बन्द हड्तालबाट नागरिक सास्तीमाः सामाजिक सञ्जालमा पोखिएको वितृष्णा र आक्रोश, ‘फेरी बन्द कसैले नगरोस्’

शिक्षा, स्वास्थ्य, व्यावसाय सबै क्षेत्र प्रभावित

काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव नेपाल समूहले बिहीवार देशव्यापी आम हडताल घोषणा गरेपछि त्यसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

खासगरी नयाँ संविधान निर्माण र त्यसपछि स्थायित्वको नारा दिँदै सरकार गठन भएयता केही समयदेखि राजनीतिक दलहरूले बन्द हडताल गर्न छाडेका थिए। तर बिहीवारको हड्तालसँगै अब यो क्रम फेरि शुरु हुने चिन्ता व्याप्त देखिन्छ।

जुन नोक्सानी हुनेवाला छ त्यसको मूल्यमा यस्तो खालको कुरा गर्नु बुद्धिमानीपूर्ण होला जस्तो लाग्दैन, बन्द हडतालको जथाभाबी प्रयोगप्रति असन्तुष्ट देखिएका विश्लेषक श्याम श्रेष्ठले बताए। तर दलहरूले त्यही किसिमको सङ्घर्ष बारम्बार अपनाइरहेको देखिन्छ, उनीहरू चेतिरहेको देखिँदैन।

सरकारले हठात् संवैधानिक निकायहरूमा नियुक्ति गरेको विरोधमा आम हडताल आयोजना गरिएको आयोजक समूहको भनाइ छ। तर यस्ता हडतालले सरकारलाई केही फरक नपार्ने तर जनतालाई चोट पुग्ने श्रेष्ठ ठान्छन्।

योभन्दा धेरै ठुलो एउटा राष्ट्रिय हितका लागि भएदेखि यस्तो पनि गर्नुपर्ने कुरा हुन्छ। तर अहिले त्यस्तो त होइन, उनले भने। बन्दका कारण काठमाण्डूका सडकमा थोरैमात्रै सवारीसाधन देखिए ।

बिहीवार आम हडताल गर्ने भनेर बुधवार घोषणा गरिएलगत्तै सामाजिक सञ्जालमा धेरै मानिसहरूले बन्दको विरोध गर्न थालेका थिए । धेरैले अब फेरि बन्द हडताल नियमित हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् भने कतिपयले यसले केवल गरिखाने वर्गलाई हानि हुने भन्दै सजग गराउन खोजेका छन्।

लेखक बुद्धिसागरले गएको एक वर्षमा कोरोनाभाइरस महामारीका कारण अस्तव्यस्त मानिसहरूलाई सम्झिएका छन्। उनले लेखेका छन, सालाखाला १ बर्ष नेपाल बन्द भएकै थियो त, कोरोनाले । त्यो १ बर्षमा रिनमा डुवेका, काम गुमाएका र अँधेरो भविष्यमा अल्मलिएकालाई सत्ताभित्र वा सत्ता बाहिरकाले के कस्तो छ, भनेर आफ्नोपनले सोधे कि ?
सडकमा होइन, आँगनमा आऊ । अलिकति शिर ठाडो पार्न सक्छौ भने ।

राजनीतिक अभियानकर्मी सूर्यराज आचार्यले चाहिँ बन्द हडतालको आयोजनाको राजनीतिक तर्कप्रति नै व्यङ्ग्य कसेका छन्। उनले भनेका छन, ठोस परिस्थितीको तरल विश्लेषण गरि हावा निष्कर्ष निकाले पछि आन्दोलनको लम्फु कार्यक्रम नेपाल बन्दु को उर्दि । अब उप्रान्त कसैले पनि जनतामा नेपाल बन्दको उर्दि जारी गर्ने दुस्साहस गर्न नसक्ने सन्देश जाने गरि बन्दको अवज्ञा गरौं।

