आधुनिक शैलीमा जातीय विभेदको विकास: गायक शिव परीयारको धारणा

जातीय उत्पीडन अन्त्य बिना समतामूलक समाजको सपना अपुरो

शिव परीयार

“नरिसाउँ ल नानी, बरु यता बस्ने अरु साथी खोजिदेउ है, एसो आउँदै गर है”
 कामी भन्ने बित्तिकै म झस्कें ।
बा, हजुरबा पुस्तामा ठाडै अपशब्द गाली वचन बोलेर गरेको विभेद मात्रै विभेद थियो, अहिले त माया गरेर बोलेर पो ब्यबहार गरेको रहेछ नि, यस्तो नि विभेद हुन्छ र ? भन्ने पुस्ता यस पटक सामाजिक सन्जालमा धेरै देखिए । यो अहिलेको पुस्ताले चैं विभेद गर्ने शैलीमा अलिक आधुनिकता भित्र्याएको पाईयो । जस्तै हुन्छ नि माया गरे जस्तो गर्दै विभेद कायम राख्ने खतरनाक विभेदको आधुनिक शैली । गाली गरीगरी घाटी रेटेपनि, अथवा ग्वाम्लाङ्गै अङ्गालो हालेर गालामै च्वाप्प च्वाप्प मोई खाँदै घाटी रेटेपनि परिणाम त आखिर मृत्यु नै हो । तर माया गरेको रैछ नि त, चुम्मा पनि त खाकै रहेछ, तेस्ले घाटी रेटेर मारेको पनि मारेको हो र ? रिसाको, गाली गलौज त्यस्तो केहि गरेको थिएन त ।

कति राम्रोसंग म्वाई खाएर घाटी रेटेको रहेछ नि, त्यसरी रेटदा पनि मृत्यु हुन्छ र ? सामाजिक संजालमा यसपाली यहि सोच स्थापित गर्न बिचार प्रस्तुत गर्ने क्रम जारी देखियो । प्रस्तुत बिचार अनुसार जातीय विभेद गर्ने शैलीमा पनि अहिले यस्तै आधुनिकतावाद छिरेको प्रष्ट भएको छ । हिजोसम्म हामी जातीय विभेद रहित समता समाजको पक्षमा छौं, भन्नेहरुको मुकुण्डो उत्रेको पनि देखियो । उनिहरुले यहि ठान्ने रहेछन कि माया गरेर, मिठो बोलेर गरिने विभेद विभेद नै होईन भनेर । मैले माथि भनेनि च्वाप्प च्वाप्प मोई खाएर घाटी रेटेर मार्ने अपराध होईन भने जस्तै, यस्तो सोच सहित आधुनिक शैलीको जातीय विभेद कायम राख्न चाहनेहरुलाई रुपा सुनार र सरस्वती प्राधानको यो विषयले झस्काईदिएको हुनसक्छ ।

अशान्ति भो, सामजिक सद्भाव खल्बलियो ! यस्तो के गरेको, भन्नेहरुलाई मेरो प्रश्न छ, हिजो आफुलाई उच्चजात भनिने पुस्ताले हिजोको कथित तल्लोजात भनिने पुस्तालाई विभेद गर्दा कथित तल्लोजात बनाईएका पुस्ताले प्रतिवाद या बिरोध गर्न सकेनन, आफुमाथि भएको विभेद सहन बाध्यभए किनकि उनिहरुलाई कानुन बनाएर हात खुट्टा बाँधिएको थियो, अत्यन्तै कमजोर बनाईएको थियो । आफुमाथि जबर्जस्त लादिएको विभेदको प्रतिबाद गर्न नसक्ने अवस्थामा विभेद सहन बाध्य पारिएका वर्गले विभेद सहिदिएकै कारण समाजमा कथित उच्चबर्गले शान्ति महशुस गरे । किनकि उनिहरुलाई आफ्नो शान्तिको मात्र चिन्ता थियो । आफुलाई उच्चजातको मसिहा मान्नेले बोलीबचन र जुत्ताको नोकले कथित तल्लो बनाईएका जातिमाथि प्रहार गरिरहे र आफ्नालागि निर्माण गरेको शान्ति ति जातीय उत्पीडित वर्गलाई त सधै मुर्दा शान्ति झैं महसुश भैरह्यो ।

तर आज समय फेरिएको छ । गाउँगाउँ, शहर शहरमा धेरै रुपा सुनारहरु छन । उनिहरु छद्म भेषि सोचलाई बुझ्न चुक्दैनन । अन्याय सहदैनन, बिरोध गर्छन, अनि आज पनि आफु उच्च भईराखेर अरुलाई निचको दर्जामा देखिरहन चाहनेहरुको फेरी टाउँको दुख्न सुरु हुन्छ । नरिसाउँ ल नानी भनिभनि आधुनिक शैलीमा गर्ने विभेदलाई निरन्तरता दिदैं रहने हो भने यो विभेद समाजमा राखिरहेसम्म सरस्वती प्रधान र रुपा सुनार चरित्रको द्वन्द समाजमा जारी नरहला भन्न सकिन्न । र त्यो पक्कै पनि नेपाली समाजका लागी हितकर हुने देख्दिन म । त्यसैले आमाबाबा हजुरआमा हजुरबुवाका अपराध अपराध नै होईन भन्ने कुतर्क छोडेर जातीय समता कायम गर्ने बाटोतर्फ सबै नेपाली लाग्न जरुरी छ । किनभने उत्पीडित वर्गले छद्मभेषी जातिय समानता खोजेको हैन । राज्य, समाज र ब्यक्तिबाट मान्छेले मान्छेलाई गर्ने समता मुखिब्यबहार अपेक्षा गरेको हो ।

