बर्दियामा निषेधाज्ञाको उल्लंघन गर्ने सवारी चालक कारबाहीमा

सबैलाई निषेधाज्ञाको पालना गर्न अनुरोध

बर्दिया । कोरोना संक्रमण नियन्त्रणको लागि बर्दियामा जारी भएको निषेधाज्ञाको उल्लंघन गर्दै यात्रुवाहक गाडी चलाउनेलाई बर्दिया प्रहरीले कार्वाही गरेको छ ।

निषेधाज्ञाको समयमा याात्रु ओसारपसार गरेपछि ड्युटीमा रहेको प्रहरी टोलीले सवारीसाधन सहित चालकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बा ४ ख ४२२२ नम्बरको यात्रुवाहक फोर्स गाडीलाई चेकजाँचको क्रममा हिजो नियन्त्रणमा लिइएको जनाए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी इश्वर कार्कीका अनुसार उक्त यात्रुवाहक गाडी बिना अनुमति बाहिरी जिल्लाबाट आएर चलिरहेको थियो ।

एसपी कार्की बर्दिया प्रहरी प्रमुहको जिम्मेवारीमा आएसँगै पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा रहेका ईलाका, चौकीको अनुगमन गरेर मातहतका निकायलाई जनताको शान्ति सुरक्षामा खट्न कडाई गरेका छन ।

एसपी कार्कीले जिल्लाका सबै स्थानका प्रहरी परिवारसँग भेटघाट, छलफल र कोरोना संक्रमणको अवस्थामा माक्स, सेनिटाईजर लगाएतका स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरेका थिए ।

एसपी कार्कीले कोभिडको महामारीलाई ध्यान दिदै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञालाई सबैले आ आफ्नो ठाउबाट पालना गर्नुपर्ने र त्यसको लागि प्रहरी टोली ठाउँठाउँमा परिचालन गरिएको बताएका छन ।

नियन्त्रणमा रहेको उक्त सवारी साधनका चालकलाई “कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८” अनुसार पाँच हजार जरिवाना गरिएको समेत जिल्ला प्रहरी कार्यालय बर्दियाबाट बुझिएको छ ।