नेपाली काँग्रेसले सरकारमा जान हतार गर्नु हुँदैनः प्रकाशमान सिंह

आफुहरुलाई प्रतिपक्षमै बस्ने जनादेश भएको तर्क

काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काँग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् ।

भक्तपुरमा आज फिटनेस सेन्टर, स्नोकर हाउस एवं वर्गर हाउसको उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन ।

मध्यपुरथिमि नगरपालिका–३ कौशलटारबाट काँग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले रु तीन करोडको लागतमा आजदेखि सञ्चालनमा ल्याएको फिटनेस सेन्टर, स्नोकर हाउस एवं वर्गर हाउसको उनले उद्घाटन समेत गरे ।

उनले भने, प्रतिपक्षमै बस्ने जनादेश भएकाले काँग्रेस पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने पनि हुनसक्छ । नेकपाको संसदीय दल अहिले पनि सक्रिय रहेको र पार्टी वैधानिक रुपमा नफुटेका अवस्थामा काँग्रेस सरकारमा गए फसिने बताउँदै नेता सिंहले भने ।

उनले भने “काँग्रेसले अहिले यो गर्छु, त्यो गर्छु भनेर आफैँ फस्ने गरी सरकारमा जान हतारमा निर्णय गर्नु हुँदैन, कम्युनिष्टले हामी सरकार चलाउन सक्दैनौ भनेर आए मात्रै सोच्ने कुरा हो ।”

कार्यक्रममा खेलाडी एवं नेता कँवेले राजनीति गर्ने व्यक्तिले व्यवसाय आफैँ शुरु गर्नुपर्छ भन्ने मान्यताका साथ निरोग, स्वस्थ्य जीवन र खेलकुदमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आफूले हाउस सञ्चालनमा ल्याएको बताए ।

हाउसले देशविदेशमा प्रतिस्पर्धा गर्दै पदक जित्न सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘फिटनेस, बडिबिल्डिङ, एरोबिक्स, जुम्बा, स्टिम, सावना, स्नोकर र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा ल्याइएको जनाएको छ ।

त्यसबाट हुने आम्दानीको २० प्रतिशत सामाजिक सेवा र खेलकुदको विकासमा खर्च गर्ने गरिने बताइएको छ । रासस