अदालतको अवहेलना मुद्दामा अदालतमै पुगेर लिखित जवाफ दिए प्रधानमन्त्री ओलीले…

न्यायपालिकामाथि उपहास गरेको आरोप

काठमाडौं । अदालतको अवहेलना मुद्दामा आफ्नो लिखित जबाफ बोकेर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका छन् । 

अवहेलना मुद्दाबारे गत आइतबार अदालतको म्याद बुझेका प्रधानमन्त्री ओली जवाफसहित आज सर्वोच्च अदालतमा आफै उपस्थित भएका हुन् ।

श्रोतका अनुसार अहिले उनी अदालतमा लिखित जवाफ दिएर बालुवाटार फर्किसकेका छन ।

वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

सर्वोच्चमा बहस गर्ने वरिष्ठ वकिललाई उनले ‘बाजे वकिल’ भन्दै अदालतको अपमान हुने खालको अभिव्यक्ति दिएका थिए ।

त्यसको सामाजिक सञ्जालमा समेत चर्को विरोध गरिएको थियो भने अदालतमा मुद्दा समेत दायर भएको थियो ।

वरिष्ठ अधिवक्ता आचार्य र न्यौपानेको रिट निवेदनको माग अनुसार अदालतको अवहेलना मुद्दामा न्यायाधीश मनोजकुमार शर्माको माघ १५ गतेको इजलासले उनलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

ओली आफै अदालत पुगेर आफ्नो जवाफ बुझाएपछि अदालती प्रकृयामा उक्त मुद्दाबारे थप बहस हुने र किनारामा पुग्न अझै समय लाग्ने बुझिएको छ ।

पछिल्लो समय ओलीका अभिव्यक्तिहरु विरोधासपूर्ण आउने गरेको भन्दै नेकपा प्रचण्ड माधव समूहले समेत आरोप लगाउँदै आएको छ ।