परिबर्तनको कस्तो प्रतिफल ! किन हटेनन् अझै बिभेदहरु ?
किन पुरीएनन्, वर्गीय उत्पीडनका खाडलहरु ?
प्रकासित मिति : २०७८ असार १२, शनिबार
प्रकासित समय : १०:१०
परिबर्तनको कस्तो प्रतिफल ! किन हटेनन् अझै बिभेदहरु ?
-
मुकुन्दकृष्ण थापा
रगत पसिनाले सिंचीत माटोमा
अङ्कुरित बिज हुर्काउँदै,
पल्लवित लोकतन्त्रको वृक्षमा
गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर
वीरताको अमर गाथा कोरेकाहरु,
परिबर्तनको प्रतिफलबाट बन्चित भएर
बाँचिरहेछन्,
गुमनाम जिन्दगी ! - जीवनोपयोगी शिक्षाबाट ठगिएर
व्यापारिकरणको नङ्ग्राले चिथोरिएर
ठालुहरुको होच्याइबाट थलिएर
थिलथिलो भएका पाठशालाहरुले
जन्माइरहेछन् ,
बेरोजगार बहादुर र कान्छाहरु । - पुर्णीमालाई लखेटेर
औँसीले साम्राज्य गरिरहेको आधा आकाशमा
झलमलाई रहेछन् ,
पितृसत्तात्मक सोचका ताराहरु ! - असमानताको कालोपत्रे बिछ्याउँदै
एउटै पाङ्ग्राले रथ हाँकिरहेछन् ,
एक्काइसौँ शताब्दीका अर्जुनहरु !
पहिचान लुकाउनेहरुको विवशता देखेर,
सिर निहुराउँदै मानवता झोक्राइरहेछ । - आफैँले सजाएका मन्दिर महलहरु हेर्दै,
छुवाछूतले फाटेका मन सिलाउने मेसिन
आविष्कार नहुनुका कारणहरु,
खोजिरहेछन् आरनहरु । - सङ्कीर्णताको माला भिरेर
अहङ्कारको टीका लगाएर
ठूलो हुने होडबाजीको मृगतृष्णामा दौडिँदै
शीतयुद्धमा भाग लिइरहेछन् ,
धर्मका अनुयायीहरु । - हुरी बतास र बर्षादसँग
आत्मासमर्पण गरिरहेछन् ,
चिसो चुल्हो बोकेका श्रमजीवीका वासस्थानहरु । - वर्गीय उत्पीडनका खाडलहरु गहिर्याउँदै
बगिरहेछन् निरन्तर,
भोकको आगोलाई निभाउन नसकेका
अभावलाई बगाउन नसकेका
पसिनाका नदिहरु । - सुशासनको रटानले तिर्खाएर
धारा उपधाराहरुले
प्यास मेटेकाहरु सामुन्ने
ठडिरहेछन् प्रश्नका सगरमाथाहरु
आखिर,
किन हटेनन् अझै बिभेदहरु ?
(कविता लेखक मुकुन्द कृष्ण थापा खोटाङका स्थानीय हुन् । उनी सामाजिक वस्तुस्थितिलाई केन्द्रमा राखेर साहित्यिक रचना गर्दछन् । )