा लगाएको पहिलो महिनापछि नै उच्चस्तरको सुरक्षा पाइएको हामीले देखिसकेका छौँ र हामीले यूकेमा पहिलो मात्रा खोपले सुरुको तीन महिनामा अत्यन्तै राम्रो सुरक्षा दिएको पाएका छौँ।

त्यही भएर त्यो सुरक्षा तत्कालै हराइहाल्छ भनेर सोच्नुपर्ने कुनै कारण छैन। यदि त्यो घट्यो भने पनि समयक्रममा विस्तारै घट्ने सम्भावना हुन्छ। हो, हामीले अझ उन्नत किसिमको सुरक्षा पाउनका लागि दोस्रो मात्रा लिनुपर्छ। तर तीन वा चार महिनापछि पनि राम्रो तहको सुरक्षा हुन्छ भन्ने विश्वास गर्न सकिने तथ्याङ्कहरू हामीसँग उपलब्ध भइसकेका छन्।

हामीले दोस्रो मात्रा लगाएपछि त्यो अझै राम्रो हुन्छ। तर अहिले सकेसम्म धेरै जनालाई पहिलो मात्राबाट सुरक्षा दिनु नै सबैभन्दा उत्कृष्ट रणनीति हो।

४) यदि दोस्रो मात्रा खोप एकदमै लामो समय ढिलो भयो भने के मानिसहरूले त्यही उत्पादकले बनाएको खोप लिनुपर्छ वा उनीहरूले नयाँ खोप लिन सक्छन् ?

समय लामो भयो भने पनि फेरि सुरु गर्नुपर्ने आवश्यकता छैन। यदि लामो अन्तरालमा खोप दिइयो भने त्यसले राम्रो प्रतिक्रिया दिएको हामीले पाएका छौँ र यदि त्यो अन्तराललाई अझ विस्तार गरियो भने छोटो अन्तरमा लगाइएको खोपले भन्दा त्यसले अझ राम्रो काम गर्छ।

त्यही भएर तीन महिनाको अन्तर चाहिँ चार हप्ताको अन्तरभन्दा धेरै राम्रो हो। खोपको मात्रा ढिलो लगाउँदा त्यसको प्रभावकारिता कम हुन्छ भन्ने चिन्ता लिनुपर्दैन बरू अझ राम्रो हुन सक्छ।

५) तर खोपको अभाव छ। उदाहरणका लागि पहिलो मात्रा लगाएको ६ महिना वा एक वर्षपछि मात्रै दोस्रो मात्रा लगाउन पाइने अवस्था भयो भने के पहिलो मात्रा त्यतिकै प्रभावकारी हुन्छ ?

हो, यदि ६ महिना वा एक वर्षसम्मको त्यस्तो अन्तराल भयो भने हामीले त्यो ढिलो गरी दिइएको दोस्रो मात्राको एकदमै राम्रो प्रतिक्रियाको अपेक्षा गर्न सक्छौँ। किनभने त्यसरी नै हाम्रो रोग प्रतिरोधी प्रणालीले काम गर्छ। प्रतिरोधी प्रणालीले पहिलो मात्रा वर्षौँ पछिसम्म पनि सम्झने गर्छन्।

यदि त्यो अन्तराल एकदमै छोटो छ भने लामो अन्तरालभन्दा प्रभावकारिता कम हुन्छ। त्यही भएर हामीले ६ महिना वा एकवर्षपछि खोप लगाउँदा पनि एकदमै राम्रो प्रतिक्रियाको अपेक्षा गर्न सक्छौँ।

मैले फरकफरक खोपको प्रयोगबारे अघि तपाईँले राखेको प्रश्नको पूर्ण जबाफ दिइसकेको छैन। अहिलेको क्षणमा फरकफरक खोपलाई त्यसरी मिक्स एन्ड म्याच गरेर प्रयोग गर्नेबारे हामीसँग धेरै तथ्याङ्क छैनन्।

तर अबको हप्ता वा केही समयपछि हामीले त्यसरी फरकफरक खोपलाई मिलाएर प्रयोग गरिएकाबारे तथ्याङ्कहरू पाउन थाल्नेछौँ। त्यही भएर हामीसँग थप जानकारी हुनेछ। यदि हामीले पछाडि फर्किएर जैविक रूपमा हेर्ने हो भने अधिकांश खोपहरू कोरोनाभाइरसको स्पाइक प्रोटिन लिएर बनाइएको हो।

यदि तपाईँको प्रतिरोधी प्रणालीमा अर्को मात्राको स्पाइक प्रोटिन दिइयो भने त्यसबाट बुस्टर डोजको अपेक्षा गर्न सकिन्छ। त्यही भएर सैद्धान्तिक रूपमा मिक्स एन्ड म्याच विधिले राम्रोसँग काम गर्नुपर्ने हो र यस्ता केही प्रश्नको जवाफ दिने तथ्याङ्कहरू हामीसँग चाँडै उपलब्ध हुनुपर्ने हो।

६) तपाईँले भन्न खोजेको यदि त्यो अध्ययनले पुष्टि गर्‍यो भने स्पाइक प्रोटिन प्रयोग गर्ने आस्ट्राजेनेका वा चिनियाँ खोप सिनोभ्याक मिलाएर प्रयोग गर्न सकिन्छ ?

