सरकार विप्लव नेकपामाथिको प्रतिबन्ध हटाउने तयारीमाः राजनीतिक रुपमा समस्या समाधान गर्न सकारात्मक

वार्ता टोली बनाउनेबारे छलफल हुँदै

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउदै र राजनैतिक वार्ता तथा संवादद्धारा समस्याहरुको समाधान खोज्ने विषयमा सरमनरले सकारात्मक भूमिका खेल्ने बताएको छ ।

काठमाडौंको टौदहमा हिजो (आईतबार) भएको एक कार्यक्रममा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भूमिगत रुपमा राजनीति गरिरहेको विप्लव नेकपासँग सरकार वार्ता गर्न सकारात्मक रहेको भन्दै त्यसबारेमा थप छलफल भैरहेको बताएका थिए ।

उनले सरकारले विप्लव नेकपासँग सरकारले वार्ता गर्ने विषय बाहिर आएसँगै कतिपय राजनीतिक दल र नेताहरुलाई त्यो मन नपरेको आरोप समेत लगाएका थिए । उनले विप्लव समूहमाथिको प्रतिवन्ध हटाएर राजनीतिक रुपमा समस्याको समाधान खोज्न सरकार सकारात्म रहेको धारणा राखेका थिए ।

त्यसैबिच खानेपानीमन्त्री मणि थापा गत माघ २७ गते आफै नख्खु कारागारमा पुगेर थुनामा रहेका ‘विप्लव’ नेकपाका नेता हेमन्तप्रकाश वलीसँग भेटवार्ता समेत गरेका थिए । त्यसक्रममा समेत वार्ता मार्फत समस्या समाधान गर्र्ने विषयमा सरकारको धारणा सकारात्मक रहेको विषय आएको थियो ।

त्यसैबिच विप्लवले समेत गत शनिवार एक विज्ञप्ति जारी गर्दै सरकारसँग सम्वाद र वार्ताका लागि आफ्नो पार्टी सकारात्मक रहेको जनाएका थिए। उनले विज्ञप्ती मार्फत आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था आएमा आफुहरु तयार हुने संकेत गरेका थिए ।

त्यस्तै आज आज बस्न लागेको मन्त्रीपरिषद् बैठकमा समेत विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल गर्ने तयारी सरकारले गरेको बुझिएको छ । सरकारले आजको बैठकबाट प्रतिबन्ध फुकुवा गर्ने र वार्ताको लागि संवाद टोली गठन गर्नेबारेमा समेत छलफल गर्ने बुझिएको छ ।

वार्ताबारे विप्लव नेकपाले समेत वार्ता टोलीबारे छलफल चलाइरहेको समेत बुझिएको छ । सरकारको तयारी र विप्लवको धारणाले विल्पल नेकपाले उठान गरेका राजनीतिक मुद्दालाई वार्तामार्फत हल हुने वातावरण बन्दै गएको विश्वास जनताले गर्दै आएका छन ।

तर वार्ता कहिले र कुन तहबाट गर्ने भन्नेबारेमा भने अहिलेसम्म आधिकारीक रुपमा आएको छैन । त्यस्तै सरकारले प्रतिबन्ध हटाएमा पक्राउ परेका विप्लव नेकपाका नेता, कार्यकर्ताहरुलाई समेत रिहा गर्ने समेत चर्चा चलिरहेको छ ।

सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको करिब दुई बर्ष पुग्दा फुकुवा गर्ने तयारी गरेको हो । सरकारले २०७५ साल फागुन २८ गते विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।