देशभर कोरोना सङ्क्रमण दर घट्दा १० जिल्लामा बढ्यो, किन ? जगतापूर्वक नियन्त्र गर्न कहाँ चुक्यो सरकार ? हेर्नुहोस्

दुर्गम गाउँमा अझै जटिल अवस्था !

काठमाण्डौं । नेपालमा सङ्क्रमितहरूको सङ्ख्या ओरालो लागेको देखिए पनि कम्तीमा १० जिल्लामा सङ्क्रमण दर बढ्दो क्रममा रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

पछिल्ला दुई सातामा उदयपुर, पाँचथर, तेह्रथुम, नवलपरासी पूर्व, रोल्पा, हुम्ला, जुम्ला, रुकुम पश्चिम, डोटी र दैलेखमा सङ्क्रमित बढ्ने क्रममा देखिएको आइतवार स्वास्थ्य मन्त्रालयले जनाएको थियो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, थोरै सङ्ख्यामा भए पनि धेरै ठाउँमा सङ्क्रमितहरू रहिरहे भने त्यो अवस्था समेत नियन्त्रणका लागि कठिन हुन्छ।

काठमाण्डू विश्वविद्यालयकी जनस्वास्थ्यविद् डा. अर्चना श्रेष्ठले उच्च पहाडी भेगमा देखिएको बढ्दो क्रमको सङ्केत त्यहाँ प्रकोप नै ढिलो सुरु भएको समेत हुनसक्ने बताउँछिन्।

केही जिल्लामा सङ्क्रमण बढ्दो क्रममा रहनु र सङ्क्रमित पहिचान दर समेत २० प्रतिशत हाराहारीमा उच्च रहनुले अवस्था सहज हुन अझै केही साता लाग्ने डा. अधिकारीले बताएका छन्।

सङ्क्रमितहरू पत्ता लाग्ने दर पाँच प्रतिशतभन्दा कम भएमा प्रकोपलाई नियन्त्रणमा राख्न सकिने अवस्थाको रूपमा बुझिने उनी बताउँछन्।

डा. श्रेष्ठ भन्छिन्, देशैभर एकैपटक समान प्रवृत्ति देखा पर्छ नै भन्ने हुँदैन। पहिले पनि भारतमा प्रकोप देखा परेको महिनादिनमा काठमाण्डूमा ह्वात्त्तै सङ्क्रमित देखिन र त्यसको केही सातामा गाउँमा कोभिड बिरामी बढ्ने क्रम देखिएको हो।

यस्तो अवस्था देखिनु पछाडिको यकिन कारण एकैखाले नभएको स्वास्थ्य अधिकारीहरू बताउँछन्।

नेपालका अधिकांश भागमा झण्डै डेढ महिनादेखि लगाइएको निषेधाज्ञाले लगाइंदा धेरै मानिसहरूको बसोबास भएका सहरी भेगमा त्यसको राम्रोसँग पालना हुँदा सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा पाइएको अधिकारीहरूको मत छ।

तर विकट दुर्गम भेगमा कडिकडाउका अभावमा त्यसो हुन नसक्दाको एउटा झल्को ती जिल्लाहरूको बढ्दो क्रमलाई लिन सकिने उनीहरूको मत छ।

दश परीक्षणमा चार सङ्क्रमित फेला परिरहेका जिल्लाहरू परेको कर्णाली प्रदेशका स्वास्थ्य निर्देशकले त्यसलाई अन्यत्र भन्दा धेरै फरक रूपमा नबुझीकन परीक्षण बढ्दाको असरका रूपमा बुझ्नुपर्ने बताउँछन्।

निर्देशक डा. रविन खड्का भन्छन्, गाउँगाउँमा निकै जटिल अवस्था भएर अस्पताल नल्याउँदासम्म परीक्षण भएकै थिएन। अहिले हामीले डेढ लाखजति एन्टिजन किट पठाएपछि बल्ल विवरण आउन थालेका हुन्।

गाउँहरूमा भाइरस फैलिएको यथार्थ हो तर अहिले थाहा हुन थाल्दा त्यसको बढ्दो क्रम देखिएको हो। पहिले पनि आशङ्का गरिएकाहरूको मात्र परीक्षण धेरै हुनु भनेको सङ्क्रमित पहिचान दर उच्च हुनु थियो।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले समेत लुकेका घटनाहरू देखा पर्न थालेको अवस्थाका कारण अहिले नै सहज भइसक्यो भन्न नसकिने बताउँछन्।

सरकारी विवरण अनुसार पछिल्ला सातामा औसत दैनिक पन्ध्र हजारका सङ्ख्यामा परीक्षणहरू भएको देखाउँछ। तर यसबीचमा पहिलेभन्दा फरक पाँच हजार हाराहारीमा दैनिक एन्टिजन विधिबाट जाँचहरू भइरहेका छन्।

नेपालमा कोभिडको दोस्रो लहरको उच्च विन्दु देखेको भनिएको दुई महिनाबीचको समयमा अहिले साप्ताहिक झन्डै एक तिहाइले सङ्क्रमित घटेको सरकारी विवरणले देखाउँछ।

बैशाख अन्तिम र जेठको सुरुवाती समय समेटिएको सातामा ६० हजारभन्दा धेरै सङ्क्रमित देखा परेको नेपालमा यो साता २० हजार हराहारीमा नयाँ सङ्क्रमित थपिएका थिए।

दश जिल्लामा सङ्क्रमित बढ्दो क्रममा देखिए पनि सक्रिय सङ्क्रमित उच्च रहेका जिल्लाहरू भने काठमाण्डू र सिन्धपाल्चोकबाहेक अधिकांश भारतसँग सीमा जोडिएका जिल्लाहरू छन्।

ती दश जिल्लामध्ये नवलपरासी पूर्व, रोल्पा, दैलेख र डोटीमा सक्रिय सङ्क्रमित पाँच सयभन्दा धेरै छन् भने उदयपुर, पाँचथर र रुकुम पश्चिममा दुई सयभन्दा बढ्ता छन्।

इपिडिमियोलोजिस्ट डा श्रेष्ठका भनाइमा नेपालमा अझै प्रति एकलाखमा सङ्क्रमित पुष्टि हुने दर १० भन्दा माथि रहेको बताउँदै समग्र अवस्थालाई अझै सजगतापूर्वक नियन्त्रमा राख्नुपर्ने बताउँछिन्।

नेपालको हकमा आवश्यकतामा रहेका सबै मानिसहरू परीक्षण गर्न आएका छन् छैनन् भन्ने नै स्पष्ट भन्न नसकिने हुँदा सङ्क्रमित पत्ता लाग्ने दर साँच्चै पाँच प्रतिशतमुनि आए नआएको निक्यौल गर्न गाह्रो छ। बीबीसीबाट