सैद्धान्तिक रूपमा त्यसले काम गर्नुपर्ने हो। त्यसबारे हामीले चाँडै तथ्याङ्क प्राप्त गर्नुपर्ने हो। हामीसँग चिनियाँ खोपबारे तथ्याङ्क छैन किनभने यहाँ युरोपमा अहिले तिनीहरूको प्रयोग गरिएको छैन। तर कैयौँ खोपका मिक्स एन्ड म्याच तालिकाबारे हामीसँग तथ्याङ्कहरू हुनेछन्।

७) अक्सफर्ड आस्ट्राजेनेका खोप डेल्टा प्लस भेरिअन्ट वा अरू नयाँ प्रकारका भाइरसमा कत्तिको प्रभावकारी छ ?

अहिलेसम्म प्रयोग भइरहेका अधिकांश खोपले सुरुको कोरोनाभाइरसको प्रकारसँग उच्चस्तरको सुरक्षा दिइरहेको पाइएको छ। महत्त्वपूर्ण कुरा गम्भीर प्रकारका बिरामी वा अस्पताल भर्ना हुने क्रमसँग जोडेर अक्सफर्ड आस्ट्राजेनेकाको खोप वा फाइजरको खोप जसबारे यूकेमा राम्रोसँग अध्ययन गरिएको छ, त्यसले यहाँ देखा परेका भेरिअन्टविरुद्ध उत्कृष्ट सुरक्षा दिइरहेको पाइएको छ।

हामीले यूकेमा अल्फा भरिअन्ट देख्यौँ त्यसमा रोगविरुद्ध उच्चस्तरको सुरक्षा पाइयो। अझ रोचक त डेल्टा भेरिअन्टमा अल्फा भेरिअन्टभन्दा अझै राम्रो सुरक्षा देखिएको छ। अहिलेसम्म हामीले नयाँ देखा परिरहेका भेरिअन्टमा समस्या देखिरहेका छैनौँ।

तर वर्षको अन्त्यमा वा अर्को वर्ष देखा पर्ने भेरिअन्टलाई खोपले नियन्त्रण गर्न सकिन्छ कि सकिँदैन यो चाहिँ हामीलाई थाहा छैन।

८) विश्वका विभिन्न ठाउँमा नयाँ प्रकारका कोरोनाभाइरस देखा परिरहँदा तपाईँहरूले खोपको क्षमता अभिवृद्धि गर्ने वा नयाँ खोप विकास गर्नेबारे अध्ययन गरिरहनुभएको छ?

नयाँ भेरिअन्टसँग जुझ्न दुईवटा उपाय हुन सक्छन्। एउटा अहिले नै उपलब्ध भइसकेका खोपहरूको अर्को मात्रा अर्थात् बुस्टर डोज लगाउनु हो। त्यसले प्रतिरोधी क्षमतालाई लम्ब्याउँछ। अर्को उपाय भनेको नयाँ खोप बनाउनु हो। हामी बीटा भेरिअन्टको नयाँ खोप बनाउन लागिपरेका छौँ। त्यो सुरुमा दक्षिण अफ्रिकामा देखिएको भेरिअन्ट हो। यो वर्षको अन्त्यतिर त्यसबारे हामीसँग तथ्याङ्क उपलब्ध हुनेछ।

९) प्राध्यापक पोलार्ड तपाईँले नेपालका हिमालहरू चढ्नुभएको छ। यहाँको पाटन अस्पतालका चिकित्सकरूसँग मिलेर खोपसम्बन्धी महत्त्वपूर्ण अनुसन्धानहरू गर्नुभएको छ। हालै तपाईँले आस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराइनुपर्‍यो भनेर पनि भन्नुभयो। तर खोप प्राप्तिमा ठोस प्रगति भएको छैन। यस्तो सुन्दा तपाईँलाई कस्तो महसुस हुन्छ ?

