विलुप्त इस्लामिक पुस्तकालयबाट आधुनिक गणितको सुरुवात यसरी भयो…

अमूर्त गणितीय भाषा आविष्कार

प्यारिस । द हाउस अफ विज्डम (बेयत अल हिकमाह) नामक प्राचीन पुस्तकालयको भग्नावशेष उपलब्ध छैन। तेह्रौँ शताब्दीमा ध्वस्त पारिएको भनिएको यो पुस्तकालय ठ्याक्कै कहाँ पर्थ्यो वा कस्तो देखिन्थ्यो हामीलाई थाहा छैन।

तर यो प्रतिष्ठित पुस्तकालय इस्लामिक स्वर्ण युगको समयमा बग्दादको महत्त्वपूर्ण बौद्धिक पाठशाला थियो र यहाँ नै हाम्रो आधुनिक समयको अरेबिक सङ्ख्या सहितका रूपान्तरणकारी हिसाबका सिद्धान्तहरूको जन्म भएको थियो।

खलिफा हारुन अल(राशिदको निजी सङ्कलनका रूपमा आठौँ शताब्दीको अन्त्यतिर स्थापना गरिएको यो पुस्तकालयलाई त्यसको ३० वर्षपछि सार्वजनिक पुस्तकालयमा परिणत गरिएको थियो।

द हाउस अफ विज्डमले संसारभरिका वैज्ञानिकहरूलाई बग्दादतर्फ तानेको जस्तो देखिन्थ्यो। उनीहरूलाई उक्त शहरको विद्वत्त र जिज्ञासु वातावरणले तानेको थियो। मुस्लिम, यहुदी र इसाई सबै प्राज्ञहरूलाई त्यहाँ अध्ययन गर्न दिइन्थ्यो।

लण्डनमा अहिले अवस्थित ब्रिटिश लाइब्रेरी वा प्यारिसको बिब्लियोथेक न्याशोनलजस्तै भव्य द हाउस अफ विज्डम मानविकी र विज्ञान सङ्कायका कैयौँ विषयको अध्ययन केन्द्र बनेको थियो।

द हाउस अफ विज्डम १२५८ को मङ्गोल घेराबन्दीका क्रममा क्षतिग्रस्त भएको थियो। किंवदन्तीअनुसार धेरै लेखोटहरू टाइग्रेस नदीमा फाल्दा त्यहाँको पानी नै मसीका कारण कालो बनेको थियो।

तर उक्त पुस्तकालयमा गरिएको खोजले शक्तिशाली, अमूर्त गणितीय भाषा आविष्कार गरेको थियो जसलाई पछि इस्लामी साम्राज्य, युरोप र अन्ततः विश्वले नै स्वीकार गर्न पुग्यो।

सरे विश्वविद्यालयका भौतिक विज्ञानका प्राध्यापक जिम अल खलिली भन्छन्, “हाम्रो लागि ठ्याक्कै कहाँ र कहिले द हाउस अफ विज्डम स्थापना गरिएको थियो भन्दा पनि वैज्ञानिक अवधारणाहरूको रोचक इतिहास र उनीहरूको विकास कसरी भयो भन्ने कुरा महत्त्वपूर्ण बन्नुपर्छ।”

द हाउस अफ विज्डमको गणितसम्बन्धी विरासत जान्नका लागि इतिहासमा फर्कनुपर्छ। इटालीयन पुनर्जारणको प्रभाव कमजोर नभएसम्म लिओनार्दो दा पीसा सयौँ वर्षदेखि युरोपमा गणितका पर्यायका रूपमा थिए।

पीसामा ११७० मा जन्मिएका इटलीका यी गणितिज्ञले आफ्नो प्रारम्भिक शिक्षा बुगीया भन्ने उत्तर अफ्रिकाको तटीय क्षेत्रमा अवस्थित व्यापार केन्द्रमा प्राप्त गरेका थिए।

जीवनको दुई दशक नाघेपछि उनी मध्यपूर्वतिर निस्किए र उनलाई भारतबाट इरान हुँदै पश्चिमा विश्वमा पुगेको अवधारणाहरूले मोहित बनायो।

जब उनी इटली फर्किए उनले लिबर अबासी नामक हिन्दू अरेबिक अङ्क प्रणाली व्याख्या गर्ने पहिलो पश्चिमा कृति प्रकाशित गरे। यो कृति १२०२ मा सार्वजनिक हुँदा हिन्दू अरेबिक अङ्क प्रणाली केही विद्वानलाई मात्रै थाहा थियो।

युरोपका व्यापारी र अध्येताहरू रोमन सङ्ख्यामै निर्भर थिए जसले गुणन र भाग गर्ने कामलाई एकदमै जटिल बनाएको थियो (उदाहरणका लागि एमएक्ससीआईलाई एलभीआईआईले गुणनको प्रयास गर्नूस्)।

