ओलीको प्रतिगमन विरुद्ध प्रचण्ड–माधव समूहको चौथो चरणको विरोधः आज टुँडिखेलमा मानव साङ्लो प्रदर्शन

जिल्ला स्तरमा पनि प्रदर्शन र सभा गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गत पुष ५ गते स.सद विघटनको प्रतिगामी कदम चालेको विरोधमा आज नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौँमा मानव साङ्लोसहितको विरोध प्रदर्शन गर्ने भएकोछ ।

प्रचण्ड–माधव समूहले विरोधको क्रममा चौथो चरणको संघर्षको कार्यक्रम अन्तरगत आज दिउँस मानव साङ्लोसहितको विरोध प्रदर्शन गर्न लागेको हो । नेकपा श्रोतका अनुसार उक्त कार्यक्रम टुँडिखेलमा आज दिउँसो ४ देखि ५ बजेसम्म हुने बुझिएको छ ।

नेकपा प्रचण्ड माधव समूहले चौथो चरणको विरोध कार्यक्रम अन्तरगत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गर्नुका साथै विभिन्न जिल्लामा विरोध प्रदर्शन, सभा, र्यालीहरु पनि गर्न लागेको बताएको छ ।

आज टुँडीखेल अगाडी हुने मानव साङ्लोसहितको विरोध प्रदर्शनमा नेकपाका वाग्मती प्रदेशका साथै उपत्यकाका विभिन्न क्षेत्रबाट युवा, विद्यार्थी र नेता, कार्यकर्ताहरु सहभागि हुने बुझिएको छ । उक्त कार्यक्रममा विभिन्न स्थानबाट मानिसहरुलाई ल्याउन नेकपाले आन्तरिक व्यवस्थापन समेत मिलाएको बुझिएको छ ।

प्रचण्ड–माधव समूहका एक नेताले हरपलसँग कुरागर्दै भने–‘ओलीमा देखिएको निरञ्कुशतावदी प्रवृतिले पार्टी एकताको मर्मलाई संकटमा पार्यो । हामीले उहाँको प्रतिगमनकारी कदमले निम्त्याउने राष्ट्रिय संकटलाईको मुलुकलाई जोगाउँन, जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षाको लागि क्रमस विरोध कार्यक्रमहरु गर्दै आएका हौं । संसद पुर्नस्थापना नभएसम्म आन्दोलन जारी रहन्छ ।’

संसद विघटनको घटनासँगै शुरु भएको उक्त समूहको विरोध कार्यक्रम देशव्यापी सभा, राजधानी केन्द्रीत विरोध सभा गर्दै यहि माघ २८ गते तेस्रो चरण समापन भएर हिजोबाट चौथो चरणको आन्दोलन सार्वजनिक भएको थियो ।

हिजो सार्वजनिक गरिएको चौथो चरणको विरोध कार्यक्रम अनुसार राजधानीसहित विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म व्यापक रुपमा गर्ने बताइएको छ । चौथो चरणको कार्यक्रम फागुन १५ गते सकिने बताइएको छ ।

चौथो चरणको कार्यक्रमबाट समेत निकास ननिस्केमा नेकपाको प्रचण्ड समूह अझ कडा र रचनात्मक आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने विषयमा आन्तरिक छलफल गर्दैआएको नेताहरुबाट बुझिएको छ ।