हामीसँग अहिलेसम्म पनि बृहत्तर रूपमा विश्वव्यापी खोप साझेदारी नहुनु साँच्चिकै लाजमर्दो हो। अक्सफर्ड आस्ट्राजेनेका खोपको मात्रै नभएर अरू खोपहरूलाई पनि मानिसहरू उच्च जोखिममा रहेका देशहरूमा प्राथामिकता दिइनुपर्छ।

मलाई लाग्छ खोप वितरणका लागि स्थापना गरिएको कोभ्याक्स अभियान त्यो काम गर्नका लागि सबैभन्दा उपयुक्त संयन्त्र हो। आपूर्ति अभावका कारणले कोभ्याक्सले विश्वभिर न्यायोचित ढङ्गले खोपको वितरण गर्न सकिरहेको छैन।

विशेषगरी महामारीको लहरले विश्वका कैयौँ ठाउँमा मानिसको जीवन र जनजीविकामा जोखिम पुर्‍याइरहँदा अहिले जुन अवस्थामा हामी छौँ त्यसले मलाई दु:खी बनाएको छ।

मेरो के अपेक्षा छ भने यो वर्ष एकदमै ढिला नगरी खोप बाँडफाँटका प्रतिबद्धताहरू वास्तविकतामा परिणत होऊन्। मलाई लाग्छ भोलि नै हुन नसके पनि यो चाँडै हुनेछ र विश्व अझ सुरक्षित स्थानमा रूपान्तरित हुनेछ।

१०) न्यून आय भएका कैयौँ देश खोप भित्र्याउन सङ्घर्षत छन्। कोभ्याक्सले पनि आफ्नो प्रतिबद्धता पूरा गर्न सकिरहेको छैन। यो अभियानको भविष्य चाहिँ तपाईँ कस्तो देख्नुहुन्छ ?

मलाई लाग्छ कोभ्याक्सको भविष्य एकदमै राम्रो छ। खोपको खरिद तथा वितरणका लागि यसले एकदमै राम्रो स्रोत जुटाउन सकेको छ। आपूर्ति अभाव अन्त्य हुनेबित्तिकै यसले आफ्नो काम अघि बढाउन सक्छ। अहिले त्यस्तो नभइरहेको भए पनि त्यो हुन्छ भन्ने कुरामा म आशावादी छु।

राम्रोसँग स्थापना भएको संयन्त्रले अत्यन्तै आवश्यकता भएका मानिसहरूसम्म खोपको पहुँच पुर्‍याउन थालेपछि त्यो विश्वका लागि ठूलो राहतको विषय हुनेछ।

११) कतिपय देशले कोरोनाभाइरस विरुद्धको खोपमा बौद्धिक अधिकार हटाइनुपर्ने भनिरहेका छन्। त्यसो गर्दा खोपको उत्पादन र वितरण सहज हुन्छ भन्ने उनीहरूको भनाइ छ। तपाईँ के भन्नुहुन्छ ?

उत्पादन कसरी सुधार गर्न सकिन्छ भन्ने विचार गर्दा मलाई लाग्छ बौद्धिक अधिकार हटाउने विषय एउटा महत्त्वपूर्ण अङ्ग हो। तर यो त्यति सरल छैन। किनभने बौद्धिक अधिकार हटाएपछि त्यसले उत्पादक संस्थाहरूलाई खोप बनाउन दिँदैन। उनीहरूलाई खोपको मात्राहरू बनाउन विज्ञता, समर्थन र समय चाहिन्छ।

नयाँ उत्पादन केन्द्रहरू बनाउन ६ महिनादेखि एक वर्षसम्म लाग्छ। हामीसबै उच्च गुणस्तरको उत्पादन हाम्रो हातसम्म आइपुगोस् र उच्च गुणस्तरको उत्पादन होस् भन्ने चाहन्छौँ। बौद्धिक अधिकार त्यो प्रक्रियाको एउटा पाटो हो। तर अहिलेको समस्यालाई बौद्धिक अधिकारले हटाउन सक्दैन। त्यसले ६ महिना वा एक वर्षपछि समस्याको समाधान गर्छ।

हामीलाई तत्कालै खोपको पुनर्वितरण चाहिएको छ। अर्को पनि बाटो छ जुन यहाँ अक्सफर्ड विश्वविद्यालयमार्फत् हामीले रोज्यौँ। बौद्धिक सर्वाधिकार नहटाई हामीले नाफा नलिई आस्ट्राजेनेका खोप उपलब्ध गराइनुपर्छ भन्ने सहमति गरेर हामीले त्यही लक्ष्य हासिल गरेका छौँ।

त्यसकै परिणाम स्वरूप विश्वभरि हाम्रो २० भन्दा बढी उत्पादन केन्द्रहरू छन्। यो असाधारण अवस्था हो र यसलाई सुधार गरेर थप खोपको मात्रा उत्पादन गर्ने प्रयास आस्ट्राजेनेकाले गरिरहेका छन्।

एउटा महत्त्वपूर्ण उत्पादक सिरम इन्स्टिच्युट अफ इन्डिया हो जसले दुर्भाग्यवश अहिले खोपको आपूर्ति गर्न सकिरहेको छैन। भारतको समस्या अनि त्यहाँको जनसङ्ख्याका लागि खोप आपूर्ति गर्नु परेकाले यस्तो भएको हो।

विश्वभरि नै निरन्तर रूपमा हाम्रो ठूलो उत्पादन प्रणाली कायम छ जुन आगामी महिनाहरूमा अझै बढ्छ भन्ने मलाई लाग्छ।

(यो सामाग्री बीबीसीबाट साभार गरिएको हो ।)