पहिलो कुरा यो दलित भन्ने शब्द वर्ग वा सम्प्रदाय होईन । यो विभेद अन्त्यका लागी संघर्ष गर्न बनाईएको सांगठनिक मोर्चाको नाम हो । हिजोको दिनमा समाजले पानी चल्दैन है भनेर चरम जातीय विभेद गरेका नेपालका करिब २० देखिमाथि जातहरुको साझा संगठन हो दलित । जातिय विभेद बिरुद्द जातिय समानता होईन कि जातीय समताको लागि यसको आन्दोलन जारी छ । यहाँ खै किन हो पछिल्लो चरणमा दलित दलित समुदाय भनेर यसलाई जात नै बनाईएको छ, यो गलत छ । २०६२–०६३ पछि बनेको गनतान्त्रिक सरकारले हिजो चरम विभेद भोगेका दलित वर्ग, मधेसी, जनजातिलाई वर्ग उत्थानको लागी, समावेशी हैसियतमा कोटा उपलब्ध गराएको छ । जसमा दलितको जम्मा ९ प्रतिशत पर्दछ । तर आफुलाई सर्वहारा जनताको मसिहा ठान्ने सरकारले अहिले त्यो पनि पूर्णकार्यन्वयन गर्न बन्द गरेको छ ।

हरेक विभेदको घटनामा एउटा सामन्त वर्गको पिढी सामाजिक संजालमा कोटा खारेज गर, दलित कोटा खारेज गर भनिभनि कुर्लिन्छ । उसको मुख्य टार्गेट नै दलित कोटा खारेज गराउँनु हो । उसले महिला आरक्षण खारेज गर भन्न सक्दैन किनकि महिला आरक्षणका नाममा त ३३ प्रतिशत उसैको वर्गको प्रतिनिधित्व छ । यो बिषयमा बोल्दा उसको आफ्नै वर्गको टाउँको फुट्छ भन्ने उसलाई थाहा छ, त्यैभएर डराँउछ । उसले जनजातिको आरक्षणको बिषयमा त झन बोल्ने कुरै भएन एक नम्बर प्रदेश नै बन्द हुने सम्भावना भो ! जनजातिहरुसंग भिड्न अलि आँट पुगेन उसको ।

अब आयो मधेसी समुदायको कुरा ! अहिले तराईका मधेसी समुदायको आरक्षण कटौतीका बिषयमा उसले चुईक्क बोल्न सक्दैन किनभने देश नि दुर्इटा बनाउँछु भन्ने थ्रेट र तराई झर्नै बन्दहुने अवस्था आउन सक्दछ । अब बाँकि को रह्यो भन्दा हिजो चरम जातिय विभेद गरेर दासत्व स्विकार गर्न बाध्य पारिएका दलित समुदाय, उनिहरुलाई हेर्ने यि सामन्त वर्गको नजरीया र सोच त आजपनि परिवर्तन भएको छैन वा उनिहरु समतारुपि मनभावले हेर्नै हुँदैन भन्ने मान्यता बोकेर बोलिरहेका छन । २०६२–०६३ भन्दा अगाडि विभेद थिएन ?? दलितको कोटा खारेज हुने बित्तिकै सबले आधिकार पाउँछन ? जातीय समतासहितको समानता कायम हुन्छ ? कदापि हुदैन । यो त जातीय रुपमा हिजो दबाईएका, दलनमा पार्न बाध्य बनाईएका, मान्छे पनि होईन कि चरम जनावर भन्दा पनि निच ब्यबहार खप्न बाध्य पारिएका दलित समुदायका आजको पुस्ता समाजमा शिक्षित भएर बोल्न थाले, उनिहरुको पनि पहुँच पुग्न थाल्यो, उनिहरु पनि हजुर हजुर गरेर टाउँको निहुर्याएर बोल्नुको सट्टा आँखामा आँखा मिलाएर ब्यबहार गर्न थालेपछि अहो अब हाम्रो भाग खाने भो भन्ने डरले फेरी उनिहरुलाई त्यही दासत्वको जिवन बाँच बाध्य पारिनका लागि सामन्त जहिले पनि कोटा खारेज गर भन्छ ।

कुनै पनि बहानामा जातीय विभेद हुनु हुँदैन भन्दैन बरु कोटालाई कोठासंग जोडेर बहस गर्छ यो त्यै सामन्तको पिढि हो । जसले हिजो मान्छेलाई मान्छे बन्न नदिएकै कारण आज देशमा यत्रो परिवर्तन भै सक्दा पनि एउट वर्ग हरेकदिन मान्छे हुँ म भनेर आफ्नो अस्तित्व मान्छे भएको संसारलाई बताउँन बाध्य छ । आफ्नो ब्यक्तिगत सम्पतिलाई यदि कसैले आम्दानी गर्नकै लागी सेवाको माध्यम अपनाएर पब्लिक प्लेट्फर्मसम्म लान्छ भने चाहे मिठोबोलेर होस् चाहे तितोबोलेर होस् त्यँहा जातीय विभेद गर्न पाईदैन ।

(यो लेख गायक शिव परीयारको हो । उनले यो लेख आफ्नो फेसबुकमा समेत राखेका छन् ।)