अनेरास्ववियूद्धारा आयल निगममा घेराउ र प्रदर्शन, मूल्यवृद्धि विरोध

मूल्य घटाउन माग गर्दै ज्ञापन पत्र बुझाउने

काठमाडौं । नेपाल आयल निगमले हालै पेट्रोलियम पदार्थ मूल्यवृद्धि गरेको विरोधमा आज नेकपा प्रचण्ड–मधव समूह निकट अनेरास्ववियूका विद्यार्थीहरुले प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

अनेरास्ववियूले आयल निगमले पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर नागरिकलाई सास्ती दिने काम गरेकाले विरोध प्रदर्शन गर्न लागेको हो । विरोध कार्यक्रम अन्तरगत आज दिउँसो बबरमहलस्थित आयलनिगमको कार्यालय घेराउ गर्ने बताइएको छ ।

मूल्यबृद्धी फिर्ता लिन आग्रह गर्दै अनेरास्ववियूले निगममा ज्ञापनपत्र बुझाउने र केहीबेर केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित घेराउ गर्ने कार्यक्रम तय भएको विद्यार्थी नेताहरुले बताएका छन ।

निगमले माघ २८ मा गरेको मूल्यबृद्धीपछि पुनः यहि फागुन ४ गते थप मूल्यबृद्धी गरेको थियो । मूल्यबृद्धीको बिरोधमा सामाजिक सञ्जालदेखि सडकसम्म विभिन्न संघ संगठनहरुले आवाज उठाउँदै आइरहेका छन ।

निगमले भने अन्तराष्ट्रिय बजारमा आएको मूल्यभारको अवस्था र निगमले बेहोर्दै आएको घाटाका कारण मूल्यबृद्धी गर्नु परेको बताएको छ । नागरिकहरुले मूल्यबृद्धी फिर्ताको माग गरेपनि निगमभने त्यसमा तत्काल सहमत हुने अवस्था नरहेको बताउँदै आएको छ ।