बन्द हडतालका क्रममा हुनसक्ने हिंसाले पनि धेरैलाई उद्धेलित बनाएको देखिन्छ। बिहीवार बिहानै काठमाण्डूमा एउटा ट्याक्सीमा आगजनी भएका खबरहरू आएपछि राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले हिंसात्मक गतिविधिको भर्त्सना गरेकी छन्।

उनले भनेकी छन, गैर कानूनी काम संधै गैर कानूनी नै हुन्छ, बन्द हडतालमा व्यक्तिगत वा सार्वजनिक सम्पत्ती क्षती अक्षम्य हो । यस्ता गतिविधीको घोर भर्त्सना गर्दछु।

मूत्रप्रणालीमा हुने क्यान्सरको शल्यक्रियामा विशेषज्ञता भएका चिकित्सक उमेश नेपालले विश्व क्यान्सर दिवसको प्रसङ्ग जोड्दै बिरामी बोक्ने एम्बुलेन्समा आक्रमण भएकोमा चर्को आक्रोश पोखेका छन्। उनले तोडफोड गर्नेहरूलाई दानवको सङ्ज्ञा दिएका छन्।

बन्द हड्तालले महामारीबाट भर्खरै तङ्ग्रन खोजेको अर्थतन्त्रमा फेरि अर्को झट्का लाग्ने त्रास कैयौँले व्यक्त गरेका छन्।आर्थिक मामिलाका जानकार पत्रकार गजेन्द्र बुढाथोकीले बन्दले अर्थतन्त्रमा चौतर्फी नकारात्मक प्रभाव पार्ने भन्दै त्यसको सधैँ आफूले विरोध गर्ने लेखेका छन्। म यस कारण सँधै बन्दको विरोधमा छु।

अर्थतन्त्रका अर्का जानकार सुजिव शाक्यले ट्वीटरमा ूधनी राजनीतिज्ञहरूको देशमा एक दिनको हड्तालले उनीहरूलाई प्रभाव पार्दैन। तर त्यसले महामारीको नोक्सानी बेहोरिरहेका मानिसहरूलाई थप एक दिनको हानि पुग्छ भनेर लेखेका छन्। उनले एक दिनको बन्दले अर्बौँ रुपैयाँ नोक्सानी हुने पनि उल्लेख गरेका छन्।

बन्द आह्वान गर्ने समूहका एकजना नेता विष्णु रिजालले चाहिँ हड्ताल गर्नु आफ्नो बाध्यता भएको उल्लेख गरेका छन्।
भोलिको बन्द हाम्रो रहर होइन, बाध्यता हो । एक दिन कष्ट उठाएर भए पनि संकटमा परेको संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताका पक्षमा आवाज बुलन्द गरौं । प्रतिगमनका विरूद्ध खडा होऔं ।

जुम्लामा यातायात नचलेपछि मानिसहरू हिँडेरै यात्रा गर्न बाध्य भए । विगतमा बन्द हडतालको विरोध गर्ने कतिपय नेताहरू नै अहिले बन्द आयोजकको कित्तामा पुगेको प्रति पनि कतिपयले प्रश्न उठाएका छन्।

टिप्पणीकार केदार शर्माले ट्विटरमा त्यस्तै प्रतिक्रिया लेखेका छन्। अरूले जे गरे पनि ..जी जत्तिको मान्छेले हिजो एउटा कुरा, आज एउटा कुरा गर्नुहुने छैन। उहाँ त पक्कै पनि आम हडतालको विपक्षमा हुनुहुन्छ होला ।

बन्दका कारण बिहीवार बिहानैदेखि राजधानी काठमाण्डू लगायत देशका विभिन्न ठाउँमा आयोजकहरूले धर्ना तथा विरोध प्रदर्शनपनि गरिरहेका छन्। यातायात, शिक्षा, उद्योगधन्दा, कलकारखाना तथा व्यापारव्यवसायमा बन्द हडतालले प्रभाव पारेको छ। बीबीसीबाट