नयाँ शैक्षिक सत्र आजबाट शुरुः विद्यालयहरु सुनसान

वैकल्पिक सिकाइको माध्यममा जोड

काठमाण्डौं । कोरोना कहरको असहज स्थितिलाई ध्यान दिदै सरकारले दिएको निर्देशन अनुसार देशभरका विद्यालयहरुले आजबाट कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र सुचारु गरेका छन ।

कोरोना संक्रमणको कारण भौतिक रुपमा सम्पन्न हुन नसकेको विद्यालय तहको परिक्षा अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा दिने विकल्प सहित आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको हो।

विद्यार्थीको आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्ने काममा विद्यालयहरु जुटिरहेका छन । त्यस्तै एसईईको नतिजा साउन १५ सम्म प्रकाशन गर्ने तयारी समेत गरिएको छ ।

नयाँ शैक्षिक सत्र शुरु भएसँगै आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना), वैकल्पिक माध्यमबाट सिकाइ तथा अन्य शैक्षिक क्रियाकलापहरु सुचारु हुने छन ।

सरकारले कोरोनाका कारण विद्यालयमा विद्यार्थी राखेर पठनपाठक गर्ने अवस्था नभएमा अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थी पठनपाठन कार्य बढाउन सुझाव समेत दिएको छ ।

आजबाट विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्ने र असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरीसक्ने बताइएको छ ।

त्यस्तै कक्षा शुरु हुने अवधिसम्म विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्ने छ।

अन्य शैक्षिक सत्रको जस्तो अवस्था अहिले नभएको र औपचारिकतामा नयाँ शैक्षिक सत्र शुरु भयो भनिएपनि त्यसको प्रभावकारीतामा भने प्रश्न चिन्ह रहने कतिपयको भनाई समेत आइरहेको छ ।

नयाँ शैक्षिक सत्र शुरु भएतापनि विद्यालयमा कोरोना संक्रमण र त्यससँगै बढेको निषेज्ञाको कारण विगतको जस्तो विद्यालयमा भर्ना हुने विद्यार्थीहरुको चहलपहल भने देखिन्न ।