उक्त पुस्तकले कसरी अङ्क गणितको सहायताले नाफा, मुद्रा सटही, तौल, ब्याजजस्ता विषयसँग जोडिएका व्यावहारिक समस्या हल गर्न सकिन्छ भन्ने उल्लेख गरेको थियो।

बालबालिकाले विद्यालयमा अब नयाँ सङ्ख्याहरू अध्ययन गर्नसक्ने उल्लेख गर्ने उक्त पुस्तकमा शून्य र एकदेखि नौसम्मका सङ्ख्याको चर्चा गरिएको थियो। फिबोनाची पनि भनिने पीसाको सिर्जनशीलता गणितिज्ञका रूपमा मात्रै सीमित छैन।

शताब्दीऔँदेखि आफूले जानेका सूत्रहरू, दशमलव राख्ने प्रणाली र बीजगणितबाट मुस्लिम वैज्ञानिकहरूले प्राप्त गरेको लाभका बारेमा उनले मिहिन ढङ्गले बुझेका थिए। वास्तवमा लिबर अबासी नवौँ शताब्दीका गणितिज्ञ अल ख्वारिज्मीका सूत्रहरूमा लगभग निर्भर थिए।

उनले पहिलो पटक समीकरणहरू हल गर्ने वैज्ञानिक विधि प्रस्तुत गरेका थिए। गणितका क्षेत्रमा गरेका अनुसन्धानका कारण अल(ख्वारिज्मीलाई बीजगणितका पिताका रूपमा लिने गरिन्छ।

फिबोनाचीको आधुनिक गणितमा रूपान्तरणकारी प्रभाव अल ख्वाराजमीकै विरासतको हिस्सा हो । अलजिब्रा भन्ने शब्द उनको कारणले आएको हो जसको अरेबिक शब्द अल(जेबरको अर्थ टुटेका अङ्गहरू पुनः जोड्नु भन्ने बुझिन्छ।

उनी ८२१ मा खगोलशास्त्री र हाउस अफ विज्डमका प्रमुख लाइब्रेरीअन नियुक्त भएका थिए। अल ख्वारिज्मीले मुस्लिम विश्वलाई दशमलव प्रणालीबारे जानकारी दिएको उल्लेख गर्दै अल खलिली भन्छन्, “लिओनार्दो दा पीसा र अरूले त्यसलाई युरोपमा विस्तार गर्न सघाए।”

फिबोनाचीको आधुनिक गणितमा रूपान्तरणकारी प्रभाव अल ख्वाराजमीकै विरासतको हिस्सा हो। दुई व्यक्तिको जीवनकालमा लगभग चार शताब्दीको फरक रहे पनि उनीहरूलाई प्राचीन पुस्तकालयले जोडेको थियो।

हाउस अफ विज्डमका बारेमा धेरै जानकारी नभएकाले होला इतिहासकारहरू यसको क्षेत्र र उद्देश्यलाई बेलाबेला बढाइचढाइ पनि गर्छन्।

“केहीले द हाउस अफ विज्डम धेरैका आँखामा भव्य देखिएको जस्तो नभएको तर्क गर्छन्। तर अल ख्वारीजमीजस्ता व्यक्तिको आबद्धता र उनले गणित, खगोल विज्ञान र भूगोलमा गरेका कामले मेरा लागि द हाउस अफ विज्डम अनुवाद गरिएका पुस्तकका ठेली भएको ठाउँभन्दा पनि वास्तविक पाठशाला भएको बलियो प्रमाण दिएको छ।”

उक्त पाठशालाका अनुवादक तथा विज्ञहरूले आफ्नो काम सर्वसाधरणसम्म पुगोस् भन्नका लागि निकै मेहनत गर्ने गरेको ठानिन्छ।

यूकेको द ओपन युनिभर्सिटीकी गणित इतिहास विषयकी प्राध्यापक जुन ब्यारो ग्रीनका अनुसार द हाउस अफ विज्डममा ग्रीक अवधारणाहरूलाई अरबी अनुवादकहरूले भाषिक रूप दिँदै अहिलेको हाम्रो गणितको बुझाइको आधार तयार पारेका हुन्।

उक्त पुस्तकालय वैज्ञानिक अन्वेषणको केन्द्र पनि रहेको थियो। लिओनार्दो दा पीसाको गणितका क्षेत्रमा योगदान कक्षाकोठाहरूमा खासै अध्ययन गराइँदैन।

उनको कथा झण्डै एक हजार वर्षअघि पश्चिमा इसाई जगत्‌ बौद्धिक रूपमा अँध्यारोमा नै रहेको बेला एउटा दरबारको पुस्तकालयबाट सुरु हुन्छ।

यो कथाले हाम्रो युरोप केन्द्रित गणितसम्बन्धी सोचलाई भत्काउँछ र इस्लामिक विश्वले हासिल गरेका वैज्ञानिक उपलब्धिलाई उजागर गर्छ। बीबीसीबाट